काठमाडौँ, वैशाख २६ गते । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ । शुक्रबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनुभयो । उहाँले दलहरू बिच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको जानकारी दिनुभयो । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ ।
प्रमुख सचेतक बर्तौलाले केही कानुनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गर्नुभयो । उहाँले सरकारले छलफललाई निष्कर्षमा पुर्याएर छिट्टै नियुक्ति गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नियमित प्रक्रियाकै ढङ्गबाट यो अगाडि बढेको छ । केही दिनभित्रैमा तपाईंहरूले गभर्नर नियुक्ति भएको समाचार सुन्न पाउने हुने छ । केही कानुनी विषय बने, अदालतमा प्रवेश पनि पायो । त्यसकारणले गर्दा पनि केही ढिलो भएको होला तथापि मेरो विचारमा उपयुक्त व्यक्ति, उपयुक्ति जिम्मेवारीमा उपयुक्त समयमा सरकारले निर्णय गर्छ । र केही दिनभित्रमा यो निर्णय आउँछ । थोरै ढिला भए जस्तो देखिए पनि निर्णय छिट्टै हुन्छ ।’’
प्रमुख सचेतक बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्थाविरुद्धको कुनै पनि गतिविधिको प्रतिवाद र विरोध गर्ने बताउनुभयो । उहाँले राजावादीहरुको आन्दोलन देश शान्ति र समृद्धितर्फ अगाडि बढेको देख्न नचाहने प्रतिक्रियावादीहरूले मुलुकलाई द्वन्द्वमा लैजान गरेको प्रायोजित षड्यन्त्र भएको आरोप लगाउनुभयो । वंशको आधारमा देशको उच्च पदमा राख्न कुनै पनि नेपाली जनता तयार नभएको उहाँको भनाइ छ ।
‘‘मुलुकलाई द्वन्द्वतर्फ लैजान कहीँ कतैबाट खेती गर्न सकिन्छ कि भन्ने प्रायोजित र षड्यन्त्रको विषय मात्रै हो । कदापी पनि नेपाली समाज कुनै वंशमा जन्मिएका कोही व्यक्तिलाई देशको सर्वोच्च आशनमा स्वीकार गरेर त्यस हिसाबले मुलुक हुकुम प्रमाङ्गीबाट चल्ने बन्दैन ।,’’ प्रमुख सचेतक बर्तौलाले ‘‘त्यो उहाँहरूले यो मुलुकको सरल ढङ्गबाट अघि बढिरहेको राजनीतिलाई स्थायीतर्फ विकास र समृद्धितर्फ त्यो पथमा अगाडि बढिरहेको देशलाई कहीँ कतैबाट डिस्टर्ब गर्न सकिन्छ कि भन्ने केही प्रतिक्रियावदी शक्ति पनि छन् । विद्यमान संविधान र व्यवस्थाको विरोधमा हुने सबै खालको गतिविधिहरूको प्रतिवाद र विरोध गर्छौं ।’’
प्रमुख सचेतक बर्ताैलाले नेपाल राष्ट्र बैँकको आन्तरिक प्रबन्ध बमोजिम भइरहेका कामका बारेमा सरकारले केही बोल्न नसक्ने बताउनुभयो ।