काठमाडौँ, वैशाख २५ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले विभिन्न समसामियक विषयमा आफ्ना धारणा राख्नुभएको छ ।
सांसद भगवती चौधरीले सुनसरीको गढी गाउँपालिका पर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले यथेष्ट बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । सांसद भानुभक्त जोशीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सबै संरचना तयार भइसकेकाले छिटो विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।
सांसद भीमप्रसाद आचार्यले तिलौराकोट उत्खनन र पुनःनिर्माणको पर्खाइमा रहेकाले सरकारी पहल बढाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद मनिष झाले जनकपुरधाममा परिकल्पना गरिएको अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माणकार्य ढिलो भएकाले यथासक्य छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका र सामसी गाउँपालिका खडेरीको चपेटामा परेको उल्लेख गर्दै त्यहाँ सिँचाइ व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गर्न सांसद महेन्द्रकुमार रायले ध्यानाकर्षण गराउनुभयो ।
त्यसैगरी सांसद महेशकुमार बर्तौला नेपालमा पनि स्मार्ट सार्वजनिक यातायातको रूपमा ‘पोडवे’ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले हेटौँडा–काठमाडौँको बन्द भएको ‘रोपवे’कै संरचनालाई आधारमान्दै त्यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद महेश बस्नेतले मुलुकको पहाडी जिल्लाको सुख्खाग्रस्त विभिन्न स्थानमा लिफ्ट खानेपानी प्रणाली सञ्चालन भएपनि यसको विद्युत महसुल महङ्गो भएकाले खानेपानी प्रयोगको हकमा विद्युत् महसुल कम गर्नुपर्ने बताउनुभयो ।
सांसद माधव सापकोटाले धान रोप्ने तयारी भएको समयमा किसानले पर्याप्त मल नपाएको भन्दै मलको व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले किसानले बेचेको दूधको पैसा डिडिसीले छ महिनादेखि नदिएकाले तत्काल किसानलाई भुक्तानी दिइयोस् भन्नुभयो ।
सांसल मीना तामाङ र मुक्ताकुमारी यादवले भारत र पाकिस्तानबिच तनावको स्थिति सिर्जना भएको र त्यसको प्रभाव नेपाललाई पनि पर्नसक्ने भएको चर्चा गर्र्दै आफ्ना नागरिकको जिउज्यानको सुरक्षाका पक्षमा आपसी सहमतिका साथ सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद मेनकाकुमारी पोखरेलले लागुऔषध कारोबारमा युवाको बढी संलग्नता पाइएकाले त्यसतर्फ बेलैमा ध्यान अनुरोध गर्नुभयो । सांसद रञ्जुकुमारी झाले आउँदो बजेटमा बालबालिकाको लागि पोषणभत्ता बढाउनुपर्ने माग गर्नुभयो ।
शून्य समयमा सांसद रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, योगेन्द्र मण्डल, राजेन्द्रकुमार राई, मनबहादुर गुरुङ र रमा कोइराला पौड्यालले विभिन्न समसामयिक विषय सदनको ध्यानाकर्षण गर्नुभएको थियो ।रासस