• २६ वैशाख २०८२, शुक्रबार

‘हामी निरोगी नेपालको महासङ्कल्पमा छौँ’

blog

केपी शर्मा ओली प्रधानमन्त्री

कुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुष्ठरोग नियन्त्रण भएको मान्नु पर्छ । यहाँ १० हजारमा एकभन्दा तलको सङ्ख्यामा यो रोग रहेको छ । तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौँ । यथार्थ के हो भने हाम्रो देशमा उन्मूलन भएको छैन ।

यस्ता कार्यक्रमले जनचेतना जगाउने कुरामा मद्दत गर्छ । खास गरी आजको कार्यक्रम कुष्ठरोग र त्यसको निवारणसम्बन्धी रहेको छ । यसमा के कस्तो कदम चाल्न आवश्यक छ, सरकारी तवरबाट के कस्ता नीति निर्माण गर्न आवश्यक छ, कानुन बनाउन आवश्यक छ, व्यावहारिक कदम कस्ता चाल्न आवश्यक छ, रोगको पहिचान र उपचारको सन्दर्भमा के गर्न जरुरी छ र सामाजिक जनचेतना र अपहेलनाबाट मानिस र प्रताडित छ, उसको पीडा कसरी हटाउने भन्ने सन्दर्भमा केही गर्नुपर्छ भन्ने एउटा साझा सङ्कल्प, अठोट र त्यसका निम्तिका प्रयासहरू अगाडि बढाउन सजिलो अवश्य पर्छ । त्यस कारण यो कार्यक्रमको आयोजना हुनु आफैँमा प्रशंसायोग्य छ । आयोजकलाई म धन्यवाद भन्न चाहन्छुु । 

अघि नै हामीले सुन्यौँ, मधेश, कोशी र लुम्बिनी प्रदेशमा यसका अलिक बढी असर छन् र केही जिल्लामा यो अलिक बढी मात्रामा छ । यस स्थितिमा हामी सन्तुष्ट हुन सक्दैनौँ । यस रोगलाई निवारण गरिछाड्ने हाम्रो प्रयासलाई अझ गतिशील र प्रभावकारी ढङ्गले अगाडि बढाउन जरुरी छ । यसका निम्ति मेरो अर्को पनि सुझाव छ, अहिलेसम्म हामी जुन ढङ्गले एलोपेथिक औषधीमा भर परिराखेका छौँ, यसलाई आयुर्वेदिक औषधीले पनि ठिक गर्न सक्ने, यसको रिसर्च हुन जरुरी छ किनभने आयुर्वेदिक औषधी भनेको प्रकृतिसँग र प्रकृतिको जीवनको इकोसिस्टमसँग सम्बन्धित छ र जुन पनि रोग लाग्छ, त्यस रोगलाई निको पार्न सक्ने कुरा फेरि प्रकृतिमै निहित छ । औषधी पनि प्रकृतिमै निहित छ । खानामै निहित छ । यसलाई खालि पत्ता लगाउन जरुरी छ, कुन चिजबाट यो रोग पैदा हुन्छ र कुन चिजबाट यो रोगको अन्त्य हुन्छ । यसको प्रयोग र परीक्षण गर्न आवश्यक छ । यसमा एलोपेथिक ढङ्गले निवारणको उपायहरू पत्ता लागेको छ तर आयुर्वेद यसमा प्रभावकारी छ । हामीले उहिलेदेखि आयुर्वेदको साहारा लिने गरेका थियौँ, अहिले अलिकति कमजोर भएको छ । यसलाई परम्परागत र आयुर्वेदिक औषधी विज्ञानको पक्षलाई विकास र रिसर्च गर्दै उपचार विधिमा जान जरुरी छ । 

हामी निरोगी नेपालको महासङ्कल्पमा छौँ । यो स्वास्थ्य क्षेत्रको महासङ्कल्प हो, निरोगी नेपाल । हामी सिङ्गै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौँ । पहिलो कुरा, नेपालमा कोही पनि रोगी र बिरामी हुँदै नहोस् । यसका निम्ति रोग लाग्ने परिस्थिति र अवस्था आउनै नपाओस् । मान्छेको स्वास्थ्य कमजोर भयो भने इम्युन सिस्टम, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । त्यस कारण मान्छेहरूको इम्युन सिस्टम नै कमजोर नहोस् । यसका निम्ति पनि उपायहरू गरौँ । खानपिन पेट भर्नका लागि मात्रै होइन, सन्तुलित खानपिन र स्वास्थ्यका लागि उपयोगी खानपिन, लाभदायी खानपिन गरौँ, जस्तो पनि होइन । स्वास्थ्यका लागि खानपिन गरौँ । हामीले आफ्नो आनीबानी पनि ठिक गर्नु पर्छ । स्वास्थ्य र स्वस्थ रहनका लागि खानपिन हो भन्ने कुरा थाहा पाउनु पर्छ । हाम्रा कतिपय आदतले पनि हामीलाई बिरामी बनाउँछ । हाम्रा आदतहरू पनि सच्याउन जरुरी छ । त्यसमध्ये खानपिनको आदत, रहनसहनको आदत सच्याउन जरुरी छ । मान्छेले कुनै पनि श्रम गरेन, व्यायाम गरेन भने मान्छे बिरामी हुन्छ, कमजोर हुन्छ, इम्युन सिस्टम कमजोर हुन्छ । ती पक्षहरू आहार सन्तुलित, समयमा, उपयुक्त, विहार, व्यायाम र काम एउटै कुरा हो । जसले पाचन प्रणालीलाई पनि ठिक गर्छ । 

आजकाल आशीर्वाद दिँदा तिम्रो पाचन प्रणाली ठिक होस् भन्ने चलन छैन । उहिले उहिले तिम्रो पाचन प्रणाली ठिक रहोस् भन्थे । स्वस्थ रहनका लागि एकदम आवश्यक छ–पाचन प्रणाली । होइन भने न भोक लाग्छ, त्यसपछि न निद्रा लाग्छ, न प्रतिरोध क्षमता हुन्छ । पाचन प्रणाली कसरी ठिक हुन्छ भन्दा प्रशस्त काम गर्‍यो, थकाइ लाग्यो, मस्त निदायो र आराम गर्‍यो, त्यसपछि पाचन प्रणाली ठिक हुन्छ । काम गरेन भने भोक लाग्दैन, खान रुच्दैन, पाचन प्रणाली ठिक हुँदैन । आन्द्राभुँडी नै चलिराखेको हुँदैन, बिस्तारै अल्छी लागेर चल्छ, कहाँबाट भोक लाग्ने ? त्यस कारण पहिलो कुरा, स्वस्थ रहने हो भने हामी हरेक आफैँ पनि सचेत हुन जरुरी छ । हामी सचेत रहेर आफ्नो स्वास्थ्यलाई कसरी मेन्टेन गर्ने । फेरि पनि कुनै न कुनै रोग ट्रमा जस्ता आइपर्न सक्छन् । धेरै कुरा त आइनपर्ने विधि गर्न सकिन्छ । शरीरका सबै बाह्य र आन्तरिक अङ्ग प्रत्यङ्ग अवयवलाई स्वस्थ र तन्दुरुस्त राख्ने उपाय छन्, तिनीहरूलाई अपनाउन सकिन्छ, काबुबाहिरको परिस्थिति परेन भने । जस्तो मेरो किड्नी किन खराब भयोभन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ ? चिसो गोलघरभित्र भुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठिक हुन्छ । नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर केटनस आदि इत्यादि भएन संयोगको कुरा हो । त्यसबेला दिनको ७५ पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस् मरमसला किन्नुस्, साबुन किन्नुस्, मञ्जन किन्नुस्, ब्रस किन्नुस् भनेर । दाँत हामी कसरी सफा गर्दथ्यौँ भने एउटा ब्रस किन्यो, त्यो पनि महँगो किन्न सकिँदैनथ्यो, सस्तो किन्यो । दुई चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ ! ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दाँतमा जुन पथ्र्याे, त्यसमा ब्रसको फेदको भाग पथ्र्याे । दाँत नै सफा गर्न सकिँदैनथ्यो । मुख बाङ्गो पारिपारिकन ब्रस गर्नु पथ्र्याे । टुथपेस्टको ट्युब हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदानिर्चोदा...! नयाँ किनौँ पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ ! खैर ती दिन नसम्झिऔँ, सम्झिँदा अलिअलि रमाइलो पनि लाग्छ तर त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनु ? मलाई क्षयरोग लाग्यो । औषधी छैन, खाना छैन, अल्सर भयो, औषधी छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनु ? पेटभरि घाउ भएर दुखेर असह्य हुन्छ । भतभती पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदा खाँदा किड्नी फेल नभएर के हुन्छ त ! मेरो किड्नी फेल हुनुको अर्थ पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जेसुकै भए पनि के गर्ने ! 

अहिले बाँचिहालौँ, पेन किलरको असरपछि हेरौँला भनेर । यस्ता काबुबाहिरका परिस्थिति बेग्लै कुरा हो, काबुका परिस्थिति त्यसबेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गथ्र्याैं । त्यहाँभित्र व्यायाम गर्ने, व्यायाम गर्ने पनि हबिगत हुँदैनथ्यो । त्यही पनि स्वास्थ्य जोगाउन हामी कोसिस गथ्र्याैं । हामी हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नु पर्छ तर कुष्ठरोग कतिबेला सर्छ थाहा हुँदैन । यो सुरुमा त यो पैदा हुन्छ । के कारणले पैदा हुन्छ, त्यो पत्ता लगाउन र त्यो पैदा नहोस् भन्ने कुराका लागि हामीले कुनै भ्याक्सिन पो तयार गर्न सक्छौँ कि अथवा तयार भएपछि पत्ता लाग्यो भने तुरुन्त उपचार सुरु गर्नु पर्छ । एउटा ‘ह्याभोब’ के भने, हामीले उपचार सुरु गर्‍यौँ भने सुरु गरेपछि त्यसको निको हुने प्रक्रिया सुरु हुन्छ । निको हुने प्रक्रिया थोरै अगाडि बढ्नेबित्तिकै त्यसको सरुवापन जुन हुन्छ, सङ्क्रमणकारी प्रवृत्ति त्यो कमजोर भइहाल्छ र सर्न छोड्छ । अलिक समय औषधी खाएपछि सर्न छोड्छ र त्यो सङ्क्रामक रोग हुँदैन । औषधी नखाँदा त्यो सङ्क्रामक हुन्छ, खास गरी परिवारलाई र निकटका व्यक्तिलाई सर्ने खालको हुन सक्छ । त्यसै कारण मान्छे तर्सिन्छ । अब यहाँ कानुनी प्रबन्धदेखि सामाजिक बहिष्कारदेखि हेलाहोचाका कुराहरूलाई रोक्नु पर्छ । पहिला ठुला सङ्ख्यामा कुष्ठरोग थियो, पछि औषधी खाएर नसर्ने भइसक्यो र निको भइसक्यो । निको भइसकेपछि पनि मान्छेले एक समय कुष्ठरोग थियो भन्ने थाहा पायो भने हेलाहोचो गर्छ । सँगै बस्न र अनेक हिसाबले अप्ठ्यारो मान्छ । त्यसको कुनै जरुरी छैन, त्यो निको भइसकेपछि केही फरक हुँदैन । उस्तै हो उहिले थियो, अहिले छैन । बिरामी थियो तर अहिले छैन । त्यस कारण हेलाहोचो गर्नु पर्ने त्यस्तो छैन । कानुनमा केही कुरा स्पष्ट पार्नु पर्ने अझै हुन सक्छन् । ती कुरालाई हामी हेर्छौं । कसरी कानुनलाई व्यावहारिक, उचित र उपयुक्त कानुन निर्माण गर्ने, जसबाट बहिष्करण, हेलाहोचो जस्ता कुराहरू नहोउन् । अर्को, यस्तो पनि गर्नु हुँदैन, जसबाट सङ्क्रमण फैलियोस् । सङ्क्रमण नफैलिने र हेलाहोचो नहुने यो दुई वटै स्थितिको सन्तुलन हामीले कायम गर्नु पर्छ र अगाडि बढ्नु पर्छ । 

हामी सबै रोगको निदान मात्रै होइन कि निवारण चाहन्छौँ । त्यो प्रकट भइसकेपछि होइन कि त्यो देशबाटै उन्मूलन होस् । उहिले बिफरको एउटा लहर आउँथ्यो, त्यो लहर आएपछि त्यसले हरेक वर्ष ठुलो सङ्ख्यामा जनसङ्ख्यालाई समाप्त पारेर लिएर जान्थ्यो । आज हामीले बिफर उन्मूलन गरेका छौँ । मेरो आमा बित्नु हुँदा २२ वर्षको हुनुहुन्थ्यो, म तीन वर्षको थिएँ । आमा बिफरको कारणले बित्नुभएको थियो, आज बिफर थिएन । मैले आमा बिफरले बित्नुभएको भन्ने थाहा पाएपछि बिफरसँग मेरो यस्तो दुश्मनी भयो कि स्कुलमा भ्याक्सिन आयो भने म गाउँगाउँमा पनि त्यो भ्याक्सिन लिएर जान खोज्थेँ र लिएर पनि जान्थेँ । ग्रामीण चेतनाको स्तर के थियो भने मेरो घरभन्दा परतिर बाटो थियो र बाटोभन्दा परितिर एउटा बस्ती थियो । झापा जिल्लामा स्थानीय आदिवासीको । त्यहाँ हरेक वर्ष केही व्यक्तिको बिफरका कारणले निधन हुन्थ्यो । उनीहरू खोप लगाउन नमान्ने, खोप नलगाएपछि कच्चा अवस्थामा बिफर लाग्थ्यो । पहिला नलागेका मान्छे थिए भने तिनीहरूलाई त लाग्यो लाग्यो । बिफर लागिसकेकालाई बरु लाग्दैन, नलागेकालाई लाग्यो लाग्यो र केही मान्छे जान्थे । मैले भ्याक्सिन लिएर गाउँमा आउँदै छु भन्ने थाहा पाएपछि गाउँका मान्छेहरू गाउँ छोडेर भागे । बालबच्चा च्यापेर अलिक टाढा अर्को गाउँमा गएछन् । म बेलुका गएर सम्झाउन खोजेँ, यस्तो हो बाँचिन्छ भनेर तर मानेनन् । मैले भनेँ, मेरो कबुल र प्रतिबद्धता भयो कि तपाईंहरूलाई भ्याक्सिन लगाइँदैन, तपाईंहरू गाउँमा गएर बस्नुस् । त्यो ग्यारेन्टी गरेपछि उनीहरू बल्ल गाउँमा फर्किए । त्यत्रो आतङ्क थियो कि खोप लगायो भने भगवान् रिसाउँछन् र हामी बर्बाद हुन्छौँ भन्ने । फेरि त्यही वर्षमा केही मान्छे त्यहीँ गाउँमा बिते । मैले धेरै कोसिस गर्नु पर्‍यो कि हामीले भ्याक्सिन लगायौँ, तपाईंहरूले लगाउनुभएन, यताको गाउँमा सरेन, यताको गाउँमा रोग आएन, यताको गाउँमा आयो, तपाईंहरूकोमा मान्छे यसरी मरे अब भ्याक्सिन लगाउनु पर्छ भनेपछि बल्ल बिफर निवारण भयो । यस्ता उपायहरू हामी धेरैले गर्‍यौँ होला । तराईमा मलेरियाले भुसुक्कै मान्छे मर्दथे । मलेरिया उन्मूलन भयो । त्यस कारण उन्मूलन गर्न सकिन्छ । निको नहुने रोग कुनै छैन । निको नहुने स्टेजमा पुग्यो भने मात्रै बेग्लै कुरा हो नत्र भने निको नहुने रोग भनेको कुनै छैन । सबै रोग निको हुन्छ र हामी निको पार्न सक्छौँ । 

यस सन्दर्भमा सरकारले गरेका प्रयासहरू बहुत राम्रा छन् । स्याङ्जाको मालुङ्गा हो क्यार ठाउँको नाम, मालुङ्गामा लेप्रोसी क्याम्प थियो । लेप्रोसीका बिरामीहरूलाई निको पार्ने क्याम्प खडा गरिएको थियो । मलाई २०३९ सालमा काठमाडौँबाट पोखरा जेलमा लगियो । मालुङ्गा गाउँतिरका मानिसहरू त्यहाँ थिए र त्यसमध्ये एक दुई जना लेप्रोसी सङ्क्रमित पनि थिए । उनीहरूलाई लेप्रोसी थियो र त्यही उनीहरूलाई औषधी पनि दिइन्थ्यो । मैले उनीहरूबाट लेप्रोसीका सम्बन्धमा यथार्थ जान्ने मौका पाएँ । यो कस्तो हो र कस्तो अवस्थामा सर्छ, सर्दैन । लेप्रोसी हटिसकेको थिएन तर उनीहरू सङ्क्रामक अवस्थाबाट मुक्त भइसकेका थिए । सङ्क्रामक अवस्था टरिसकेको थियो किनभने निको हुने प्रक्रिया निकै अगाडि बढिसकेको थियो र सङ्क्रामक अवस्था थिएन । त्यो रोगका कीटाणुुहरू कमजोर भइसकेका थिए । यसलाई निको पार्न नसकिने होइन, यो अनिवार्य रूपमा निको हुन्छ । जति छिप्पिएको छ, त्यति समय लाग्ने हो । सुरुमै भयो भने अलिक छिट्टै निको हुन्छ । जुन अङ्गभङ्ग भएको छ, त्यो फेरि कियोर हुने कुरा त भएन । त्यो गएको गइहाल्यो । त्यसले हात खुट्टाका औलाहरू झर्ने अनेक चिज हुन्छ । अझ बढ्दै गयो भने यसले धेरै बिगार्न सक्छ, मान्छेलाई चल्न नसक्ने, अशक्त बनाउने र अझै माथितिर फैलिँदै आउने पनि हुन सक्छ । त्यस कारण यसलाई समयमै उपचार गर्‍यो भने थाहा पाउनेबित्तिकै, अलिकति घाउ हुनेबित्तिकै र त्यसको सेन्सेसन छैन भन्ने थाहा पाउन सजिलो छ कि सेन्सेसन छैन भनेपछि यो कुष्ठ रोग हो भनेर थाहा पाउन सकिन्छ । टुप्पामा कुष्ठ रोग लागेको छ अरू बढी सेन्सेसन हुँदैन । छँदा थाहा पाइएन भने यो कुष्ठरोग भएछ भन्ने कुरा थाहा पाउन सकिन्छ । त्यस कारण छिटै परीक्षण गरेर छिटै उपचार गर्ने । त्यो सर्वसाधारणले पनि थाहा पाउन सक्छ । छुँदा थाहा पाइएन, सेन्सेसन भएन भने त्यो कुष्ठरोग हो, त्यस कारण उपचार गराउँ भन्ने यति जानकारी कमसेकम सर्वसाधारणमा हामीले पुर्‍याउनु पर्छ ताकि हामी आफैँले रोग चिनेर उसले उपचार गराउन सकोस् । यसो भएपछि यस रोगको हामी केही वर्षभित्रमा उन्मूलन गर्न सक्छौँ । 

आजको यस भेलामा यसका आयोजक संस्थाहरूको यो सक्रियता रहोस् । तपाईंहरूले यथार्थ यसमा घटाउन र बढाउनु पर्ने आवश्यकता छैन । नबढाइकन र नघटाइकन यथार्थ वर्णन विभिन्न रेडियो, पत्रपत्रिका, टेलिभिजनबाट अनुरोध गरेर पनि तपाईंहरूले जनचेतना जगाउनुभयो र स्वास्थ्य मन्त्रालयले यस सम्बन्धमा सञ्चार मन्त्रालयसँग परामर्श गरेर अथवा मिडिया हाउससँग परामर्श गरेर यस सम्बन्धमा सहकार्य पनि गर्न सक्छ र जागरण अभियान विशेष ढङ्गले चलाउन सकिन्छ । देशभरिका मान्छेलाई यस सम्बन्धमा जानकारी गराउन सकिन्छ । जहाँ टेलिभिजन छैन, त्यहाँ समाचारबाट हुन सक्छ । 

आज मोबाइलको जमाना छ । मोबाइललाई प्रयोग गरेर यससम्बन्धी जनचेतना जगाउन सकिन्छ । त्यसो भएर यसलाई विभिन्न ढङ्गले जनचेतना जागरण गर्ने कुरा र ताकि यो सर्न र फैलिन नपाओस्, सरिहाल्यो, फैलिहाल्यो वा रोग प्रकट भइहाल्यो भने, कसैमा देखा परिहाल्यो भने यसलाई समयमै पहिचान गरेर उपचार गर्न सकियोस् । मैले अघि नै भनेँ, यसको निदान गाह्रो छैन र कुष्ठ रोग हो भनेर पत्ता लगाउन सजिलो छ । यो आफैँले घरमा पत्ता लगाउन सकिने कुरा हो । त्यस कारण खालि जनतामा यसो भयो भने कुष्ठरोग हुने रहेछ भनेर चेतना जगायो भने मात्रै त्यो पत्ता लागिहाल्छ । रोग लुकाउनु हुन्न भन्ने कुरा हामीले बुझाउन जरुरी छ । किनभने लुकायो कि निकै धेरै वर्ष औषधी खानु पर्छ । हात खुट्टाका औँलाहरू झर्न सक्छन् । विभिन्न जोर्नी विकृत हुन सक्छन् । त्यस कारण यसलाई ठिक ढङ्गले लान जरुरी हुन्छ । यसो भएर यी चेतनाका कुराहरू फैलाउने र अगाडि बढाउने हामीले गर्‍यौँ भने यसलाई अन्त्य गर्न, निवारण र उन्मूलन गर्न सम्भव छ । त्यस कारण यस सन्दर्भमा हाम्रो साथमा आज औषधी छ । सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो । औषधी भनेको कुष्ठरोगको काल हो, त्यसले सिध्याएर छोड्छ । त्यो हामीसँग छँदै छ । खालि बिरामी र औषधीको भेट गराउनु हो । बिरामीलाई नियमित औषधी सेवन गरुन् भनेर सिकाउनु पर्छ । औषधीमा तलमाथि नहोस्, नियमित औषधी सेवन गरुन् । मात्रा जे बताइएको छ, त्यस अनुसार सेवन गरुन । किनभने यो अस्पतालमा बसेर गराउने उपचार पनि होइन, यो घरमै बसेर गर्ने उपचार हो, लामो समय लाग्छ । खालि औषधी खाने हो । त्यस कारण अस्पतालभन्दा घरमै बसेर गर्ने हो । त्यस कारण बिरामी आफैँ सजग हुनु पर्छ र बिरामीलाई के थाहा हुनु पर्छ भने सजगता भएन भने यो विकराल रूप लिने खतरा हुन्छ र यसले ठुलो विनाश गर्छ । त्यस कारण बिरामी अत्यन्त सजग हुनु पर्छ । 

खास गरी बिमार पत्ता लागेपछि सजग हुनु पर्छ । औषधी प्राप्त भएपछि औषधी खानु पर्छ र औषधीमा पैसा लाग्दैन, निःशुल्क उपचार हुन्छ । यसको निःशुल्क उपचार हुन्छ, निःशुुल्क औषधी पाइन्छ । त्यस कारण यो खर्चिलो उपचार र पैसा छैन भन्ने स्थिति होइन । निःशुल्क उपचार सरकारले उपलब्ध गराउँछ । औषधी सेवन गर्ने हो, छुँदा थाहा पाइएन भने लेप्रोसी भन्ने थाहा हुन्छ र आफैँले थाहा पाइन्छ । अस्पतालमा चिकित्सकलाई देखाएर औषधी लिन पाइन्छ । औषधी यति समयका लागि लिएर जाने र फेरि ल्याउने, अलिक टाढा छ भने अर्को व्यक्ति अस्पतालमा गएको छ भने प्रेस्किप्सन पठाएर त्यसमार्फत पनि औषधी झिकाउन सकिन्छ । त्यस कारण यो धेरै गाह्रो कुरा होइन, यसलाई निको पार्न सकिन्छ । जनचेतना, सामाजिक सहयोग, सद्भाव र सरकारको अभियान र सरकारले अलिकति ध्यान दिनु प¥यो । यसै क्षेत्रमा विभिन्न सङ्घ संस्था लागिरहनु भएकै छ । सङ्घ संस्थाहरूको सक्रियतालाई प्रभावकारी कसरी बनाउने, त्यो डेडिकेसनलाई उपलब्धिमूलक कसरी बनाउने भनेर लागिरहेका सङ्घ संस्थाहरूले ध्यान दिन जरुरी छ । 

समाजलाई निरोगी बनाउनका लागि, स्वस्थ समाज निर्माण गर्नका लागि यति धेरै साथी यहाँ उपस्थित हुनुहुन्छ । यसमध्ये कतिपय साथी अहिले पनि कुष्ठरोग लागिरहेका साथीहरू कतिपय निको भइसकेका साथीहरू पनि हुन सक्नुहुन्छ । निको भइसकेका साथीहरूले निको नभइसकेका साथीहरूलाई प्रेरणा र हौसला दिनु पर्छ कि कसरी निको भयो भनेर । निको हुन्छ, मलाई पनि पहिला थियो, मैले निको पारे भनेर मान्छेलाई त्यो कुरा बताउनु पर्छ । त्यो बताएपछि मान्छे उत्साहित भएर त्यसको निराकरणमा लाग्छ । फेरि एक पटक म सबै आयोजकलाई धन्यवाद भन्न चाहन्छु ।  

(प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल कुष्ठरोग सम्मेलनका अवसरमा व्यक्त गर्नुभएको सम्बोधनको पूर्ण पाठ)