अमरराज नहर्की
तनहुँ, वैशाख २५ गते । जिल्ला कारागार तनहुँमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयको काममा समस्या भएको छ । ११ जना कर्मचारीको दरबन्दी भएको जिल्ला कारागारमा अहिले एक जना जेलर, एक जना कम्प्युटर अपरेटर र चार जना कार्यालय सहयोगी मात्र रहेका कारागार प्रशासनले जनाएको छ । कार्यरत छ जनामध्ये दुई जना मात्रै स्थायी कर्मचारी छन् ।
कारागारमा राजपत्र तृतीय कार्यालय प्रमुख (कारागार प्रशासक) एक जना नायब सुब्बा, एक सहलेखापाल, खरिदार, एक अहेव (सहायक चौथौ), एक कम्प्युटर अपरेटर तथा चार जना कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ । हाल कार्यालय प्रमुख र कम्प्युटर अपरेटर गरी दुई जना मात्रै स्थायी कर्मचारी रहेका तनहुँ कारागारका जेलर टेकप्रसाद भट्टराईले जानकारी दिनुभयो । कम्प्युटर अपरेटरले पनि अधिकृतमा नाम निकालिसकेको दुई दिनपछि खाली हुने अवस्थामा पुगेको भट्टराईले बताउनुभयो ।
चार जना कार्यालय सहयोगी करारमा राखिएको उहाँले बताउनुभयो । दुई जना मात्रै स्थायी कर्मचारी भएकाले कहिलेकाहीँ बिरामी पर्दा, विवाह, व्रतबन्ध जस्ता सामाजिक तथा घरायसी काममा समेत बिदा लिन मिल्ने अवस्था नरहेको भट्टराई बताउनुभयो । अदालतको फैसला कुर्ने समयमा कहिलेकाहीँ साँझ ७ बजेसम्म काम गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
भट्टराईले भन्नुभयो, “कर्मचारीको अभावले कारागार व्यवस्थापनमा सास्ती भएको छ, दरबन्दी पूरा गर्न पटक पटक माग राखिए पनि पूरा भएको छैन ।” कर्मचारी अभावले धेरै काम गर्नुपर्दा मानसिक तनाव हुने गरेको भट्टराईले बताउनुभयो । तनहुँ कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी छन् । कारागारमा ३०१ कैदीबन्दी छन् । दैनिक रूपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागारका प्रमुख टेकप्रसाद भट्टराईले बताउनुभयो ।
हाल १७७ कैदी र १२३ थुनुवा र एक जना आश्रित बालिका गरी ३०१ जना कारागारमा रहेको भट्टराईले बताउनुभयो । कारागारमा महिलातर्फ २० र पुरुषतर्फ ११४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गर्नु परेको छ । महिला कारागारमा २५ महिला र एक जना आश्रित बालिका गरी २६ जना छन् । कारागारमा कर्तव्य ज्यानका ४४, ज्यान मार्ने उद्योगका नौ, सवारी ज्यानका १४, चोरीका २४, बहुविवाहका एक, लागुऔषधका ७८ जना छन् । डाँका चोरी मुद्दाका नौ, ठगीका दुई, मानव बेचबिखनका पाँच, जबरजस्ती करणीका ९२, जबरजस्ती करणी उद्योगका तीन, अपहरणका तीन, भ्रष्टाचारका दुई, हातहतियार खरखजानाका एक र अन्य नखुलेका १३ कैदीबन्दी छन् ।