नवीनराज कुइँकेल
लमजुङ, वैशाख २९ गते । कोठाहरू चर्किएका छन् । भित्ताका लाप्रा उक्किएका छन् । टिनको छानो चुहिने छ । तैपनि लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयको पुरानो भवनमा पाँच वर्षदेखि प्रहरी कार्यालय सञ्चालन हुँदै आएको छ ।
नागरिकलाई सुरक्षा दिने जिम्मेवारीमा खटिने प्रहरी कर्मचारीहरू स्वयम् असुरक्षित भवनमा बसेर काम गर्न बाध्य छन् । सुन्दरबजार नगरपालिका –६ मा रहेको आदर्श बाल माध्यमिक विद्यालयको पुरानो भवनमा पाँच वर्षदेखि इलाका प्रहरी कार्यालय सञ्चालन भइरहेको छ ।
विद्यालयको कक्षा कोठालाई प्रहरी कार्यालयका रूपमा प्रयोग गर्दै आइरहेको यो कार्यालय २०७६ सालदेखि यही संरचनामा बस्दैआएको छ । यो संरचना अत्यन्त जीर्ण भइसकेको छ । विद्यालयले प्रहरी कार्यालय अन्यन्त्र सार्न पटक–पटक पत्राचार गरे पनि सर्न नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक मिलन पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार इलाका प्रहरी कार्यालयको भान्सा, ब्यारेक, तथा कार्यालय कोठाको छाना भत्किएका छन् । पर्खाल चर्किएका छन् र वर्षा याममा छाना चुहिने समस्या छ । यसले गर्दा दैनिक कामकाजमा समेत अवरोध हुने गरेको उहाँले बताउनुभयो । कार्यालय परिसर अव्यवस्थित र खुला हुँदा सुरक्षा दृष्टिकोणले जोखिमपूर्ण अवस्था छ ।
विद्यालयको पुरानो संरचना भएकाले कार्यालय सञ्चालनमा प्राविधिक तथा संरचनागत धेरै चुनौती रहेको पौडेलले बताउनुभयो । बर्षायाममा कार्यालय कागजात तथा उपकरणहरू भिज्ने जोखिम छ । शौचालयको सुविधा प्रर्याप्त छैन ।
इलाका प्रहरी कार्यालयको आफ्नै भवन निर्माणका लागि जग्गा अभाव भएको उहाँले बताउनुभयो । कार्यालय भवन बनाउन पाँच रोपनी जग्गा चाहिनेमा करिब तीन रोपनी जग्गा मात्र जुटेको छ । बाँकी जमिन उपलब्ध हुन सकेमा भवन निर्माण प्रक्रिया अघि बढाउन सकिने प्रनानी पौडेलले बताउनुभयो ।
बढ्दो जनघनत्व र बजारीकरणमा रहेको सुन्दरबजार क्षेत्र शान्ति सुरक्षाका दृष्टीकोणले संवेदनशील रहेकाले प्रहरीका लागि स्थायी र सुरक्षित संरचनाको आवश्यकता रहको स्थानीयले बताएका छन् । शान्ति सुरक्षामा खटिने प्रहरीलाई सुरक्षित स्थानमा राख्न सरकारले ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।