• २९ वैशाख २०८२, सोमबार

उत्कृष्ट सेवा दिँदै चौतारा अस्पताल

blog

सामान्य उपचार गर्न परेमा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता रहेको सिन्धुपाल्चोकवासीलाई अहिले त्यो अवस्थाको अन्त्य भएको छ । नजिकै राजधानी भएकाले स्वास्थ्य क्षेत्रमा सरकारले त्यति ध्यान नदिँदा काठमाडौँ धाइरहेका बिरामीले अहिले चौतारामा नै सेवा पाउन थालेपछि राहतको महसुस गरेका छन् । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले यस अस्पतालमा सेवा विस्तार गरी उपचारमा गुणस्तरीयता दिएपछि राहत भएको हो । स्वास्थ्य क्षेत्रमा जनताले महसुस गर्ने गरी विकास भएको बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगर बताउनुहुन्छ ।

सङ्घीयता आएपछि स्वास्थ्य क्षेत्रमा विकास भएको यहाँका सेवाग्राहीले महसुस गरेका छन् । चौतारा अस्पतालले सेवा विस्तार गरेपछि मिर्गौलापीडितलाई जिल्लामै डायलासिस उपचार पाएका छन् । जिल्लामा मिर्गौलापीडितको सङ्ख्या बढ्दै गएको तर उपचारका लागि राजधानी काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै चौतारा अस्पतालले डायलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीले बताउनुभयो । 

अस्पतालले आँखा उपचार सेवा पनि सुरुवात गरेको छ । अस्पतालले आँखा उपचार सेवा थप भएसँगै सेवाग्राही थपिएका छन् । प्रदेश स्तरको चौतारा अस्पतालमा सबै खालको उपचार सेवा पाइने भएपछि स्थानीयमा खुसी छाएको छ । यसै वर्ष न्यूनतम मापदण्ड कार्यान्वयनमा चौतारा अस्पताल बागमती प्रदेशको उत्कृष्ट भएको थियो । मापदण्ड मापनमा बागमती प्रदेशभरका अस्पतालमा चौतारा अस्पतालले ‘सेकेन्डरी ए लेभलको अस्पतालमध्ये प्रदेशको उकृष्ट हुन सफल भएको हो । अस्पतालले बहिरङ्ग सेवा अन्तर्गत सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, दाँत, नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । रेडियोलोजी (एक्सरे/भिडियो एक्सरे), फिजियोथेरापी, आकस्मिक सेवा, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, फार्मेसी र हेमोडायलासिस सेवा प्रवाह गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । 

चौतारा अस्पतालले आमा सुरक्षा, चौबिसैघण्टा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, एचआइभी परामर्श तथा उपचार, स्वास्थ्य बिमा कार्यक्रम, परिवार नियोजन, खोप सेवा र पोषण कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण, सङ्क्रमण रोग र यसको उपचार, शीघ्र कुपोषण पुनस्र्थापना कार्यक्रम र विपन्न नागरिक उपचार (सामाजिक सेवा इकाए) सञ्चालन गरिरहेको छ । अस्पतालमा गत एक आर्थिक वर्षमा ३७ हजार जनाले सेवा लिएको तथ्याङ्क छ । चौतारा अस्पतालमा दैनिक एक सयदेखि तीन सय जनासम्मले उपचार लिने गरेका छन् । 

अस्पतालको सेवामा उल्लेख्य सुधार रहेको र सेवा प्रवाह मापदण्ड कार्यान्वयनमा उत्कृष्ट रहेको पाइएको हो । “अस्पतालको निमित बैठक, दैनिक योजना तथा स्वास्थ्यकर्मी बैठक, विद्युतीय हाजिर, बिरामीका लागि टोकनको व्यवस्था, सूचनापाटीमा सूचना टाँस गर्ने गरेको, अस्पतालको आफ्नै वेबसाइट निर्माण गरी सञ्चालनमा ल्याएको, सुरक्षा गार्ड र सिसिटिभी क्यामेराको जडानलगायत अस्पतालको राम्रा पक्ष रहेका पाइएको छ,” बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक नवीन दर्नालले भन्नुभयो । 

१५ शय्याको चौतारा अस्पताल २०८० पुस ३ गतेबाट ५० शय्यामा स्तर वृद्धि भई सेवा प्रवाहमा छ । प्रादेशिक अस्पताल भएसँगै ५० शøयामा स्तरोन्नति भएको हो । ५० शय्यामा अस्पताल विस्तार भई सेवा प्रवाह सुरु भए पनि अस्पतालले हाल ६२ शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पतालका निमित्तप्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट रुद्रमणि भण्डारीले जानकारी दिनुभयो । 

चीन सरकारको सहयोगमा सुविधासम्पन्न भवन गत जेठ महिनामा निर्माण सम्पन्न भएसँगै सबै सेवा एउटै भवनबाट लिन सकिने भएको छ । अस्पतालले नियमित सेवा जनरल ओपिडी, हाडजोर्नी, दन्त सेवा, सर्ने तथा नसर्ने रोगलगायतका सेवा दिइरहेको भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार अस्पतालबाट सेवा लिनेमा महिला तथा प्रसूति सेवामा बढी सन्तुष्टि रहेको छ ।