• २९ वैशाख २०८२, सोमबार

जातीय विभेदमा अल्झिएको प्रेम ‘ऊनको स्वीटर’

blog

काठमाडौँ, वैशाख २९ गते । नेपाली समाजको विविधता र प्रेमकथालाई चलचित्र ‘ऊनको स्वीटर’ ले परिभाषित गर्न खोजेको छ । अन्तरजातीय प्रेमको कथावस्तु समेटिएको चलचित्रले प्रेम, समर्पण र त्यागले कसरी प्रेमलाई पुनः परिभाषित गराउँछ भन्ने कुरा झल्काउँछ । 

चलचित्रका मुख्य पात्र धरणीधर काफ्ले (विपिन कार्की) घर निर्माण गर्ने मिस्त्रीको काम गर्छन् । यही पेसाले उनको घरबार चलेको छ । धरणीधरका भाइ डम्बर (एलेक्स पारस) जो दिलीप रायमाझीको औधी फ्यान हुन्छन् । उनले गाउँकै एक सांस्कृतिक कार्यक्रममा आङ्देम्बे थरकी लिम्बुनी (परीक्षा लिम्बू) लाई भगाउँछन् । छोरीचेली भगाइदिने भाइप्रतिको रिस आङ्देम्बेहरूले दाजु धरणीधरमाथि पोख्छन् । सिङ्गै आङ्देम्बे समुदाय काफ्लेलाई घर बनाउने काम नदिने निर्णयमा पुग्छन् । त्यही समय धरणीधर आफ्नो अतीतमा फर्कन्छन् । जहाँ उनले फूलमाया गुरुङ (मिरुना मगर) सँगको प्रेमलाई सम्झन्छन् । दुवैबिच प्रेम त बस्छ तर उनीहरूको प्रेम कहाँ टुङ्गिन्छ कसैलाई पत्तो छैन । लिम्बू समुदायमा बसोबास गर्ने काफ्लेको कथा हो, चलचित्र । जातीय विभेदका कारण धरणीधर र फूलमायाको प्रेमकथामा आउने उतारचढावलाई निर्देशक नवीन चौहानले पेचिलो ढङ्गबाट प्रस्तुत गर्न खोज्नुभएको छ । 

यता अन्तरजातीय विवाह गरेर हराएका दुई प्रेमी गाउँ फर्किन्छन् । दुवैको घरपरिवारले उनीहरूलाई स्विकार्ने वा नस्विकार्ने चलचित्रको मुख्य पाटो हो । धरणीधरले आफ्नो भाइले ल्याएको सङ्कटलाई कसरी समाधान गर्छन् र आफ्नो प्रेमलाई कसरी अघि बढाउँछन् भन्ने कुराले चलचित्रमा कौतूहलता ल्याउन सक्छ । विशेष गरेर चलचित्र धरणीधर र फूलमायाको वरिपरि घुमेको छ तर निर्देशक चौहानले उनीहरूको कथामा अन्य पात्रको कथा मिसाएर चलचित्र केही लामो र सुस्त बनाउन खोजेका हुन् कि भन्ने पनि भान हुन्छ । 

चलचित्रभित्र देखिएका केही दृश्यले भने दर्शकको मन अवश्य लोभ्याउन सक्छ । भाले समात्न खोजिएको दृश्य, लालटिनको सहारामा बुन्दै गरेको स्वेटरको दृश्य, अटोग्राफ भर्ने चलन, दलितको झुप्रो, याक र भेडाहरूको गोठ, लेकको पोलेको आलु, सगुनमा दिइएको रक्सीले अवश्य नै गाउँघरको मौलिकता झल्काउने काम गर्छ । यी कुरामा भने निर्देशक चौहानको प्रंशसा गर्नेपर्ने हुन्छ । झुमा लिम्बू र सुजन चापागाईंले गाउनुभएको गीत ‘धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानु कि नजानु...’ ले दर्शकलाई हलमा नै उफ्रन बाध्य बनाउँछ । यो गीत सङ्गीतले दर्शकको भावनालाई अझ प्रबल बनाउँछ । चलचित्र सरल कथा भए पनि सशक्त रूपमा प्रस्तुत गरिएको छ । चलचित्रप्रेमीका लागि यो हेर्नैपर्ने चलचित्र बनेको छ । सरल कथा र प्रत्येक पात्रको अभिनय, संवाद र दृश्य संयोजनले चलचित्र अझ प्रभावशाली बनाउने काम गरेको छ । छायाङ्कनले चलचित्रलाई अझै मनमोहक बनाएको छ । 

निर्देशक चौहानले चलचित्रमार्फत लिम्बूको बस्तीमा काफ्ले, मगर, गुरुङको रहनसहनलाई भरपुर तरिकाले देखाउने प्रयत्न गरेका छन् तर पनि धेरै कुरामा उनी धरमराएका हुन् कि भन्ने दर्शकले अड्कल लगाउन सक्छन् ।