अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख २८ गते । म्याग्दी जिल्लाभित्रका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता र दिगोपना घोषण भएसँगै आइतबार म्याग्दी जिल्लालाई नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ।
जिल्लाको धवलागिरि गाउँपालिकाबाट सुरु भएको पूर्णखोप घोषणा कार्यक्रम मालिका गाउँपालिका, मङ्गला गाउँपालिका, रघुगङ्गा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकालाई पनि घोषणा गरी सकिएको छ । सबै पालिकाहरूलाई पूर्ण खोप घोषणा गरिसके पछि जिल्लालाई नै घोषणा गरिएको प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
म्याग्दी जिल्ला भित्रका जन्मेदेखि १५ महिना भित्रका एक हजार दुई सय ३५ जना बालबालिकाहरूले नियमित रूपमा खोप लगाइ रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। त्यस्तै मङ्गला गाउँपालिका र रघुगङ्गा गाउँपालिका भित्रका १६ देखि २७ महिना सम्मका तीन सय ६३ जना बालबालिकाले पूर्ण खोप पाइसकेका छन् ।
त्यसैगरी १६ देखि ५९ महिना भित्रका धवलागिरि गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, मालिका गाउँपालिका तथा बेनी नगरपालिका भित्रका तीन हजार दुई सय ८८ जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता भएसँगै जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
चालु आर्थिक वर्षमा जिल्लाका सबै ४५ वटै वडाका खोप समन्वय समितिको बैठक, छ वटै पालिका खोप समन्वय समितिको बैठक राख्नुका साथै घरधुरी सर्वेक्षण सहित सबै घरमा रहेका बालबालिकाको पूर्णखोप सुनिश्चितता पक्का गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।
एक जना बच्चालाई पूर्णखोप लगाउनका लागि हालको अवस्थाको हिसाबले हेर्ने हो भने सरदर ४० हजार खर्च लाग्ने जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख ठकुराठीको भनाइ छ ।
वैशाख ८ गते धवलागिरि गाउँपालिकालाई पूर्णखोप घोषणा गरेर सुरु भएको अभियानमा ९ गते मालिका गाउँपालिका, १० गते मङ्गला गाउँपालिका, १५ गते रघुगङ्गा गाउँपालिका १९ गते अन्नपूर्ण गाउँपालिका र २१ गते बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । १६ देखि २७ महिना उमेर समूहका बालबालिकाहरू मङ्गला गाउँपालिकामा दुई सय ११, रघुगङ्गा गाउँपालिकामा एक सय ५२ जनाले पूर्णखोप पाएको सुनिश्चितता गरिएको थियो । त्यस्तै धवलागिरि गाउँपालिकामा छ सय ३१, मालिका गाउँपालिकामा नौ सय २८, अन्नपूर्ण गाउँपालिकामा चार सय ३७ र बेनी नगरपालिकामा एक हजार दुई सय ९२ जना १६ महिना देखि ५९ महिना भित्रका बालबालिकाले पूर्णखोप पाएका छन् ।
खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरू पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो । बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाइटिस, जापानीज इन्सेफ्लाइटिस, रुबेला, झाडापखाला, टाइफाइड लगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न १४ प्रकारका खोपको सबै मात्रा पूरा गरेकोले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।