काठमाडौँ, वैशाख २४ गते । हलमा नेपाली चलचित्रको प्रदर्शन र दर्शक नआउनुको पीडा फेरि दयनीय बन्दै छ । हलमा दर्शक न्यून देखिन थालेपछि चलचित्रकर्मी चलचित्र प्रदर्शन गर्न डराउन थालेका छन् । झन् झोला फेम निर्देशक यादवकुमार भट्टराई निर्देशित चलचित्र ‘झिल्को’ केही नाम चलेका हलबाट उत्रिएपछि निर्माता/निर्देशक तथा वितरक चलचित्र प्रदर्शन गर्नेमा अन्योलमा देखिन्छन् ।
यति हुँदासम्म पनि चलचित्र भिडाउने क्रम अझै रोकिएको छैन । आउँदो शुक्रबारबाट दुई नयाँ चलचित्र भिड्ने तयारीमा छन् । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ र विपिन कार्की र मिरुना मगर अभिनीत चलचित्र ‘उनको स्वेटर’ प्रदर्शनको तयारीमा छ । यी दुवै चलचित्रको स्थिति कस्तो हुने हो ? दर्शकले कत्तिको पत्याउँछन् ? त्यो केही दिनमै थाहा हुने छ ।
निर्देशक तथा निर्माता दीपेन्द्र के खनाल भन्नुहुन्छ, “अहिले नेपाली चलचित्रको अवस्था एकदमै दयनीय छ । हलमा दर्शक किन आइरहेका छैनन् कसैले बुझ्न सकेका छैनन् ।” उहाँ निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं. २’ जेठ २ गते प्रदर्शन हुँदै छ । उहाँ आफैँ चलचित्र कसरी प्रदर्शन गर्ने होला भन्ने दुबिधामा देखिनुहुन्छ । उहाँका अनुसार “धेरै भइसक्यो हलमा खडेरी जस्तो देखिएको छ । दर्शकले हेर्न खोजेको जस्तो चलचित्र हामीले दिन नसकेको हो अथवा हाम्रो कमजोरीले हो त्यो अलि डरलाग्दो पक्ष नै हो ।” आफ्नो चलचित्रले दर्शकलाई पुनः एक पटक चलचित्र हलसम्म डोर्याउँछ भन्ने कुरामा आफू आशावादी भएको उहाँले बताउनुभयो तर दर्शकलाई पहिला हलसम्म कसरी ल्याउने भन्ने अहिलेको ठुलो चुनौती भएको उहाँको भनाइ थियो ।
चलचित्र ‘झिल्को’ का कलाकार विशाल पोखरेलले हलबाट चलचित्र उत्रे पनि मोबाइल फोबियाबारे दिन खोजेको सन्देश दर्शकसम्म पुग्यो त्यो नै ठुलो उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार सेयर र जग्गाको कारोबार तलमाथि भएको जस्तै चलचित्र ‘झिल्को’ को अवस्था पनि त्यही भएको हो ।” उहाँ भन्नुहुन्छ, “अहिलेको समय भनेको ठ्याक्कै मोबाइल फोनतिर आकर्षण नभएको र वैशाखमा नै १८ वटा सङ्घ संस्थाको विरोध कार्यक्रमले गर्दा पनि चलचित्र हेर्न हलमा जानु पर्छ भन्ने सोच नै दर्शकमा नभएको हुन सक्छ । हामी निरुत्साहित छैनौँ । “चलचित्र अहिले पनि केही हलमा प्रदर्शन भइरहेको छ । अझै पनि चलचित्र चल्छ भन्ने कुरामा आशावादी छु,” उहाँले भन्नुभयो ।
चलचित्र ‘उनको स्वेटर’ का निर्देशक नवीन चौहानको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार “चलचित्रको प्रचारप्रसार गरे अनुरूप हलसम्म दर्शक आउनेमा आशावादी छु । हामीले आ/आफ्नो ठाउँबाट मेहनत गर्दै काम गरेका छौँ । यो दुई वटा चलचित्रले दर्शकलाई हलसम्म तान्ला कि भन्ने अपेक्षा छ ।” ‘आइदिनुहोस्, हाम्रो चलचित्र हेर्दिनुहोस्’ भन्ने भन्दा पनि एकदमै सिर्जनात्मक हिसाबले दर्शकलाई आकर्षित गर्न कन्सर्न पनि गर्यौँ । दर्शकलाई अपिल गर्ने हो । अरू त भगवान् भरोसा भन्नु पर्छ, उहाँले भन्नुभयो ।
अझ पनि निर्माता तथा निर्देशक चलचित्र निर्माणमा गम्भीर हुन नसक्दा नेपालका चलचित्रको अवस्था माथि उठ्नुको साटो तल झर्दै गएको छ । बाहिर हल्ला गरे जस्तो चलचित्रले करोड कमायो भन्नुभन्दा पनि चलचित्र निर्माणमा गम्भीर भइदिने हो भने दर्शक अवश्य हलमा देखिन्थे होला । एक त मेहनत कम गर्ने, अर्को चलचित्रसँग भिडाउने र विषयवस्तुमा ध्यानसमेत नदिएर चलचित्र प्रदर्शन गर्दा दर्शक अन्ततः भड्किएका हुन् कि ?