काठमाडौँ, वैशाख २५ गते । नेपाली चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ । काठमाडौँको एक सिनेमा हलमा प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
चलचित्र हेर्न पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको र हेर्न लायक रहेको बताउनुभयो । उहाँले नेपाली चलचित्रहरू एकपछि अर्को हेर्न लायक र प्रगति उन्मुख रहेकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘चलचित्र एकदमै राम्रो छ । हेर्न लायक छ । नेपाली चलचित्रहरू एकपछि अर्को हेर्न लायक र प्रगति उन्मुख छन् । धेरै खुसी लागेको छ ।’’
चलचित्र हेर्न पुग्नुभएको उपसभामुख इन्दिरा रानाले चलचित्र वास्तविक कथावस्तुमा आधारित रहेर बनाइएको बताउनुभयो । उहाँले अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘फिल्म वास्तविक कथामा आधारित रहेको छ । अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको छ ।’’
त्यस्तै, अभिनेता विल्सनविक्रम राईले चलचित्र वैशाख २६ गतेदेखि सिनेमा घरहरूमा आउने बताउँदै चलचित्रले मनमस्तिष्कमा छाप छोड्ने बताउनुभयो । अभिनेत्री रिमा विश्वकर्मा र केकी अधिकारीले चलचित्र राम्रो र गुणस्तरीय रहेको र नेपाली फिल्म क्षेत्रकै लागि गर्व गर्न लायकको चलचित्र बनेको दाबी गर्नुभयो ।
चलचित्र हेर्न छुटाउन नहुने उहाँहरूको सुझाव छ । अभिनेता विपिन कार्कीले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र चलचित्रले मन छुने दाबी गर्नुभयो । साथै वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह गर्नुभयो । अभिनेत्री मिरुना मगरले सकारात्मक प्रतिक्रिया पाइरहेको र दर्शकको मायाबाट आगामी दिनमा अझ राम्रो गर्दै जाने बताउनुभयो ।
वैशाख २६ गते शुक्रबारबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्य भुमिकामा हुनुहुन्छ । अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्नुभएको छ ।