• २९ वैशाख २०८२, सोमबार

अस्पताल भवन चार वर्षदेखि अलपत्र

blog

सर्केगार्डमा अलपत्र अस्पताल भवन । तस्बिर: गोरखापत्र

राजन रावत

हुम्ला, वैशाख २८ गते । २०७५ सालमा देशभर एकसाथ शिलान्यास गरिएका मध्यको एक सर्केगार्ड गाउँपालिका केन्द्रमा निर्माण गर्न लागिएको अस्पताल भवनको निर्माण कार्य चार वर्षमा पनि पूरा हुन सकेको छैन । अस्पताल भवन निर्माणको जिम्मा पाएका निर्माण कम्पनीको लापरबाहीको कारण भवन निर्माणमा ढिलाइ भएको हो । 

सम्झौता भएको दुई वर्षपछि मात्र अस्पताल भवनको निर्माण कार्य सुरु भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णकेशर आचार्यले बताउनुभयो । उहाँले २०७८ साल जेठ महिनामा केएस कन्स्ट्रक्सनसँग गाउँपालिकाले उक्त अस्पताल भवनको सम्झौता भएको बताउनुभयो । उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने अवधि २०८३ साल साउन महिनासम्म रहेको छ । 

भवन निर्माणका लागि यति लामो अवधि राख्नु नै निर्माण कम्पनीले लापरबाही गर्ने बाटो रहेको उहाँले बताउनुभयो । त्यति बेला असी लाख रुपियाँ पेस्की लिने काम मात्र भए पनि काम सुरु भएको उहाँले बताउनुभयो । काम सुरु नगरेपछि निर्माण कम्पनीलाई कार्यालयमा बोलाएर ठेक्का रद्द गर्नेसम्मको कुरा उठाएपछि निर्माण कम्पनीले तत्काल काम सुरु गर्ने र समय मै सम्पन्न गर्ने कागज गरेपछि काम निर्माण कार्य अगाडि बढेको हो । कार्यालयको ताकेता पछि २०८० सालमा निर्माण कम्पनीले काम बल्ल सुरु गरेको थियो । 

बाह्र कोठे दुई तले भवन तल्लो तलाको संरचना अहिले पनि अधुरो अवस्थामा रहेको छ । पहिले लगेको पेस्की रकम फर्छ्यौट गरेर हाल निर्माण गरिएको कामको पनि बिल उठाएर सङ्घीय सरकारसँग दुई करोड एक लाख माग गरेर त्यो रकम पनि गाउँपालिकामा आई पुगेकोले अब निर्माण कम्पनीलाई भुक्तानी दिने तयारीमा गाउँपालिका रहेको छ । यो संरचना निर्माण कम्पनीले गत वर्ष असारमा निर्माण गरेको हो । 

उक्त रकम भुक्तानी दिएपछि भवनको बाँकी काम सुरु हुने र निर्माण कम्पनीले गरेको कामका आधारमा बाँकी भुक्तानीका लागि बजेट माग गरिने छ । भवनको हालसम्म पैँतीस प्रतिशत भौतिक प्रगति देखिएको छ ।