काँक्रेविहार (सुर्खेत), वैशाख २८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकारभएका निकाय एकजुट भएर अघि बढे विकास सम्भव हुने धारणा राख्नुभएको छ । क्षेत्रीय होटलसँगको समन्वयमा चितवनले ‘घुमौ सौराहा, चितवन अभियान’ भन्ने मूल नाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले सबैबिच सहकार्य र समन्वय गर्दै मुलुक विकासमा जुट्नुपर्ने बताउनुभयो ।
सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकता त्यागेर विकास सबैको साझा विषय हो भनी एकजुट भएमा कामले गति लिने मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “देश विकासका लागि सरकारको मुख्य भूमिका रहनुका साथै यसको गतिलाई प्रभावकारी रूपमा अगाडि बढाउन निजी क्षेत्रको पहलकदमी र भूमिका पनि महत्त्वपूर्ण रहन्छ । सङ्घीय प्रणालीमा व्यवस्था नयाँ, संरचना नयाँ निर्माण गरेका छौँ । ती संरचनालाई निर्देशित गर्ने कानुन पुराना भएकाले जनताको चाहना अनुसार काम गर्न समस्य भइरहेको छ ।”
जनता र जनप्रतिनिधिको अपेक्षा अनुसार कानुन नबन्दा समस्या भइरहेको भन्दै उहाँले पुराना कानुनलाई विस्थापित गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।
कर्णाली प्रदेशको अन्तरिक आम्दानी र विकासका लागि पर्यटन प्रवर्धन मुख्य आधार रहेको उहाँले उल्लेख गर्नुभयो । चितवनबाट कर्णालीसम्म आफ्नो व्यावसायिक महत्त्व झल्काउन आउनुभएका सबैलाई सहकार्य र समन्वयबाट अघि बढ्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।
“कर्णालीमा राराताल, फोक्सुण्डो ताल, छायाँनाथ, बाला त्रिपुरासुन्दरीलगायत पर्यटकीय क्षेत्र भए पनि विकासको मूलधारमा आउन नसक्दा ओझेलमा परेका छन् । कर्णाली काेरिडोर हुँदै रारा, भेरी काेरिडोर हुँदै डोल्पा जान सकिन्छ । पर्यटकीय क्षेत्रको विकासमा सबै एकजुट भएर काम गर्नुपर्ने अहिलेको आवश्यकता हो”, मुख्यमन्त्री कँडेलले भन्नुभयो । रासस