• २८ वैशाख २०८२, आइतबार

दोबा गाउँका चार सय घरधुरीमा खानेपानी सुविधा पुग्यो

blog

दोबामा एक घर एक धारा योजना मार्फत जडान गरिएको धारा । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख २५ गते । शुद्ध खानेपानी सुविधाबाट वञ्चित अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा खानेपानी सुविधा पुगेको छ । गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपियाँ लागतमा एक घर एक धारा सहितको खानेपानी योजना निर्माण भएको हो । घरघरमा खानेपानीको धारा जडान गरी पानी आउन थालेपछि स्थानीयहरू खुसी भएका छन् । 

खानेपानी जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५÷०७६ देखि सुरु गरेको खानेपानी आयोजना चालु आर्थिक वर्षमा सम्पन्न भएको कार्यालयका प्रमुख झलकमोहन ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार दोबामा खानेपानी सुविधा पुर्याउन 

चार वटा स्किममा योजना निर्माण गरिएको थियो । योजनामा प्रदेश सरकारबाट वार्षिक रूपमा  न्यून बजेट विनियोजन गरिएकाले सम्पन्न गर्न समय लागेको उहाँको भनाई थियो । 

चालु आर्थिक वर्षमा विनियोजन भएको २० लाख बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा चार करोड ६७ लाख ९६ हजार खर्च भएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा योजना निर्माण गर्न सात वर्ष लागेको उहाँले बताउनुभयो ।  

गरेकखोला, चिसे पानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ ट्याङ्की सङ्कलन गरेर पाइपलाइन मार्फत घरघरमा लगेर वितरण गरिएको दोवा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाले बताउनुभयो । 

मुहान, ट्याङ्की र मुख्य पाइप लाइनको भौतिक संरचना निर्माणमा सघाएको कार्यालयले मुख्य पाइपलाई निर्माण गरेको हो । शाखा पाइपलाइन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन् । 

योजनालाई व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्यूनतम शुल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पुर्जाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–१ का वडा अध्यक्ष दिलीप गर्बुजाका अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो । आयोजना निर्माण भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका उहाँले बताउनुभयो । घरघरमा खानेपानी सुविधा पुगेका पछि दोबाका स्थानीयहरू खुसी भएका छन् । 

गाउँपालिकावासीलाई शुद्ध खानेपानी सुविधाको पहुँचमा ल्याउन स्थानीय सरकार,प्रदेश र विभिन्न संस्थाहरू मार्फत पालिकामा योजनाहरू सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।