• २५ वैशाख २०८२, बिहिबार

बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

blog

दुर्घटनास्थलमा पुगेका स्थानीय र प्रहरी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २४ गते । बाँकेमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प. ६४२८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको बा ०१–०६ ख. ३५९३ नम्बरको बसले बुधबार ठक्कर दिदाँ राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी अन्दाजी ३३ वर्षका सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको छ ।

उहाँले सोही दुर्घटनामा परेर मोटरसाइकलमा सवार ढकेरीकै अन्दाजी ३५ वर्षका हिरासिंह ओली गम्भीर घाइते भएको बताउनुभयो । घाइते ओलीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याएर उहाँको त्यहाँ उपचार भइरहेको पनि इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

प्रहरीले ठक्कर दिने बस र बसका चालक शिव परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।