काठमाडौँ, वैशाख २९ गते । उपसभामुख इन्दिरा रानाले सञ्चार माध्यममा पत्रकार महिलाहरूको अर्थपूर्ण सहभागितामा जोड दिनुभएको छ ।
इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बङ्गलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् सँगको सहकार्यमा ढाकामा आयोजना गरेको कार्यक्रममा बोल्दै रानाले सञ्चार माध्यमहरूमा पत्रकार महिलाहरूले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभएको हो ।
‘मिडियामा महिलाहरूको अर्थपूर्ण सहभागिता देखिन सकेको छैन।’, उहाँले भन्नुभयो ‘पत्रकार महिला माथि बाधा पुर्याउने संरचनात्मक र सामाजिक अवरोधहरू छिचोलेर अगाडी बढ्नुपर्छ ।’
राजनैतिक र सामाजिक कार्यकर्ताको रूपमा काम गर्दाका आफ्ना अनुभवहरू सुनाउँदै उपसभामुख रानाले पत्रकारहरूले सामना गरिरहेका अवरोधहरू हटाउन र सञ्चार माध्यमलाई समावेशी र महिलामैत्री बनाउन ठोस प्रयासहरूको आवश्यकतालाई जोड दिनुभयो ।
नेपाल र बङ्गलादेशका पत्रकार महिलाहरू बिचको मित्रता र सहयोगको प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेशका पत्रकार महिलाहरूका धेरै साझा समस्याको मन्थन गर्ने अवसर देखिएकोले समस्या समाधानका लागि आवाज उठ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालकी अध्यक्ष लक्ष्मी भण्डारीले मिडिया क्षेत्रमा महिलाहरूलाई व्यावसायिक बनाउन पेशेवरहरूलाई सशक्त बनाउन प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रम दुई देशका पत्रकारहरू बिच दीर्घकालीन मित्रतालाई बढाउँदै भविष्यमा आउने साझा चुनौतीहरू सामना गर्न सहकार्य र अर्थपूर्ण साझेदारीका प्रयासहरूको खोजी गर्न सफल भएको ढाका स्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।