• २६ वैशाख २०८२, शुक्रबार

बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

blog

काभ्रेपलाञ्चोक, वैशाख २५ गते । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेष गरी नेवार समुदायले हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिँगारिन्छ । बनेपामा आउँदो सोमबारदेखि चण्डेश्वरी जात्रा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने जात्रामा यहाँका सर्वसाधारणमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । हालका दिनमा जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । 

जात्राको विधि अनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमानढोकाबाट ल्याइने तरबार (खड्ग) सँगै जात्रामा सरकारको तर्फबाटसमेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घर घरमा भोज गरिन्छ । बुढापाकाले टोल टोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भिड हुन्छ ।  ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’ को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय श्याम मानन्धर बताउनुहुन्छ । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । जात्रा अन्तर्गत पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । 

बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्‍याउने प्रचलन छ । यसक्रममा रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्याल झ्यालबाट उनीहरूलाई साहस थपिदिने काम पनि हुन्छ । यस्तै हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिरनजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।

दोस्रो दिन बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिएको ठाउँमा रथ पुर्‍याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको छ । जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकु दरबारसम्म पुर्‍याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः बकुटोलमै ल्याइन्छ । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्छ । धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ । 

जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिग्ङ्ग देवतालाई १२ वटा बोका बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलङ्दान’ गरिँदै आइन्छ । कलङ्दान जात्रामा मासुलाई प्रसादस्वरूप भिडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो ।

किंवदन्ती अनुसार करिब दुई हजार पाँच सय वर्षअगाडि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि देवता भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगेको बताइन्छ । स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताको भागाभाग भई ज्यान जोगाउन पङ्कषीको रूप धारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर सकिनन् । त्यसपछि उनी भगवतीका रूपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसियालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।