वालिङ समाचारदाता
वालिङ (स्याङ्जा), वैशाख २५ गते । एक हप्तादेखि दिनहुँ वर्षा भइरहे पनि स्याङ्जामा आगलागी नियन्त्रणमा आउन सकेको छैन । केही दिनयता जिल्लाका विभिन्न स्थानमा आगलागी भएका छन् । आगलागीले घर, गोठ जलेका छन् भने वनजङ्गलमा आगलागी हुँदा वन्यजन्तु मर्ने र खानेपानीका पाइप जलेर नष्ट भएका छन् ।
पछिल्लो समय सामुदायिक र राष्ट्रिय वनको तुलनामा व्यक्तिगत सम्पत्तिमा आगलागीले ठुलो क्षति पु¥याएको छ । चालु वर्षको हालसम्म जिल्लामा १७ स्थानमा आगलागी हुँदा २०६ हेक्टर जङ्गल जलेर नष्ट भएको छ । गत वर्षको सोही अवधिमा ११३ स्थानमा आगलागी हुँदा एक हजार ८०८ हेक्टर जङ्गल जलेर नष्ट भएको वन कार्यालयले जनाएको छ ।
पछिल्लो एक हप्तामा मात्रै पुतलीबजार, अर्जुनचौपारी, वालिङ, चापाकोट, गल्याङलगायतका पालिकामा आगलागी भएको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ । सामुदायिक वन तथा खरबारीमा आगलागीका घटना निरन्तर भइरहेका वन कार्यालयले जनाएको छ ।
पुतलीबजार र वालिङका विभिन्न स्थानमा लागेको आगोका कारण ५० लाख रुपियाँ बराबरको व्यक्तिगत पसल, घरगोठसहित धनमाल नष्ट भएको छ । गएको शुक्रबार र शनिबार आगलागीले अहिलेसम्मकै सबैभन्दा ठुलो क्षति पु¥याएको डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालले जानकारी दिनुभयो ।
शुक्रबार वालिङस्थित मिर्दीमा रहेको सिरक डसना उद्योगमा आगोलागी हुँदा १४ लाख ५० हजार रुपियाँ बराबरको क्षति पुगेको छ । नुवाकोट मेगन गाउँपालिका वडा नं. ६ घर भएका रमेश तामाङले सञ्चालन गरेको आलमदेवी सिरक डसना उद्योगमा आगलागी भएको हो । यस्तै पुतलीबजार–७ मा खिमबहादुर खत्रीको घरगोठमा आगलागी हुँदा पूर्ण रूपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई आगो लाग्दा ढुङ्गा, माटो र टिनले छाएको दुईतले कच्ची घर जलेर नष्ट भएको थियो । आगलागीबाट सुनका गरगहना छ तोला, नगद ७० हजार, भाडाकुँडासहित लत्ताकपडा जलेर नष्ट हुँदा २० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
यस्तै वालिङ नगरपालिका–५ स्थित टेकबहादुर खड्काको धन्सार र गोठमा आगलागी भएको छ । आगलागीबाट धन्सार र गोठ पूर्ण रूपले जलेर नष्ट भएको वडाध्यक्ष छवि आलेले जानकारी दिनुभयो । पशुचौपाया भने आगलागीबाट जोगिएको उहाँको भनाइ छ ।