• २५ वैशाख २०८२, बिहिबार

प्राथमिकता निर्धारण गरी कुष्ठरोग नियन्त्रणमा लागौँः स्वास्थ्यमन्त्री

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राथमिकतालाई प्रभावकारी ढङ्गबाट निर्धारण गरेर अघि बढ्न नसकेको स्वीकार गर्दै आगामी दिनमा प्रभावकारी बन्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्री पौडेलले कुष्ठरोग नियन्त्रणका लागि आवश्यक रणनीति अख्तियार गर्न नसकेको जानकारी दिनुभयो । उहाँले परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न नसकेको भन्दै कतिपय कुराहरु कानुनमा भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । नेपालको योजनाको खाका नेपालले नै बनाउनुपर्ने र प्राथमिकताहरु तय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

‘‘हामीले प्राथमिकतालाई प्रभावकारी ढङ्गबाट निर्धारण गरेर अघि बढ्न सकेका छैनौँ । थुप्रै काम गरेका छौँ । तर यति धेरैको सहकार्य हुँदा यसको गति बढ्नुपर्ने हो । अलि परिणाममुखी हुनुपर्ने हो । त्यहाँ तालमेल मिलिरहेको छैन । आवश्यक रणनीति अख्तियार गर्न सकिएको छैन । परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न सकिएको छैन । कतिपय कुरा कानुनमा छ, कार्यान्वयन हुन सकेको छैन ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘कानुन पनि अपूर्ण भएको स्थिति छ । यो सबै पक्षलाई ख्याल गरेर हामी त्यस ढङ्गबाट अघि बढौँ । हाम्रो डोनर पार्टनरहरुलाई पनि हाम्रो प्राथमिकता यो हो । यसमा तपाईंहरुले सहयोग गर्नुपर्छ भनौँ । हाम्रो योजनाको खाका हामीले बनाउनुपर्छ । हाम्रो बाटो, प्राथमिकता हामीले नै तय गर्नुपर्छ ।’’

मन्त्री पौडेलले २०३० मा कुष्ठरोग नेपालबाट सम्पूर्ण रुपमा सधैँका लागि उन्मुलन हुने अठोट सम्मेलनले गर्न जरुरी रहेको बताउनुभयो ।