दमक समाचारदाता
दमक, वैशाख २९ गते । झापाको दमकमा सुविधासम्पन्न तीन सय शय्याको सरकारी अस्पताल बनाइने भएको छ । करोडौँ रुपियाँको लागतमा व्यावसायिक भ्यु टावरलगायतका संरचना दमकमा बने पनि सुविधासम्पन्न अस्पताल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल नगरेको भन्दै आलोचना हुँदै आएको थियो ।
झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यसमेत रहेका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सुविधासम्पन्न अस्पताल बनाउन आगामी आवमा बजेट विनियोजन गर्ने बताएपछि दमक नगरपालिकाले जग्गा व्यवस्थापनका लागि आवश्यक प्रव्रिmया सुरु गरेको बताइएको छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार अस्पताल निर्माणका लागि निःशुल्क जग्गाको खोजी सुरु भएको छ । यातायात, बिजुली, टेलिफोनलगायतका पूर्वाधारयुक्त ठाउँमा निःशुल्क रूपमा चारदेखि पाँच बिघा जग्गा खोजी सुरु भएको हो । सकेसम्म कसैले निःशुल्क जग्गा दान दिएमा त्यसलाई स्वीकार गरिने उहाँको भनाइ छ ।
दमक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष दीपेश दहालले यसै साता आफूहरूले प्रधानमन्त्री ओलीलाई भेटेर तीन सय शय्याको अस्पतालको विषयमा छलफल गरेको बताउनुभयो । प्रधानमन्त्रीले पनि जग्गा व्यवस्थापन चाँडो गर्न आग्रह गरेको उहाँको भनाइ छ ।
दाहालका अनुसार वडाध्यक्षहरू नवीन बराल, हरि न्यौपाने, इन्द्र गुरुङ, कुबेर भट्टराईलगायतले प्रधानमन्त्री निवास बालुवाटरमा गएर यस विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षमा बजेट व्यवस्थापनका लागि सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।
दमकमा नगरपालिकाको व्यवस्थापनमा नेपाल सरकारको स्वास्थ्य बिमाको प्रथम विन्दुका रूपमा १५ शय्याको अस्पताल सञ्चालनमा छ । उक्त अस्पतालमा अहिले दैनिक एक हजारभन्दा बढी बिरामीको चाप रहँदै आएको छ । अस्पतालमा आधारभूत सेवाबाहेक अन्य सेवा पाउन मुस्किल रहेको बताइएको छ ।