मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिइन्छ । पर्यटन क्षेत्रबाट मनग्य आम्दानी गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि पूर्वाधारको अभावले पछि परिरहेका छौँ । यहाँको व्यवस्थापन, प्रचार र भएको लगानी अनुसार परिचालन गर्न नसक्दा आशातीत रूपमा बाह्य पर्यटक भित्र्याउन सकिएको छैन ।
देश सङ्घीयतामा गइसकेपछि तीन तहको सरकारको वार्षिक बजेटमा नै आम्दानीको प्रमुख आधारका रूपमा पर्यटनलाई राखिएको छ । यस क्षेत्रमा सरकारी, निजी तथा संस्थागत लगानी धेरै भएको छ । नेपालको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा पहिलो नम्बरमा आउने स्थान काठमाडौँ हो ।
केन्द्रीय राजधानी भएको प्रदेशको महत्व र जिम्मेवारी अन्यको भन्दा फरक रहेको छ । बागमती प्रदेश सरकारले पनि समृद्धिका आधारमध्ये पर्यटन क्षेत्रलाई मान्दै आएको छ । प्रदेश सरकारले हरेक वर्ष पर्यटन क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको छ । पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक भित्र्याउने योजना ल्याएको छ ।
होटेलमा लगानी बढ्दो
पर्यटन क्षेत्रमा पूर्वाधार र आवासलाई प्राथमिकतामा राखिन्छ । पर्यटक घुम्न जान्छन् भने त्यहाँ उनीहरूको रुचि अनुसारको आवास, खाना, मनोरञ्जन खोज्ने गर्दछन् । त्यसैलाई ध्यान दिएर होटेलमा लगानी गरेका हुन्छन् । पछिल्ला समयमा धेरै लगानी होटेलमा गरेको पाइएको छ ।
निजी क्षेत्रले होटेलमा लगानी गरेको छ भने प्रदेश अन्तर्गत रहेको स्थानीय सरकारले पनि आफ्नो वार्षिक बजेटमा पर्यटनलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा काम गर्दै आएको छ । नेपालकै तेस्रो गन्तव्यको सूचीमा रहेको बागमती प्रदेशको चितवन राष्ट्रिय निकुञ्जआसपास पर्यटनको क्षेत्रमा अर्बौं रुपियाँ लगानी भएको छ । निजी क्षेत्रले यहाँ होटेल रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधारमा लगानी गरेको छ ।
क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेले सौराहा क्षेत्रमा मात्रै १५० होटेल सञ्चालनमा रहेको बताउनुहुन्छ । स्टार तहको सुविधा र व्यवस्थापन भए पनि स्टार तह लिँदा कर धेरै तिर्नुपर्ने भएपछि यहाँका होटेल तथा रिसोर्टले प्रमाणपत्र लिएका छैनन् तर सुविधा भने दिएका छन् । होटेल सबै पर्यटकलाई केन्द्रित गरेर निर्माण भएका छन् । यस क्षेत्रमा मात्रै १५ अर्ब रुपियाँभन्दा धेरै लगानी भएको उहाँको भनाइ छ । सबैले सुविधा थप्दै लगेका छन् । एउटै होटेलले ५० करोड रुपियाँभन्दा माथि लगानी गरेका छन् । साना ठुला होटेलको लगानी हेर्दा अर्बौं रुपियाँ हुन आउँछ । १५० होटेलमा मात्रै प्रत्यक्ष रोजगारी गर्ने १० हजारभन्दा धेरै रहेको उहाँले जानकारी दिनुभयो ।
पर्यटकीय गतिविधिमा संलग्न रहेका अन्य रोजगारको सङ्ख्या हेर्दा त्यसको दोब्बर हुन आउँछ । “पर्यटकलाई लक्षित गरी व्यापार व्यवसाय सञ्चालनमा छन् भने हस्तकलाका सामग्रीको व्यापार क्षेत्रमा लागेकालाई हेर्दा होटेलमा काम गर्नेभन्दा दोब्बर हुन आउँछ,” अध्यक्ष पाण्डेले भन्नुभयो । अहिले स्वदेशी पर्यटक धेरै आएका छन् । विदेशी पर्यटकलाई भित्र्याउने वातावरण गर्न सकेमा सौराहा मात्र होइन, प्रदेशलाई नै यहाँको आर्थिक गतिविधिले सकारात्मक प्रभाव पार्न सक्छ ।
पूर्वाधारमा सरकारको लगानी
पर्यटकीय पूर्वाधार क्षेत्रमा सरकारले पनि लगानी गर्न थालेको छ । सङ्घ, प्रदेश र स्थानीय तहले पर्यटकीय पूर्वाधार तथा सहयोगी भूमिका निर्वाह गर्न लगानी गर्दै आएको छ ।
संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशले मात्रै सात वर्षमा दुई अर्ब ३२ करोड १२ लाख रुपियाँ खर्च भइसकेको जानकारी दिएको छ । पर्यटन पूर्वाधार निर्माणका लागि प्रदेशका १३ वटै जिल्लामा लगानी गरेको संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले बताउनुभयो । “प्रदेशको १३ वटै जिल्लामा सरकारले पूर्वाधार, संरक्षण, संस्कृतिको प्रचारलगायतका क्षेत्रमा काम गरेको छ । संस्कृति र पर्यटनमा विश्वमा नै हाम्रो देश धनी छ । त्यसैले हामीले यसको संरक्षण गर्नु कर्तव्य हो,” मन्त्री ठकुरीले भन्नुभयो ।
सौराहामा नै प्रदेश सरकारले क्यानोपी (रुखमा अड्याएर झोलुङ्गे पुलमा जस्तै हिँड्न मिल्ने) निर्माणमा दुई करोड रुपियाँ बजेटबाट काम भइराखेको छ । बागमारा मध्यवर्ती वनमा यो निर्माणको चरणमा रहेको छ । यसले पर्यटकलाई आकर्षित गर्ने मात्र होइन, थप रोजगारी सिर्जनासमेत गर्दछ ।
सौराहामा निर्माण पूरा भएर सञ्चालनमा आएको सौराहा सिटी हलले रोजगारी मात्र नभएर पर्यटक भित्र्याउन मद्दत गरेको रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटा बताउनुहुन्छ । सिटी हलको अभावमा ठुला सेमिनार गर्न समस्या भएकोमा अहिले त्यो समस्या हटेको छ । एक हजारभन्दा बढी क्षमताकोे सभाहल बनेपछि कार्यक्रम गर्न यहाँ आउन थालेका छन् । पश्चिम चितवनको मेघौली क्षेत्रमा करोडौँको लगानीमा निजी क्षेत्रबाट वाराही जङ्गल रिसोर्ट, सिजी सफारी, साराङ जङ्गल रिसोर्टले स्टार सरहका अन्तर्राष्ट्रिय सुविधा दिएको छ । अन्नपूर्ण होटेल निर्माणाधीन अवस्थामा रहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहले गरेर मेघौली क्षेत्रमा मात्रै छ करोड रुपियाँभन्दा धेरै लगानीमा पूर्वाधार निर्माणाधीन अवस्थामा छन् । यहाँको आकर्षक राइनो पार्क रहेको छ ।
जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाभित्र सरकारको लगानी रहेको छ । महानगरको देवघाट क्षेत्रमा चालु वर्षमा दुई करोड, ज्ञानेश्वर क्षेत्रमा चार करोड, नारायणी किनार सी बिचमा २५ करोड रुपियाँ, रानीपोखरी, चौकीडाँडा, कसरा, दियालो बङ्गला, राइनोकुञ्ज, गणेशधाम, शान्तिवन क्षेत्रमा १२ करोड रुपियाँभन्दा धेरै लगानी भएको छ । जगतपुर, पटिहानीमा एक दर्जन होटेल सञ्चालनमा छन् ।
विसं २०१७ मा मेघौली विमानस्थल निर्माण गरिएको थियो । पर्यटकीय विमानस्थलका रूपमा यो परिचित छ । निकुञ्जभित्रको टाइगर टप्स जङ्गल लज आउन यही विमानस्थल प्रयोग हुने गरेको थियो । सर्वसाधारणलाई भन्दा पर्यटकीय चार्टर उडान हुँदै आएको थियो । बेलायतकी महारानी एलिजाबेथसमेत यहाँ आउनुभएको इतिहास रहेको छ ।
मेघौली, पटिहानी, जगतपुर, मुग्लिङ क्षेत्र, माडीलगायतमा पर्यटकीय क्षेत्रमा अर्बौं रुपियाँ लगानी भएको भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा. विश्व सुवेदी बताउनुहुन्छ । यहाँको पर्यटन क्षेत्रमा मात्रै प्रत्यक्ष २० हजार जनाले रोजगारी पाएका छन् भने पर्यटकीय गतिविधिकै कारण अप्रत्यक्ष रोजगारी पाउने त्योभन्दा धेरै रहेको उहाँ बताउनुहुन्छ । भरतपुर महानगरपालिकाले आफ्नो बजेटमा पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्नुभयो, “गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला खेल पर्यटकलाई केन्द्रित गरी निर्माणाधीन छ । यो मात्र नभई सिटी हल निर्माणको चरणमा रहेको छ । यस्ता गतिविधिले पर्यटकलाई आकर्षित गर्न थप मद्दत पु¥याउने छ ।”
नदीतटीय क्षेत्रमा पूर्वाधार
नदी तथा पानीका स्रोत भएको स्थानमा पर्यटकीय पूर्वाधार तथा होटेल रिसोर्ट खुल्ने क्रम बढेको छ । मुग्लिङदेखि काठमाडौँ जाने त्रिशूली नदी किनारमा खुलेका तारे होटेल, ¥याफ्टिङ सञ्चालनका लागि चालु अवस्थामा रहेका रिसोर्टले १० हजारभन्दालाई रोजगारी दिएको ¥याफ्टिङ सञ्चालक पर्यटन व्यवसायी शिव अधिकारीले जानकारी दिनुभयो ।
त्रिशूली मात्र नभएर भोटेकोशी, मस्र्याङ्दी, तामाकोशीलगायतका नदीमा पर्यटकीय गतिविधि भएका छन् । साहसिक खेल खेल्नका लागि विदेशबाट हजारौँ पर्यटक नेपाल आउने गरेको अधिकारी बताउनुहुन्छ । यसै क्षेत्रमा करोडौँ लगानी भएको छ । यसले पर्यटन क्षेत्रलाई चलायमान मात्र होइन, रोजगारी सिर्जनासमेत गरेको छ । मकवानपुर र चितवनको सिमाना लोथरखोलादेखि पश्चिम नदी किनार क्षेत्र, सौराहा, पटिहानी, जगतपुर, मेघौली, नारायणी नदी, त्रिशूली, भोटेकोशीको किनार, सुनकोशीको किनार, हिमाली क्षेत्र, कालिञ्चोक भगवती मन्दिर क्षेत्र, धार्मिक तथा पुरातात्त्विक क्षेत्रमा पूर्वाधार निर्माण गरेर पर्यटकलाई सेवा दिँदै आएको छ । यसमा हजारौँले रोजगारीको अवसर पाएका छन् ।
धार्मिक तथा ऐतिहासिक क्षेत्र
धार्मिक तथा ऐतिहासिक क्षेत्र यस प्रदेशका हरेक जिल्लामा रहेको छ । दोलखाको कालिञ्चोक भगवती मन्दिर, दोलखा भीमसेन स्थान, जिरी पर्यटकीय क्षेत्र र रामेछापको सीमावर्ती शैलुङ, सिन्धुपाल्चोकको तातोपानी, नदी किनार पर्यटकीय क्षेत्र हुन् । यद्यपि यहाँको लगानी र रोजगारीको यकिन विवरण राख्ने निकाय छैन ।
हिमाली क्षेत्रको अवलोकन, धार्मिक तथा ऐतिहासिक क्षेत्र यहाँका पर्यटकीय गन्तव्य हुन् । यसै क्षेत्रमा आबद्ध भएर हजारौँले रोजगारी पाएका छन् । लगानी, सम्भावना तथा रोजगारीको विषयमा प्रदेश सरकारले विवरण राख्ने तयारी गरेको संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश मन्त्री विमल ठकुरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रदेश संरचनामा गएको लामो समय भएको छैन हामीले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छौँ, त्यसैले विवरण राख्ने कामलाई पनि सँगै लैजान्छौँ ।”
रामेछाप जिल्लाको सदरमुकाम मन्थली अर्को पर्यटकीय केन्द्र रहेको छ । यहाँको विमानस्थलमा वर्षको दुई सिजनमा दैनिक ६० भन्दा धेरै उडान हुने गर्दछ । दैनिक दुई सय जनाभन्दा धेरै मन्थली विमानस्थल हुँदै सगरमाथा क्षेत्र घुम्न जाने विदेशी पर्यटक आउने गर्छन् । जसले गर्दा मन्थली क्षेत्रमा स्टार तहका र अन्य सुविधासम्पन्न होटेल खुलेका छन् । यहाँ प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या ठुलै रहेको छ । मन्थली बजार क्षेत्र वैशाख र जेठ महिना, असोज र कात्तिक महिना विदेशी पर्यटकले भरिभराउ हुने गर्दछ । विदेशी पर्यटकको आगमनकै कारण यहाँको व्यापार व्यवसाय, होटेल क्षेत्र चलायमान भएको छ । विदेशी पर्यटकले भरिभराउ हुने गरेकाले हरेक महिना विमानस्थल सञ्चालनको पहल भइराखेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउनुहुन्छ ।
रामेछाप जिल्लासँग जोडिएको सिन्धुली जिल्लाको ऐतिहासिक क्षेत्र सिन्धुलीगढी अर्को पर्यटकीय क्षेत्र हो । यहाँ हरेक दिन स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन् । यहाँको अवलोकनबाट नेपालको इतिहासको विषयमा जानकारी पाउन सकिन्छ । युद्ध सङ्ग्रहालयका रूपमा परिचित यसले सिन्धुली बजार क्षेत्रलाई सकारात्मक प्रभाव पारेको पर्यटन व्यवसायीले बताएका छन् ।
प्रदेशको राजधानी मकवानपुर जिल्लाको महत्वपूर्ण पर्यटकीय स्थल सहिद स्मारक । यो स्थान हेटौँडा मात्र नभएर मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशकै मानिसको आकर्षण केन्द्र बनेको छ । यस्तै दामन, पालुङ, मकवानपुरगढी, मनकामना मन्दिर, चुरेमा नेपालमा नै पहिलो पटक निर्माण भएको सुरुङमार्ग, राप्ती नदी, कुलेखानी तलाउ, दामनमा पर्ने हिउँ पुष्पलाल पार्क र दर्जनौँ क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् ।
जिल्लाका धेरै स्थानमा पर्यटकीय गतिविधिलाई सहयोग पुग्ने गरी प्रदेश सरकारले भौतिक संरचनामा, सूचनामा लगानी गर्दै आएको छ । हेटौँडा उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार निर्माणमा लगानी, प्रचारप्रसारको कामलाई प्राथमिकता दिएको पाइन्छ । हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले भन्नुभयो, “यहाँको पर्यटकीय स्थलको विकास, विस्तार, संरक्षणमा स्थानीय सरकारले काम गर्दै आएको छ ।”
नुवाकोटको त्रिशूली बजार, नुवाकोट दरबार, रसुवाको गोसाइँकुण्ड, चीनसँगको नाकालगायत धार्मिक, प्राकृतिक पर्यटकीय क्षेत्र हुन् । यहाँ प्रदेश सरकारको उपस्थिति रहेको देखिन्छ । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पहाडी जिल्ला र क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्दै लैजाने योजना बनिराखेको बताउनुहुन्छ । हामीले हाम्रो स्थान विश्वमाझ परिचित गराउन नसक्दा यहाँ धेरै पर्यटक आउन सकेका छैनन् ।
केबुलकारको आकर्षण
बागमती प्रदेशमा दुई वटा ठुला र एउटा सानो केबुलकार सञ्चालनमा आएका छन् । नेपालको पहिलो केबुलकार यही प्रदेशमा छ । मनकामना केबुलकार चितवनको कुरिनटारमा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन भइराखेको छ । यसले धार्मिक पर्यटनलाई प्रवर्धन गरेको छ । यसले सरकारलाई ठुलै परिमाणमा कर तिर्दै आएको छ भने रोजगारीको सिर्जनासमेत गरेको छ । गोरखा मनकामना जाने भए पनि बागमती प्रदेश कार्यालयमा नै स्थापना भएर सञ्चालनमा रहेकाले यस प्रदेशमा यसको प्रमुख प्रभाव पारेको छ ।
ठुलो लगानीमा अर्को चन्द्रागिरी केबुलकार सञ्चालनमा छ । यसले राजधानी र अन्य स्थानका पर्यटकलाई एउटा महत्वपूर्ण गन्तव्यका रूपमा परिचित गराएको छ । यसले केबुलकार सञ्चालनलाई मात्र टेवा दिएको छैन, डाँडामा सञ्चालनमा रहेका होटेल तथा प्रत्यक्ष रोजगारीको अवसरसमेत प्रदान गरेको छ । पृथ्वीनारायण शाह बास बसेको स्थान र उपत्यकालाई विजयी हासिल गर्ने सपना देखेको स्थानका रूपमा रहेको यो ठाउँ केबुलकार निर्माण भएपछि पर्यटकीय गतिविधिमा वृद्धि भएको हो ।
दोलखाको कालिञ्चोकमा सञ्चालनमा रहेको अर्को केबुलकारले यहाँको पर्यटन प्रवर्धनसँगै रोजगारीको अवसर सिर्जना गरेको छ । यहाँ पर्यटन क्षेत्रमा आबद्ध भएका व्यवसायीलाई केबुलकार खुलेपछि सहयोग पुगेको छ । नयाँ पर्यटकीय पूर्वाधार निजी क्षेत्रबाट भएका छन् । देशकै प्रमुख पर्यटकीय गन्तव्यदेखि तेस्रो गन्तव्य रहेको बागमती प्रदेशमा पर्यटन क्षेत्रमा मात्रै लाखौँले रोजगारी पाएको देखिन्छ । यस क्षेत्रबाट सरकारले राम्रो आम्दानी गरेको छ ।
प्रमुख पर्यटकीय स्थल
पशुपतिनाथ, बौद्धनाथ स्तूप, स्वयम्भू, हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार, भक्तपुर दरबार, चाँगुनारायण, पलाञ्चोक, कालिञ्चोक, दोलखा भीमसेन, नमोबुद्ध, तातोपानी कुण्ड, नुवाकोट दरबार, सिन्धुलीगढी, मकवानपुरगढी, रसुवागढी, दुगुनागढी, सामेश्वरगढी, उपरदाङगढी, दामन, चित्लाङ, इन्द्रसरोवर, ककनी, जिरी, शैलुङ, जुगल हिमाल, भैरवकुण्ड, दोरम्बा, चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ निकुञ्ज, शिवपुरी नागार्जुन निकुञ्ज, बन्जीजम्प, संरक्षित क्षेत्र, पार्क, विभिन्न स्थानका नदी तथा तटीय क्षेत्र पर्यटकीय स्थलका रूपमा मन्त्रालयले प्राथमिकता दिएको छ ।