• २८ वैशाख २०८२, आइतबार

गाउँ गाउँमा आधारभूत अस्पताल

blog

देशमा सङ्घीयता कार्यान्वयनसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा धेरै परिवर्तन भएको छ । गाउँ गाउँमा सुविधासम्पन्न अस्पताल बन्दा स्थानीयमा खुसी छाएको छ । कतै अस्पताल राम्रोसँग सञ्चालनमा आएका छन् भने कतिपय अस्पतालका भने भवन बन्दाबन्दै अलपत्र परेका पनि छन् । 

कुनै समय सामान्य बिरामी हुँदासमेत सदरमुकाम बागलुङ बजार, पोखरा र काठमाडौँका ठुला अस्पतालमा पुग्नुपर्ने गलकोटवासीको बाध्यता थियो । त्यहाँको हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा फाट्टफुट्ट बिरामी पुग्थे । अहिले समय बदलिएको छ । स्थानीय सरकार गठन भएपछि जनप्रतिनिधि नागरिकको स्वास्थ्यप्रति उत्तरदायी हुँदा गाउँघरमै सुविधासम्पन्न अस्पताल बन्न थालेका छन् । बिरामी हुँदा अन्यत्रै जानुपर्ने बाध्यता हट्दा अस्पतालप्रति जनविश्वास बढ्दै गएको छ । आधारभूत अस्पतालले विशेषज्ञ सेवा सुरु गरेपछि नागरिकले समयमै उपचार पाएका छन् भने यसअघि ठुला अस्पतालमा धाउँदा हुने आर्थिक क्षति कम भएको छ । 

विसं २०१६ मा स्थापना भएको हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको नगर अस्पतालमा स्तरोन्नति गरिएको छ । दुई वर्षअघि अस्पतालले विशेषज्ञ सेवा सुरु गरेपछि दुर्गमका बिरामीले घरपायकमा उपचार पाउँदा राहतको अनुभव गरेका छन् । अस्पतालका प्रमुख डा. राजेश पौडेल दीर्घ तथा अन्य रोगका बिरामीले अस्पतालबाट सहज सेवा लिएको बताउनुहुन्छ । सेवालाई प्रभावकारी बनाउन र घरआँगनकै अस्पतालबाट गुणस्तरीय सेवा दिन अस्पताल प्रशासन लागिपरेको डा. पौडेलको भनाइ छ । अस्पतालको सुरुवाती चरणको पहिलो महिना ३५० बिरामी आएको तथ्याङ्क छ । सेवा विस्तार हुँदै गएपछि अहिले एकै दिन १५० भन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । 

अस्पतालबाट गलकोटबाहेक ताराखोला, बरेङ, बडीगाड गाउँपालिका र छिमेकी जिल्ला गुल्मीको मुसीकोट नगरपालिकाका बिरामीले सेवा लिँदै आएका छन् । गलकोट नगर अस्पताल सञ्चालनमा आएपछि उपचारमा सहजको भएको हटिया बजारमा व्यवसाय गर्दै आउनुभएका सुरज बोहोरा बताउनुहुन्छ । “बिरामी हुँदा ऋणधन गरेर ठुला र महँगा अस्पतालमा धाउनुपर्ने बाध्यता केही हदसम्म टरेको छ,” बोहोराले सुनाउनुभयो ।

अस्पतालले एक वर्षमै ३० हजारभन्दा बढी नागरिकलाई सेवा दिएको छ । नगरपालिकाले दक्ष चिकित्सकसहितको उपकरण र पूर्वाधार व्यवस्थापन गरेपछि छोटो समयमा अस्पतालले जनताको मन जितेको नगरप्रमुख भरत शर्मा गैरे बताउनुहुन्छ । परिवार स्वास्थ्य महाशाखाबाट शल्यक्रियाको अनुमति पाएपछि अस्पतालबाट १६ जना सुत्केरीको शल्यक्रिया गरिएको छ । नीति र कार्यक्रममै जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले लगानीसमेत बढाइरहेको गैरेको भनाइ छ । 

भवन अलपत्र : ढिलासुस्ती र बजेट अभाव

बिरामीले भरोसा गर्ने अस्पतालका कतिपय भवन भने निर्माणकै चरणमा अलपत्र छन् । कतै जग्गा व्यवस्थापन गर्न कठिन हुँदा जग नै बसाल्न सकिएको छैन । कतै जेनतेन जग राखेका भवन पनि बजेट र निर्माण व्यवसायीको सिकार बनेका छन् । नागरिकलाई स्थानीय तहमै स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित निर्माण थालिएका अस्पतालका भवन आफैँ बिरामी परेपछि नागरिक निराश छन् । निर्माण व्यवसायीको ढिलासुस्तीको चपेटामा परेका केही भवन आधाउधी बनेका छन् । कतै बजेट अभावले काम अघि बढ्न सकेका छैनन् ।

गाउँघरमै सिंहदरबार आएपछि उत्साहित थिए सर्वसाधारण । तिनै सिंहदरबारको परिसर आसपासमै अस्पतालको सपनाले दङ्ग परेका नागरिक अहिले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भइरहेको चरम बेवास्ताले निराश हुन थालेका छन् । लामो समयको प्रयास र पहलपछि घरपायकमा अस्पतालको भवन निर्माण हुन थालेपछि हौसिएकाहरू बर्सौंसम्म काम नसकिँदा उपचार गर्न ठुला सहरका महँगा अस्पतालमा धाउनुपर्ने बाध्यता छ । 

बागलुङ नगर अस्पताल

निर्माण सम्पन्न हुनुपर्ने बेला भइसक्दा पनि ठेकेदारको ढिलासुस्तीले बागलुङ नगरपालिका–१३, पैयुँपाटामा निर्माणाधीन नगर अस्पतालको भवन अलपत्र छ । नगरपालिकाले पटक पटक ताकिता गर्दासमेत भवनको काम पहिलो तला ढलानमा सीमित छ । अस्पताल जस्तो महत्वपूर्ण काममा ढिलाइ हुनु दुःखद भएको नगर उपप्रमुख राजु खड्का बताउनुहुन्छ । अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीले लापर्बाही गर्दा काम सम्पन्न हुनेमा उपप्रमुख खड्काले आशङ्का व्यक्त गर्नुभयो । 

१५ शय्याको अस्पताल भवन निर्माण गर्न नगरपालिकाले श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते ठेक्का सम्झौता गरेको थियो । १२ करोड ८७ लाख रुपियाँमा सम्झौता भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । भवन २०८० असार २० सम्म सक्नुपर्ने सम्झौता छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत साढे दुई तलाको लिफ्टसहितको अस्पताल निर्माण गर्ने स्टिमेट छ ।

स्थानीयको नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास भएपछि पैयुँपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने गरी नगर अस्पतालका रूपमा नामकरण गरिएको थियो । स्वास्थ्यको पहुँचबाट टाढा रहेका दक्षिण क्षेत्रलाई लक्षित गरी अस्पताल निर्माण थालिए पनि निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा प्रभावकारी हुन नसकेको भनी वडा नं. ४ का वडाध्यक्ष नारायण शर्मा पौडलले गुनासो पोख्नुभयो । रायडाँडा, पैयुँपाटा, अमलाचौर र नारायणस्थानवासीलाई स्वास्थ्य सेवा लिन सहज हुने छ । 

बजेट अभाव हुँदा आफ्नै अस्पताल बनाउने निसीखोला गाउँपालिकाको सपनामा तुषारापात परेको छ । सरकारले बजेट विनियोजन नगर्दा निसीखोला–४, बोहरागाउँमा निर्माणाधीन अस्पतालको काम भइसकेको खण्डको पनि पालिकाले भुक्तानी दिन सकेको छैन । स्थानीयले जग्गा उपलब्ध गराएपछि पाँच वर्षअघि भवनका लागि ठेक्का लगाइएको थियो । १० करोड ९९ लाख रुपियाँको लागतमा निर्माणाधीन भवन गत वर्षको पुस मसान्तमा सकिनुपर्नेमा भुक्तानी नपाएपछि हिमदुङ एसी आइएस संयुक्त निर्माण कम्पनीले काम छाडेको हो । म्याद सकिएको डेढ वर्ष बितिसक्दा काम नसकिँदा अस्पतालमा सेवा सञ्चालन हुन नसकेको वडा नं. ४ बोहरागाउँका वडाध्यक्ष टीकानिधि पौडेलले बताउनुभयो ।

१० शय्याको अस्पताल निर्माण सम्पन्न भएमा निसीखोलाका झन्डै २५ हजार जनसङ्ख्याले सेवा पाउने छन् । मध्यपहाडी लोकमार्गमा हुने अन्य दुर्घटनाका घाइतेको उपचारमा पनि यो अस्पताल उपयोगी हुने छ । गाउँपालिकाकै गौरवको आयोजना अलपत्र परेपछि आमनागरिकले स्वास्थ्य सेवाका लागि बुर्तिबाङ र पाल्पासम्म जानुपर्ने बाध्यता छ । 

पालिकाको मध्यभाग र मध्यपहाडी लोकमार्गबाट नजिक भएकाले यो अस्पताल सञ्चालन हुनासाथ धेरै नागरिकले सेवा पाउने छन् । गाउँपालिकाले नौ रोपनी जग्गा उपलब्ध गराएपछि सङ्घीय सरकारले अस्पतालको भवन निर्माणका लागि बजेट निकासा गरेको थियो तर ठेकेदारले अघिल्लो वर्षको कामको एक करोड ५० लाख रुपियाँभन्दा बढी रकम भुक्तानी पाउन बाँकी छ । 

ढोरपाटनको काम सुरु

कामको भुक्तानी सुनिश्चित भएपछि ढोरपाटन नगर अस्पतालको भवन निर्माण गरिरहेको एसी कन्स्ट्रक्सन कम्पनी डेढ वर्षपछि काममा फर्किएको छ । भुक्तानी रोकिएपछि ढोरपाटन नगरपालिका–९, पाखाथरमा २०७९ असार २३ देखि भवन बनाइरहेको कम्पनीले २०८० कात्तिक महिनादेखि काम रोकेको थियो । 

स्वास्थ्य मन्त्रालयले निर्माण कम्पनीलाई आठ करोड ७६ लाख रुपियाँ भुक्तानी गर्ने सुनिश्चित गरेपछि वैशाख १ देखि काममा फर्किएको नगर उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । २०८२ असार २३ गते सक्नुपर्ने काम बजेट अभावमा रोकिएको थियो । डेढ वर्ष काम रोकिँदा भवनको हालसम्म ५२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । एसी कन्स्ट्रक्सनका प्रमुख दीपक अदैका अनुसार काम सुरु गर्दा नगरपालिकाले पेस्कीस्वरूप दुई करोड ४६ लाख उपलब्ध गराए पनि त्यसयता कामको भुक्तानी नपाएपछि काम रोकिएको हो । २०८० कात्तिकसम्म आठ करोड ७६ लाख रुपियाँको काम सम्पन्न गरी नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको अदैको गुनासो छ । १७ करोड ५० लाख रुपियाँमा सम्झौता गरी निर्माण कम्पनीले काम थालेको थियो ।

सञ्चालनको पर्खाइमा बडीगाड अस्पताल

बडीगाड गाउँपालिकाको ग्वालिचौरको पौँदीटारीमा १८ करोड रुपियाँको लागतमा आधारभूत अस्पताल भवन निर्माण सकिए पनि दक्ष जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन सकेको छैन । भवन अलपत्र पर्ने हो कि भनी स्थानीय निराश हुँदा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जनशक्ति र उपकरणका लागि पहल भइरहेको बताउनुभयो । 

पश्चिम क्षेत्रका मिर्गौलारोगबाट पीडितलाई अस्पतालबाट डायलासिस सेवा दिने गरी स्वास्थ्य मन्त्रालयमा पाँच वटा उपकरण माग गरिएको छ । गण्डकी प्रदेश सरकारले चिकित्सक उपलब्ध गराए केही जनशक्ति गाउँपालिकाले व्यवस्थापन गरी अस्पताल चलाउन सकिने अध्यक्ष थापा बताउनुहुन्छ । अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागलाई पालिकाले मागपत्र समेत बुझाइसकेको छ ।