भैरहवा समाचारदाता
भैरहवा, वैशाख २५ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै उद्योगी व्यवसायीले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् । लामो समयदेखि विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गरिरहेका उद्योगी व्यवसायीले माग सुनुवाइ नभएपछि विरोध सभासहित बुधबार धर्ना दिएका हुन् ।
उद्योग व्यापार सङ्गठन, रुपन्देही (चेम्बर अफ कमर्स) को अगुवाइमा बुधबार बिहान १० देखि ११ बजेसम्म विमानस्थलको मुख्य प्रवेशद्वार छेकेर धर्ना र प्रदर्शन गरिएको हो । धर्नामा दर्जनौँ सङ्घ संस्था ब्यानरसहित सहभागी थिए । सहभागीले विमानस्थल सञ्चालनको माग लेखिएका प्लेकार्डसमेत बोकेर धर्ना दिएका थिए ।
प्रदर्शनमा सहभागीले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन यसअघि गरिएका वाचा पूरा गर्न सरकारसँग माग गरेका छन् । उद्योग व्यापार सङ्गठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थल सञ्चालनका लागि मुलुकका सबै राजनीतिक दलका प्रमुख, पूर्व र वर्तमान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि दबाबपूर्ण आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।
“यसअघि ज्ञापनपत्र, छलफलमार्फत विमानस्थल सञ्चालनका लागि दबाब सिर्जना गर्दै आयौँ तर सरकारले सुनेन,” उहाँले भन्नुभयो, “बाध्य भएर धर्नामा उत्रिएका हौँ ।” उहाँले सरकारले अझै नियमित उडानको वातावरण नबनाए थप आन्दोलन गर्ने बताउनुभयो । दबाबमूलक धर्ना कार्यक्रमको बेवास्ता नगर्न उद्योगी व्यवसायीको चेतावनी छ ।
अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार छेकेर उनीहरूले ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भिसा र मेडिकल सेन्टर तत्काल खोल्न माग गरेका थिए । “आवश्यक कार्यालय नै नखोले कसरी विमानस्थल चल्छ ?” सरकारसँग प्रश्न गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “निजी क्षेत्र आत्महत्या गर्ने अवस्थामा पुग्दासमेत सरकारले केही सुनेन ।”
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले विमानस्थल के कारणले ठप्प भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताउनुभयो । “यो चर्को घाममा सडकमा दबाब कार्यक्रम गर्ने हाम्रो पनि रहर होइन,” उहाँले भन्नुभयो, “तर सरकारले हाम्रो माग सुनेन, व्यवसायी ऋणमा डुबेको देखेन, त्यसैले बाध्य भएर सङ्घर्षका कार्यक्रम गर्नु परेको हो ।” उहाँले निजी क्षेत्रले लगातार विमानस्थल नियमित सञ्चालनको माग गरे पनि सरकारले नसुनेको दुःखेसो गर्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले पटक पटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरे पनि पूरा गर्न नसकेकोमा चिन्ता गर्नुभयो । “ज्ञापनपत्र र छलफल कार्यक्रमले दबाब पुग्नै छाडेपछि निजी क्षेत्र सडकमा उत्रिन बाध्य भएको हो,” उहाँले भन्नुभयो, “अब पनि सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिन तयार छौँ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ सञ्जाल रुपन्देही अध्यक्ष अनिलकुमार ज्ञवाली, उद्योग व्यापार सङ्गठनका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारी, सङ्गठनकी महासचिव लक्ष्मी अधिकारी, लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष अजयकुमार गुप्ता, सिद्धार्थनगर–४ का अध्यक्ष मुक्तिनाथ यादव, मोबाइल व्यवसायी सङ्घका अध्यक्ष बैजनाथ गुप्तालगायतले बोल्दै निजी क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुग्दासमेत विमानस्थल सञ्चालनमा सरकारले बेवास्ता गरिरहेको बताउनुभयो । अर्बौं लगानी जोखिममा पर्दा राज्यले नदेखे झैँ गर्नु विडम्बना रहेको उनीहरूको भनाइ छ ।
रुपन्देहीका उद्योगी व्यवसायीले एक वर्षअघि पनि दबाबपूर्ण कार्यक्रम सञ्चालन गरेका थिए । सिद्धार्थ होटेल सङ्घ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सिपी) का अनुसार त्यसबेला १५ दिन विमानस्थलबाहिर धर्ना दिइएको थियो । त्यतिले मात्र दबाब नपुगेपछि व्यावसायीको प्रतिनिधिमण्डलले काठमाडौँसम्म पुगेर विभागीय मन्त्रीलाई दबाब दिएका थिए ।