युवा स्वदेशमा काम पाइएन भन्दै दैनिक बिदेसिएका छन् । स्वदेशमा रोजगारीका अवसर आफैँले खोजी गर्न सकेका छैनन् भने कतिपयले रोजगारी खोजी गरी स्वदेशमै रहने धीरता देखाउन पनि सकेका छैनन् । जसले गर्दा बिदेसिनेको सूची दिनानुदिन वृद्धि भइरहेको छ । रोजगारीको मुख्य क्षेत्र भनेको उद्योगधन्दा नै हो । जसको कमीले मुलुकको विकासमा प्रगति हुन नसकेको यथार्थ छँदै छ । यद्यपि बागमती प्रदेशमा भने सरकारले गरेको प्रारम्भिक अध्ययन विवरणलाई हेर्दा एक लाख ५० हजार जनाले औद्योगिक क्षेत्रमा रोजगारी पाइरहेका छन् । निजी र सरकारी सबै क्षेत्रलाई जोड्ने हो भने उद्योगमा मात्रै लाखौँले रोजगारी पाएका छन् ।
यहाँ केही गर्न सकिँदैन, रोजगारी पाइएन भन्नेलाई उद्योगमा नै रोजगारी गर्नेहरूको सङ्ख्या ठुलै छ भन्दा अचम्म लाग्न सक्छ । यही प्रदेशमा मात्रै धेरैले उद्योगमा प्रत्यक्ष रोजगारी गर्दै आएका छन् । सरकारको सहयोगमा स्वउद्यमी गर्ने, घरेलु तथा साना उद्योग सञ्चालन गर्नेको सूची लामै छ । कतिपय नवीकरण गरेका छन् भने कतिपय नवीकरण नगरेका तर सञ्चालनमा रहेका छन् । त्यस्तालाई पनि जोड्ने हो भने उद्यम गरेर बस्नेको सङ्ख्या धेरै हुन आउँछ ।
राज्यले अर्थतन्त्रको महत्वपूर्ण पाटो उद्योगलाई लिएको छ । कृषिपछि उद्योगले नेपालको अर्थतन्त्रमा टेवा पुगेको मान्दै आएको छ । देशका विभिन्न स्थानमा ठुला तथा साना उद्योग सञ्चालनमा रहेका छन् । तीमध्ये देशकै मध्यभागमा रहेको बागमती प्रदेशमा मात्रै साना तथा ठुला उद्योगमा एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको उद्योग, वाणिज्य, भूमि प्रशासन मन्त्रालयको तथ्याङ्कले विवरण दिएको हो । मन्त्रालयका अनुसार प्रदेशमा दर्ता भएका ६० हजार उद्योगमा एक लाख ५५ हजार ३९३ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको विवरण छ । यो सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको पाइन्छ ।
यस प्रदेशमा विभिन्न क्षेत्रका उद्योग रहेका छन् । त्यसले स्थानीयको माग केही हदसम्म पूरा गरेको छ भने केहीले विदेश निर्यातसमेत गर्दै आएका छन् । बागमती प्रदेश अन्तर्गत रहेका उद्योगमध्ये कृषि तथा वन पैदावरमा आधारित १९ हजार १९४ वटा दर्ता भएका छन् । जसमा ५९ हजार ४५३ जनाले रोजगारी पाएका छन् । त्यसै गरी उत्पादनमूलक उद्योग १० हजार ९६३ वटा भएकोमा ३९ हजार ३२४ जनाले रोजगारीको अवसर पाएका छन् । पूर्वाधार (निर्माण) उद्योग एक हजार १३९ वटा दर्ता भएका छन् र पाँच हजार ३७३ जनाले रोजगारी पाएका छन् ।
सङ्घीयतामा देश गएपछि उद्योग धराशायी भए, रोजगारीको अवसर भएन भन्नेलाई उद्योगको सङ्ख्या र त्यसमा आबद्ध रोजगारीको अवस्थाले उत्तर दिएको छ । तथ्याङ्कले रोजगारी पाइरहेको अवस्था देखाउँदा निराशा हुने अवस्था छैन । देशकै केन्द्र भागमा रहेको बागमती प्रदेशमा औद्योगिक क्षेत्र यहीँ रहेको छ । पुरानो हेटौँडा औद्योगिक क्षेत्रले देशका कतिपय आवश्यकतालाई पूरा गरेको छ । काठमाडौँ उपत्यकामा रहेको बालाजु औद्योगिक क्षेत्र, अन्य जिल्ला चितवन, धादिङ, सिन्धुलीमा भएका उद्योगले देशको मागलाई पूरा गर्दै उत्पादित वस्तु निर्यातसमेत गरिरहेका छन् ।
सूचना, प्रसारण तथा सञ्चार प्रविधि उद्योग ११० वटा दर्ता भएकोमा ५०८ जनाले, ऊर्जामूलक उद्योग ११ वटा दर्ता भएकोमा ४२ जनाले, सेवामूलक उद्योग १८ हजार ६७४ उद्योगमा ३७ हजार ६२१ जनाले र पर्यटन क्षेत्रका चार हजार ४०३ वटा उद्योगमा १३ हजार ७२ जनाले रोजगारीको अवसर पाएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । मन्त्रालयको तथ्याङ्क अनुसार आव २०७६/७७ मा प्रदेशका विभिन्न जिल्लामा कुल ११ हजार ८६४ उद्योग दर्ता भएकोमा आव २०७७/७८ मा त्यो सङ्ख्या बढेर १६ हजार ४९८ पुगेको थियो । त्यसपछि बर्सेनि नयाँ उद्योग दर्ताको हुने क्रम घट्दो रहेको छ । आव २०७८/७९ मा ११ हजार ६६७, आव २०७९/८० मा आठ हजार १४५, आव २०८०/८१ मा छ हजार ५४३ उद्योग दर्ता भएका थिए । आव २०७६/७७ र २०७७/७८ पछि नयाँ उद्योग दर्ता हुने क्रम घट्दै गएको तथ्याङ्क छ ।
त्यस्तै चालु आवको फागुन मसान्तसम्म प्रदेशका १३ जिल्लामा प्रदेशको क्षेत्राधिकारभित्र पर्ने उत्पादनमूलक, कृषि तथा वन पैदावार, ऊर्जामूलक, निर्माण, पर्यटन, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, सेवामूलक र खनिजसम्बन्धी चार हजार २५५ वटा मात्र उद्योग दर्ता भएको छ । चालु आवको फागुन मसान्त सबैभन्दा धेरै काठमाडौँमा एक हजार २५३ वटा उद्योग र सबैभन्दा कम रसुवामा ३१ वटा दर्ता भएको देखिन्छ । भक्तपुरमा एक हजार १२४, काभ्रेमा ३७०, ललितपुरमा ३५७, मकवानपुरमा २९६, चितवनमा २१३ र दोलखामा १८१ उद्योग दर्ता भएका छन् । त्यस्तै सिन्धुलीमा १३२, नुवाकोटमा एक सय, धादिङमा ९४, रामेछापमा ६१ र सिन्धुपाल्चोकमा ४० वटा नयाँ उद्योग दर्ता भएको तथ्याङ्क छ । प्रदेशभित्र आव २०७६/७७ हालसम्म ६० हजार २५१ साना र तीन वटा मझौला उद्योग दर्ता भएका छन् ।
प्रदेशमा सञ्चालित घरेलु तथा साना र अन्य उद्योगमा रोजगारी पाउनेको सङ्ख्या घट्दो देखिएको छ । प्रदेशको पाँच आर्थिक वर्षयता उद्योगमा रोजगारीको अवस्था घटिरहेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार आव २०७६/७७ मा मकवानपुर र भक्तपुरबाहेकका ११ जिल्लामा ३४ हजार ६१९ जनाले रोजगारीको अवसर पाएका थिए । आव २०७७/७८ मा सो दर बढेर ४६ हजार ११२ पुगे पनि त्यसयता यो सङ्ख्या घट्दै गएको छ । आव २०७८/७९ मा बागमती प्रदेश अन्तर्गत उद्योग क्षेत्रबाट रोजगारीको अवसर पाउनेको सङ्ख्या ३८ हजार २२३ रहेको मन्त्रालयको तथ्याङ्क छ । यस्तै आव २०७९/८० मा यो सङ्ख्या घटेर ३० हजार १२० मा आइपुगेको थियो भने २०८०/८१ मा २३ हजार ७९४ जनाले उद्योगका क्षेत्रमा रोजगारीको अवसर पाएका थिए ।
खनिज पदार्थको प्रचुरता
बागमती प्रदेशका १३ जिल्लामध्ये सात जिल्लामा फलामदेखि पत्थर खानीसम्मका खनिज पदार्थ रहेको छ । प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङमा विभिन्न खनिज रहेको मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ । दोलखामा फलाम खानी, तामा खानी, म्याग्नेसाइट, स्लेट ढुङ्गा, शिलाजित, चुनढुङ्गा; रामेछापमा फलाम खानी, तामा खानी, अभ्रख, स्टेट ढुङ्गा, मार्बल, शिलाजित, सिन्धुलीमा चुन ढुङ्गा, तामाखानी, अभ्रख र पेट्रोलियम पदार्थ रहेको उल्लेख छ । त्यस्तै सिन्धुपाल्चोकमा पत्रेढुङ्गा, रसुवामा कोइला, जस्ता, नुन, सिसा; नुवाकोटमा ढुङ्गा, गिट्टी, बालुवा र धादिङमा रत्न पत्थर ढुङ्गाको खनिज रहेको छ ।
उत्कृष्ट उद्यमीलाई प्रोत्साहन
सरकारले उद्योग स्थापनाको वातावरण मात्र बनाउँदैन, सफल उद्यमीलाई सम्मानसमेत गर्दै आएको छ । स्वदेशमा नै केही गरौँ भनेर उत्पादनको क्षेत्रमा लागेकालाई सरकारले प्रोत्साहन गरेको छ । मन्त्रालयले नवप्रवर्तनको विकास र विस्तार गर्न तथा उत्कृष्ट उद्यमीलाई प्रोत्साहन गर्न नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८० जारी गरी तीन उत्कृष्ट उद्योगहरूलाई नगद र सम्मानपत्रसहित सम्मान प्रदान गरेको छ । यो कार्यले अन्यलाई समेत यस क्षेत्रमा लाग्न प्रोत्साहन गरेको छ ।
उपभोक्ता हित संरक्षण र बजार अनुगमनका लागि प्रदेशस्तरीय संयुक्त बजार अनुगमन निर्देशिका, २०७५ लाई विस्थापित गर्दै प्रदेशस्तरीय संयुक्त बजार व्यवस्थापन अनुगमन निर्देशिका, २०८० लागु गरिएको छ । प्रदेशभित्र सञ्चालन हुने मेला, महोत्सव र प्रदर्शनीको प्रवर्धनका लागि मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मन्त्रीपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा छ ।
बागमती प्रदेशको बजारीकरणको सम्भावना अवलोकन कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाको जुनार तथा नुवाकोट जिल्लाको ट्राउट माछाको बजारीकरण सम्भावनाको अध्ययन गरिएको छ । प्रस्तावित औद्योगिक व्यवसाय ऐन र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐनको संशोधनको प्रक्रिया थालनी गरिएको छ । हस्तकला प्रदर्शनी मेला, कोसेलीघरलाई स्थानीय तह र उद्योग प्रशासनलाई सेवाग्राही र प्रविधिमैत्री बनाउन काठमाडौँ उपत्यकाका तीन वटै उद्योग तथा वाणिज्य कार्यालयबाट डिजिटल सेवाको सुरुवात गरिएको छ ।
उपभोक्ताको हकहित र अधिकार संरक्षण गर्न बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाइएको छ । प्रदेशका सम्भावित स्थानमा हस्तकला ग्राम निर्माण गरी काष्ठ कला. प्रस्तर कला जस्ता मौलिक पहिचानलाई स्थापित, उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्न र लगानीमैत्री वातावरण निर्माण, सिप विकास तालिम, प्रदेशभित्र उत्पादित घरेलु मदिराको व्यावसायिक प्रवर्धन र खानी तथा खनिजजन्य पदार्थको सम्भाव्यता अध्ययनलगायतका काम मन्त्रालयले गरिरहेको छ ।
प्रदेशमा स्थापना हुने औद्योगिक ग्रामका लागि अध्ययनको तयारीमा मन्त्रालय लागेको छ । जग्गा प्राप्तिमा समस्या हुँदा औद्योगिकग्राम स्थापनाको काम अघि बढ्न नसक्दा काम नभएको देखिन्छ । विगतका सरकारले अध्ययनबिना नै औद्योगिकग्राम निर्माणमा बजेट विनियोजन गरेकाले कार्यान्वयनमा समस्या भएको छ ।
पुरानो औद्योगिक क्षेत्र
औद्योगिकीकरणको माध्यमबाट मुलुकको आर्थिक विकासका लागि संयुक्तराज्य अमेरिका सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०२० मङ्सिर २० गते हेटौँडामा स्थापना भएको औद्योगिक क्षेत्रमा रोजगारीको अवसर पर्याप्त देखिएको छ । औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष रूपमा पाँच हजारभन्दा बढीले रोजगारी पाउनु सकारात्मक पक्ष हो ।
हेटौँडा औद्योगिक क्षेत्रमा १४३ उद्योग रहेकोमा हाल ११५ वटा मात्र सञ्चालनमा छन् । १० वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । चालु आवमा यहाँ दुई वटा नयाँ उद्योग थपिएका छन् । यहाँ निर्माण सामग्रीका सात वटा, प्लास्टिकजन्य ३१ वटा, विद्युत्का चार वटा, खाद्यान्न पेयपदार्थका १४ वटा, फर्निचरका छ वटा, इन्जिनियरिङ सेवा उद्योग १२ वटा, प्याकेजिङ उद्योग पाँच वटा, केमिकल तथा रङरोगन उत्पादन उद्योग ११ वटा, पोल्ट्री उद्योग दुई वटा, खानीजन्य उद्योग तीन वटा, टेक्सटाइल एक वटा र अन्य ११ वटा उद्योग रहेका छन् । औद्योगिक क्षेत्र मुलुकको सबैभन्दा ठुलो व्यापारिक नाका वीरगन्ज र राजधानी काठमाडौँको मध्यभागमा अवस्थित छ । नेपालमा स्थापित औद्योगिक क्षेत्रमध्ये हालसम्मको सबैभन्दा ठुलो क्षेत्रफलमा रहेको औद्योगिक क्षेत्र करिब ३२२८ रोपनीमा फैलिएको छ । तत्कालीन अवस्थामा मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन औद्योगिकीकरण गर्नु प्रमुख आवश्यकता रहेको थियो । उद्योग स्थापना गर्न आवश्यक औद्योगिक पूर्वाधारमा ठुलो आर्थिक लगानी गर्नुपर्ने हुँदा न्यून आय भएका उद्यमी उद्योगधन्दातर्फ आकर्षित हुने अवस्था थिएन ।
औद्योगिक वातावरण निर्माण गर्न एवं औद्योगिकीकरणलाई टेवा पु¥याउन चुरे वन क्षेत्रलाई फँडानी गरी संयुक्त राज्य अमेरिकाको नेपालस्थित अमेरिकी सहयोग नियोगको सहयोगमा यो औद्योगिक क्षेत्र विधिवत् रूपमा स्थापना भएको थियो । औद्योगिक क्षेत्रमा विशेष गरी ठुला तथा मझौला र बहुराष्ट्रिय लगानीमा स्थापित उद्योग सञ्चालन हुँदै आएका छन् ।
तेस्रो मुलुकमा निर्यात
मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात हुने गरेको छ । मकवानपुरबाट छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकमा यहाँको उत्पादन निर्यात हुने गरेको हो । हेटौँडा औद्योगिक क्षेत्रभित्र मात्रै एक सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित सामग्री विदेश निर्यात हुने गरेको छ । आव २०८०/८१ मा मकवानपुरबाट करिब सवा ५९ करोड रुपियाँको औद्योगिक उत्पादन भारतलगायत तेस्रो मुलुकमा निर्यात भएको तथ्याङ्कले देखाउँछ । आव २०७९/८० मा निर्यात व्यापार साढे ६८ करोड रुपियाँ थियो । त्यसअघि आव २०७८/७९ मा चार वटा उद्योगले तीन अर्ब चार करोड रुपियाँको औद्योगिक उत्पादन निर्यात गरेकोमा गत वर्षमा आइपुग्दा सवा ५९ करोडको गरेको छ । पेयपदार्थको बिर्को उत्पादन गरी भारत निर्यात गर्ने प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालि र पानमा प्रयोग हुने मसला निर्यात गर्ने हिमालय कत्थाले मकवानपुरको निर्यात व्यापारमा सबैभन्दा धेरै योगदान गरिरहेको छ । बितेको वर्ष प्याक्ट ग्रुपले मकवानपुरबाट ३० करोड ७४ लाख ३३ हजार रुपियाँको सामग्री निर्यात गरेको थियो ।
बहुराष्ट्रिय उद्योगको पेयपदार्थको बिर्को उत्पादन गरिरहेको कम्पनीले आव २०७९/८० मा पनि ३१ करोड ८४ लाख रुपियाँको सामान भारत र अस्ट्रेलिया पठाएको थियो । २०७९÷८० मा १७ करोड ८८ लाखको निर्यात गरेको हिमालय कत्था उद्योगको निर्यात भने गत वर्ष २३ करोड ७५ लाख रुपियाँमा उक्लिएको छ । ऋद्धिसिद्धि सिमेन्टले पनि गत वर्ष ४६ लाख ९६ हजार रुपियाँको सिमेन्ट निर्यात गरेको तथ्याङ्क मकवानपुर उद्योग वाणिज्य सङ्घले दिएको छ । स्थानीय जडीबुटीको प्रयोग गरी क्यान्सरको औषधी उत्पादन गर्ने इभान्स लाइफ साइन्सेस प्रालिले पनि गत वर्ष तीन करोड ५३ लाख रुपियाँको सामग्री निर्यात गरेको जनाइएको छ ।
आव २०७९/८० मा कम्पनीको निर्यात दुई करोड ५४ लाख रुपियाँ मात्रै थियो । यसै गरी सिक्स भिल्ला प्रालिले ४४ लाख ७८ हजार रुपियाँको सामग्री दुबई निकासी गरेको थियो भने नेपाल इकरात इन्जिनियरिङ कम्पनीले २४ लाख ९२ हजार रुपियाँको ट्रान्समिटर भार निकासी गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्क छ । त्यस्तै बिस्कुट उत्पादन गर्ने खजुरीले एक लाख १७ हजारको सामग्री विदेश निर्यात गरेको छ ।
चितवनमा दुई खर्बको लगानी
चितवनमा औद्योगिक क्षेत्र नबने पनि जिल्लामा विभिन्न खालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । औद्योगिक क्षेत्र निर्माणको लागि शक्तिखोरमा तयारी भएको छ तर सरकारले त्यसलाई अगाडि बढाउने निर्णय गरेको छैन । अध्ययन अनुसन्धान वातावरण प्रभाव मूल्याङ्कन सबै तय भइसकेको छ । औद्योगिक क्षेत्र नबने पनि यहाँ दुई खर्ब रुपियाँभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ । सरकारी र निजी क्षेत्रले यकिन तथ्याङ्क सङ्कलन गर्न सकेका छैनन् । जिल्लाका उद्योगी र वाणिज्य कार्यालय चितवनको प्राप्त विवरण र उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा रु. दुई खर्बभन्दा बढी लगानी भएको पाइएको छ । व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ ।
पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले देशभरमा पोल्ट्री क्षेत्रमा ८० अर्ब रुपियाँभन्दा बढी लगानी भएकोमा ४० अर्बभन्दा बढी लगानी चितवनमा मात्रै भएको बताउनुहुन्छ । दाना उद्योग, ह्याचरी, पोल्ट्री फार्मलगायतमा लगानी भएको हो । दानामा भारतीय र चिनियाँ व्यवसायीले समेत लगानी गरेका छन् ।
पोल्ट्रीपछि सबैभन्दा बढी लगानी होटेल क्षेत्रमा भएको छ । सौराहा र राप्ती नदी किनारमा पर्यटकीय ठुला होटेल रहेका छन् । त्यसै गरी भरतपुर र रत्ननगर क्षेत्रमा पनि होटेल एवं पार्टी प्यालेसमा ठुलो लगानी भएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि ठुलो लगानी भएको देखिएको छ । चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिश्चन्द्र न्यौपानेले भन्नुभयो, “मेडिकल कलेजमा मात्रै चार अर्ब रुपियाँभन्दा धेरै लगानी भएको छ । दुई वटा मेडिकल कलेज र २५ वटा निजी अस्पताल जिल्लामा छन् । मेडिकल कलेज र निजी अस्पतालमा गरी १५ अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।”
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जिल्लामा उद्योगको सङ्ख्या यकिन छैन तर पनि पाँच हजारको हाराहारीमा उद्योग सञ्चालनमा रहेका छन् । साना र ठुला उद्योगमा गरेर एक लाखभन्दा धेरैले रोजगारी पाएको बताउनुहुन्छ । एक अर्बभन्दा बढी लगानी भएका उद्योगको सङ्ख्या २५ भन्दा बढी छ भने ५० करोडभन्दा बढी लगानी भएका उद्योग एक सय र २५ करोडभन्दा बढी लगानी भएका उद्योग दुई सय छन् । १० करोडभन्दा बढी लगानी भएका उद्योग चार सय र एक करोडभन्दा बढी लगानी भएका उद्योग आठ सय रहेका छन् । पोल्ट्री, होटेल, हस्पिटल, शिक्षासँगै उत्पादनमूलक क्षेत्रमा ठुलो लगानी भएको छ । जिल्लामा मदिराका उद्योग, बोटलर्स नेपाल (तराई) लि, फर्माटिकल्स, प्लास्टिकजन्य उत्पादन, कृषिजन्य उद्योग जस्ता पाता, ब्लक, फर्निचर, चाउचाउ, फलामलगायतका उद्योग रहेको छ ।
शक्तिखोरमा निर्माण हुन लागेको शक्तिखोर औद्योगिक क्षेत्र सुरु भएपछि थप दुई खर्ब रुपियाँ लगानी हुने अपेक्षा गरिएको छ । सो क्षेत्रमा एक हजार उद्योग सञ्चालन गर्न सकिने छ । पुराना पाँच सय उद्योग र नयाँ पाँच सय उद्योग त्यहाँ रहन सक्ने चितवन उद्योग सङ्घका पूर्वअध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो । पछिल्लो समय औषधीका उद्योग चितवनमा खुल्ने क्रम बढेको छ । भरतपुर महानगरपालिकाको वडा नं १६, १७, १८ मा यस्ता उद्योगकेन्द्रित छन् भने वडा नं. ३ र १ मा पनि उद्योग खुलेका छन् । नेपालकै ठुलो डेरी उद्योग यहीँ खुलेको छ । प्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या यकिन नभए पनि सबैमा गरेर एक लाखभन्दा धेरैले रोजगारी पाएको अनुमान गरिएको छ ।