काठमाडौँ, वैशाख २४ गते । हाउन्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउन्ड्सले टाइम्स बास्केटबल क्लबलाई ८५–८१ ले हरायो ।
निकै प्रतिस्पर्धात्मक खेलमा हाउन्ड्स र टाइम्सले दुई/दुई क्वाटरमा अग्रता लिएको थियो । तर बाजी हाउन्ड्सले मार्यो । टाइम्सले पहिलो क्वाटरमा २२–१९ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा हाउन्ड्स पुनरागमन गर्यो ।
दोस्रो क्वाटर २६–२० ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ४५–४२ को अग्रता बनायो । तेस्रो क्वाटर पनि हाउन्ड्सले २८–१६ आफ्नो पक्षमा पार्दा ७३–५८ को अग्रता बनायो ।
१५ अङ्कले पछि परेको अवस्थामा पनि टाइम्सले चौथो क्वाटरपमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन प्रयास गरेको थियो । चौथो क्वाटर टाइम्सले २३–१२ ले आफ्नो पक्षमा पारेपछि हार टार्न सकेन ।
टाइम्सका लागि कप्तान सदिशे प्रधानले सर्वाधिक २९ अङ्क जोडे पनि जिताउन सक्नुभएन । यस्तै विजयी टिम हाउन्ड्सका लागि सुजल खड्काले २१ अङ्क बनाउनुभयो । हाउन्ड्सका विजय बुर्जा लगातार दोस्रो खेलमा मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो । हाउन्ड्सले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो ।
टाइम्सको भने यो पहिलो हार हो । पहिलो खेलमा टाइम्सले गोल्डेनगेट बास्केटबल क्लबलाई पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा गोल्डेनगेट बास्केटबल क्लबले रोएल्सलाई ७९–७२ अङ्कले पराजित गरेको छ । गोल्डेनगेटको यो पहिलो जित हो भने रोएल्सको लगातार दोस्रो हार हो ।
गोल्डेगेटको जितमा निकेश मगरले सर्वाधिक २७ अङ्क बनाउनुभयो । उहाँ मोस्ट भ्यालुएबल प्लेअर घोषित हुनुभयो । रोएल्सका प्रसन ध्वज मास्केले २५ अङ्क बनाउनुभयो । ६ टोली सहभागी लिग डबल राउन्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको छ ।