• २५ वैशाख २०८२, बिहिबार

दाङमा प्रथम खुला पुरुष 'खोखो' प्रतियोगिता हुने

blog

गोकर्ण पौडेल 

तुलसीपुर ,वैशाख २५ गते । दाङ जिल्लामा पहिलो पटक प्रथम खुला 'खोखो' प्रतियोगिता सुरु भएको छ । 'खोखो' सङ्घ दाङको आयोजनामा प्रथम खुला पुरुष खो खो प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा वैशाख २६ गतेदेखि सुरु हुने भएको हो । 

पत्रकार सम्मेलनमा सङ्घका जिल्ला अध्यक्ष बालकृष्ण शाहले दिनुभए अनुसार प्रतियोगितामा सात वटै प्रदेश र विभागीय टोली गरी आठ वटा टीमले भाग लिने छन् । वैशाख २९  गते नेपाल र भारतका खो खो खेलाडीबिच मैत्रीपूर्ण खेल पनि आयोजना हुने भएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन र व्यवस्थापनका लागि २७ लाख ६० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका गर्नका लागि लुम्बिनी प्रदेश खेलकुद परिषद् र तुलसीपुर उपमहानगरपालिकाले सहयोग गर्ने भएको अध्यक्ष शाहले बताउनुभयो । 

'खोखो' संघका केन्द्रीय सदस्य एवम प्रशिक्षक उषा कुवरले पछिल्लो पटक नेपालले खोखो खेलमा अन्तराष्ट्रियस्तरमै उत्कृष्ट खेल प्रदर्शन गरेकाले खेलको विकास, प्रवर्धन गर्नका लागि जिल्लामा प्रतियोगिता आयोजना गर्न थालिएको बताउनुभयो ।