यदुप्रसाद भट्ट
मनाङ, वैशाख २५ गते । मनाङका नासोँ गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने तीन वटा पक्की मोटरेबल पुल नौ वर्षदेखि ठेकेदारको लापरबाहीका कारण अलपत्र परेका थिए । नासोँ गाउँपालिका–६ र ७ नं वडा जोड्ने मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमै सकस हुने गरेको थियो । सधैँ बनाउँछु मात्रै भन्ने ठेकेदारले यसपालि फेरि जेठ महिनाभित्रमै पुल बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
२०७३ साल असारमा पुल निर्माण गर्न तत्कालीन जिल्ला विकास समितिले द क्याराभान निर्माण कम्पनीलाई ठेक्कामा दिएको थियो । सो कम्पनीलाई २०७४ सालमा सम्पन्न गर्ने गरी ठेक्का दिइएकामा नौ वर्षपछि निर्माण हुने भएको छ ।
नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले थोँचे तिल्चे जोड्ने दुधखोलाको मोटरेबल पुलको एक कार्यक्रमबिच औपचारिक रूपमा शिलान्यास गर्नुभएको छ । उहाँले नौ वर्षसम्म अलपत्र परेको पुल बन्ने भएपछि आशाको किरण छाएको प्रतिक्रिया दिनुभएको छ । नासोँ–५ का वडाध्यक्ष थुतेन लामाले पनि पुल बन्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो । उहाँले पुल बनेपछि थोँचे तिल्चे वारपार गर्न सहज हुने बताउनुभयो ।
कहिले के त कहिले के कारण देखाउँदै ठेकेदारले काम गर्न आलटाल गरिरहँदा मनाङी पुल बन्नेमा विश्वस्त थिएनन् तर गाउँपालिका अध्यक्षले नै शिलान्यास गरेपछि विश्वास गर्न कर लागेको स्थानीय रामबहादुर गुरुङले प्रतिक्रिया दिनुभयो । नासोँ–६ र ७ नं वडा जोड्ने मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमै सकस हुने गरेको थियो भने मोटर तार्न र स्थानीयलाई आवतजावतका लागि काठको साँघु बनाउनुपर्ने बाध्यता थियो । सदरमुकाम चामेबाट गाउँ जाने बाटोमा पर्ने दुधखोलामा हरेक वर्ष मनसुन सक्रिय भएपछि तिल्चेवासी काठको पुल भत्काएर आवतजावत गर्थे । हिउँदमा गाउँवासी मिलेर झारा उठाएर बनाएको पुल वर्षा लागेपछि झिकेर राख्ने गरेको स्थानीय गुणराज गुरुङले बताउनुभयो । अघिल्लो वर्ष स्थानीय सरकार र गाउँलेले चार लाखभन्दा बढी खर्च गरी पुल निर्माण गरेका थिए ।
२०७३ साल असार २० मा एमएस सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले संयुक्त ठेक्का सम्झौता गरेका थिए । २०७४ साल मङ्सिर २३ गतेसम्म पुल निर्माण गरिसक्नुपर्नेमा ३० प्रतिशत हाराहारी मात्र काम सकिएको थियो ।
सङ्घीयता लागु भएपछि अहिले पुलको स्वामित्व पूर्वाधार विकास कार्यालयमा सरेको छ । सम्झौता अनुसारको मितिमा पुल नबनेपछि २०७७ साल असार २९ मा निर्माण सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप भएको थियो । जिल्ला प्रशासन कार्यालयले त्यसअघि पटक पटक बैठक राखेर पुल बनाउन निर्देशन दिएको थियो । थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि पुनः २०७८ चैत मसान्तसम्ममा सक्ने गरी दोस्रो पटक म्याद थप भएको थियो ।
ठेकेदारले दुईतिर पिल्लर मात्र ठड्याएर करिब दुई करोड निकासा लगिसकेका छन् । अन्तिम पटक क्याराभानका अध्यक्ष चन्द्र थकालीले जेठ एक महिनाभित्रमा पुल बनाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जेठ महिनाभित्रमा जसरी पनि पुल बनाइसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “पहिला मेरै कारणले मनाङीले दुःख पाए, मेरो सानो लापर्बाहीले गर्दा धेरैलाई अफ्ठेरो पर्यो, अब त्यस्तो हुँदैन, जसरी पनि पुल बन्छ ।”