रानी समाचारदाता
रानी (विराटनगर), वैशाख २४ गते । कोशी प्रदेश सरकारले यस वर्षको गणतन्त्र दिवसलाई विशेष बनाउने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिवसलाई केवल औपचारिकता नभई उत्सवका रूपमा मनाउन निर्देशन दिनुभएको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मङ्गलबार बसेको तयारी बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “गणतन्त्र दिवस सबै नागरिकले अपनत्व महसुस गर्ने गरी भव्य रूपमा मनाइनु पर्छ । यो केवल एक दिनको कार्यक्रम मात्र होइन, गणतन्त्रको मर्म र मूल्य बुझाउने अवसर पनि हो ।”
बैठकले जेठ १४, १५ र १६ गते गरी तीन दिनसम्म गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको छ । कार्यक्रमको माध्यमबाट गणतन्त्रपछि प्राप्त भएका उपलब्धिहरू जनसमक्ष ल्याइने र नागरिकमा लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास अझ बलियो बनाउने उद्देश्य लिइएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलका अनुसार मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र सफलतामाथि आधारित अन्तर्वि्रmया र अन्य कार्यक्रम आयोजना गर्न पनि निर्देशन दिनुभएको छ । दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समितिसमेत गठन गरिएको छ । जसले तीन दिनका कार्यक्रमलाई प्रभावकारी र आकर्षक बनाउन योजना तयार पार्ने छ ।