• २९ वैशाख २०८२, सोमबार

पोखराबाट अन्य सहरमा उडान गर्न पहल

blog

कास्की समाचारदाता

कास्की, वैशाख २८ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवाप्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीबिच सो विषयमा छलफल भएको हो । 

छलफलमा मन्त्री पाण्डेले पोखरामा सञ्चालनमा रहेको सुविधासम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यमा नियमित उडान सञ्चालन गर्न सेवाप्रदायकलाई आग्रह गर्नुभयो । सरकारका तर्फबाट आवश्यक नीतिगत सहयोगका लागि आफूहरू तत्पर रहेको उल्लेख गर्दै उहाँले काठमाडौँ विमानस्थलको व्यस्तता र केन्द्रीकृत सेवाको यथाशक्य विकेन्द्रीकरणमा जोड दिनुभयो । उहाँले पोखराबाट नियमितबाहेक अन्य नयाँ गन्तव्यमा पनि उडान सञ्चालन गर्न सके पर्यटकीय गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवाप्रदायकलाई आग्रह गर्नुभयो । पर्यटन राजधानी पोखराबाट मुलुकको कुनै पनि कुनामा हवाइयात्रामार्फत पुग्न सकिने सुनिश्चितता गर्न आफूहरू आवश्यक सहजीकरणका लागि तयार रहेको प्रमुख आचार्यले बताउनुभयो । सबैभन्दा सुरक्षित मानिएको हवाई सेवाले पोखरालाई देशभर जोड्न सकिए मात्र पर्यटनलगायत अन्य क्षेत्रको विकासमा असन्तुलनको अवस्था अन्त्य हुने बताउनुभयो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल पूर्ण क्षमतामा सेवा दिन सक्षम रहेको उल्लेख गर्दै उहाँले देशभरका सम्भाव्य स्थानहमा पोखराबाट सेवा प्रदानका लागि आवश्यक व्यवस्थापनका लागि विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।  छलफलमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यती एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्कीलगायतले आफूहरू सेवाका लागि तयार रहेको बताउनुभयो ।