गुणबहादुर रोका
सुलीकोट, वैशाख २५ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ छाक र गप जोड्ने गप्सा खोलामाथि २४७ मिटर लामो झलुङ्गे पुल निर्माण समपन्न भएको छ ।
तीन वर्षदेखि निर्माण गर्न सुरु भएको सो पुल समपन्न गर्नुपर्ने समय सिमाभन्दा ३ महिनाअघि नै समपन्न भएको पूर्वाधार कार्यालय गोरखका प्रमुख गणेश सुबेदीले जानकारी दिनुभयो ।
चुमनुब्री गाउँपालिका ४ छाक र गप झलुङ्गे पुलले जोडिएपछि सो क्षेत्रका सयौँ स्थानीय खुशी भएका छन् । पुल निर्माण नहुन्जेल क्वाकका बासिन्दालाई गप बजार तथा मुलबाटोसम्म झर्न निकै असहज भएको वडा अध्यक्ष पेमा ग्याल्बो लामाले बताउनुभयो ।
पुल निर्माण हुनुभन्दा अघि स्थानीयहरु निकै जोखिमा मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो, वडा अध्यक्ष पेमा ग्याल्बो लामाले भन्नुभयो, “उक्त पुल निर्माण समपन्न भएपछि छाकका ४०–५० घर धुरीलाई गपसम्म झर्न सहज भएको छ ।”
पुल नबन्दासम्म स्थानीयहरुले पुल निर्माण भएको ठाउँबाट ढुक्क भएर हिँड्न नसक्ने अवस्था थियो, वडा अध्यक्ष लामाले भन्नुभयो, “पुल निर्माण नहुदाँसम्म माथि धेरै ठुलो भीरबाट खसेको ढुङ्गाले मान्छेको मृत्यु र घाईते हुनेको सङ्ख्या धेरै नै हुने गरेकोमा अहिले भने त्यो समस्या हटेको छ ।”
निकै लामो मिहिनेतपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत पूर्वाधार कार्यालय गोरखामार्फत् २०७८ साल भदौ १२ गते मनास्लु बिएलटी जेभी कम्पनीसँग तीन करोड २० लाख ९१ हजारमा २०८२ साल भदौ ११ गते सम्पन्न हुने गरी समझौता भएर काम अघि बढी ३ महिना अगाबै पुल निर्माण समपन्न भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।
उहाँका अनुसार पुल निर्माण भएसँगै जोखिम युक्त बाटो हिँड्नु पर्ने बाध्यता हटेको छ भने माथि भीरको जङ्गलमा चरेका झारलबाट ढुङ्गाहरु खसेर कुनै असर नपर्ने स्थानीय लाक्पा लामाको भनाइ छ । पुल निर्माण भएसँगै उत्तरी गोरखाका ३ हजार स्थानीयहरु हर्षित भएका छन् ।