गुल्मी समाचारदाता
गुल्मी, वैशाख २८ गते । प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव सुरु भएको छ । रुरुक्षेत्रधाममा आयोजित प्रथम रुरुक्षेत्र शालिग्राम महोत्सव २०८२ को एक समारोहका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो । नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक धाम रुरुक्षेत्रमा शालिग्राम दिवसका अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको बताइएको छ ।
महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रम समावेश गरिएको छ । रुरुक्षेत्र ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण स्थलमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार भई पर्यटनको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
नेपालका चार प्रमुख धार्मिक धाममध्ये एक मानिने रुरु क्षेत्रमा शालिग्राम दिवसको अवसर पारेर आयोजना गरिएको यस महोत्सवमा धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रम समावेश गरिएका छन् । महोत्सवमा एक हजार आठ शालिग्रामको पुजन, बिक्रीवितरण, ऋषिकेशवको रथयात्रा, झाँकी र्यालीलगायत भजनकीर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गर्ने गरिन्छ । हिन्दु धर्मशास्त्रमा शालिग्रामलाई भगवान् विष्णुको शिला स्वरूपका रूपमा वर्णन गरिएकाले यसको धार्मिक महत्वका साथै अनौठो बनोटका कारण पनि शालिग्राम सबैको चासोको विषय बन्दै आएको छ । श्रीस्वस्थानी व्रतकथामा विष्णु भगवान्ले जालन्धरपत्नी वृन्दाको पतिव्रता धर्म नष्ट गरेर महादेवले जालन्धरको वध गरेपछि विष्णुलाई वृन्दाले दिएका चार श्रापमध्ये एक शिला हुनु परोस् भनी श्राप दिएकीले शालिग्राम स्वरूपमा रहनु परेको उल्लेख छ । शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व भएकाले यसको खोजी गर्ने बर्सेनि बढ्दै गएका पाइन्छन् ।
१६ औँ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान् ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरको भन्ने किंवदन्ती रहेको छ । कालीगण्डकीमा नुहाउन र ऋषिकेशव, गायत्रीमातालगायत विभिन्न देवालयको दर्शन गर्न भक्तजन आउने गर्छन् ।