• २५ वैशाख २०८२, बिहिबार

क्यामराको निगरानीमा पहिरो

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख २५ गते । बुटवलका लागि बर्सौंदेखि अभिशाप बन्दै आएको ज्योतिनगर र मिलनपथको पहिरो नियन्त्रणका लागि क्यामराबाट निगरानी सुरु गरेको छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका सहायक प्राध्यापक डा. म्याक्समिलन भान डे भ्रिज र अनुसन्धानकर्ता हाजार्ड सेन्सिङसहित बुटवल आएको टोलीले पहिरो क्षेत्रको स्थलगत निरीक्षण गरी क्यामरा जडान गरेर त्यसको निगरानी गरेको हो । 

बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालले बेलायतबाट आएको विज्ञसहितको टोलीले सो क्षेत्रमा पाँच वटा क्यामरा जडान गरी पहिरोको हलचल पत्ता लगाउने कामको सुरुवात गरेको बताउनुभयो ।    

उहाँले क्यामराबाट पहिरोको हलचल पत्ता लगाउने, पहिरो जाने अवस्था जमिनमुनिभित्रबाट हो कि बाहिर हो भन्ने पत्ता लगाउने तथा पहिरो जाने अवस्थामा पूर्वसूचना दिने गरी क्यामरा जडान गरी अनुसन्धान भइरहेको बताउनुभयो । वडाध्यक्ष ढकालले बुटवल उपमहानगरले हरेक १५ दिनमा क्यामराले खिचेको पहिरो जोखिम क्षेत्रको अवस्था चिप्समार्फत बेलायत पठाउने बताउनुभयो । पहिरोले गर्ने हलचल पत्ता लगाउन क्यामरा सहयोगी हुने विश्वास लिएको छ । 

क्यामराले भित्रभित्रैबाट ठुलो पहिरो जाने अवस्था पत्ता लगाउने भएकाले पूर्वसूचना दिएर यसले ठुलो जनधनको क्षति हुनबाट बचाउन सहयोग पु¥याउने विश्वास स्थानीयले गरेका छन् । 

२०५५ भदौ २० गते बुटवलको ज्योतिनगर र मिलनपथ क्षेत्रमा पहिलो पटक पहिरो गएको थियो । विगत २६ वर्षको बिचमा स्थानीयले धेरै पटक पहिरोकै कारण विस्थापनको पीडा भोग्दै आएका छन् । पहिरो प्रभावित बुटवल उपमहानगर वडा नं. ३ र ४ मा पर्ने मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा पहिरो नियन्त्रणको काम यो वर्ष पनि सुरु भएको छ ।

बुटवल उपमहानगरले सङ्घीय सरकारको करिब तीन करोड रुपियाँ बजेटमा चेक ड्याम, रिटर्निङ वाल, ग्याबिन जाली, बक्स कलभर्ट निर्माण गरी तीन महिनाअघिदेखि पहिरो नियन्त्रणको काम सुरु गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ३५० घरधुरी पहिरोबाट प्रभावित हुने जोखिम रहेकोले पहिरो रोक्न नगरपालिकाले काम थालेको बताउनुभयो ।