• २५ वैशाख २०८२, बिहिबार

विमानस्थलको जग्गा अधिग्रहणमा दुई करोड निकासा

blog

जुम्ला विमानस्थल । तस्बिर : नौरते नेपाली

नौरत नेपाली
सिँजा (जुम्ला), वैशाख २५ गते ।
जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुलेको छ । वर्षैदेखि स्तरोन्नति हुने भनिए पनि विभिन्न कारणले विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो ।

सरकारले जगा अधिग्रहणका लागि पहिलो किस्ता बापत दुई करोड रुपियाँ निकासा गरेसँगै विमानस्थल विस्तारको बाटो खुलेको प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवालले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र जुम्ला विमान स्थलको जग्गा अधिग्रहणका लागि १० करोड स्रोत सुनिश्चित भएको थियो ।

कार्यान्वयन नभएपछि एयरपोर्ट विस्तार हुने आस जुम्लावासीले मारिसकेका थिए । चन्दननाथ नगरपालिकाको नगर प्रमुखकै कार्यकालका बेला विमान स्थल विस्तारका लागि पहल गर्दै आउनु भएका सांसद सेजुवालले जगा अधिग्रहण गर्न पहिलो किस्तामा दुई करोड़ निकासा भएपछि केही आशा पलाएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विमानस्थल विस्तारका लागि अन्य राजनीति दलका प्रतिनिधिको पहल भए पनि मेरो २०७४ देखिको संघर्ष छ ।’’ गत वैशाख ९ मै अर्थबाट रकम निकासा भइसकेको उहाँको भनाइ छ ।

विनियोजन भएभन्दा निकासा रकम कम भएको थाहा पाएपछि अर्थ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) पदाधिकारीबिच चर्काचर्की गर्नुपरेको उहाँ बताउनुहुन्छ । करोड एकैमुष्ठ पठाइने भनिएको थियो । तर, सबै ठाउँका विमान स्थलमा निकासा दिनुपर्ने भएकोले पहिलो किस्ता दुई करोड निकासा भएको र बाँकी बजेट एक÷डेढ महिनाभित्रै निकासा हुने सांसद सेजुवालले बताउनुभयो ।

यो महिनाभित्र बाँकी आठ करोड निकासा गर्न लागि सबै पक्षसँग छलफल भइसकेको छ र क्यानले विवरण पठाउन भनिसकेकाले क्यानवाट बजेट मागको पत्र अर्थमा पठाउने तयारी छ । विमानस्थल विस्तारको विषय लामो समयदेखि चर्चामा रहे पनि परिणाम नदेखिएपछि नागरिकले विश्वासै गर्न छाडेका थिए ।

विमानस्थल विस्तार प्रक्रिया सुरु हुने हल्लासँगै राजनीतिक दल पिच्छेका नेताले श्रेय लिने होडवाजीका कारण रोकिँदै आएको थियो ।