• २३ वैशाख २०८२, मङ्गलबार

सेनाले तयार गरेको उद्यान गाउँपालिकालाई हस्तान्तरण

blog

कार्यक्रममा सहभागी मध्यपश्चिम पृतनाका पृतनापति प्रेमबहादुर पुन, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीलगायत । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, वैशाख २३ गते ।
पाल्पाको माथागढीमा नेपाली सेनाले तयार गरेको उद्यान गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाले माथागढी परिसरमा तयार गरेको उद्यान मङ्गलबार माथागढी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । मध्यपश्चित पृतनापति उपरथी प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीलाई निर्माण सम्पन्न भएको संरचनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

नेपाली सेनाले सीघ्र प्रभावी योजनाअन्तर्गत माथागढी गाउँपालिकाको वडा नं. ५ स्थित माथागढी परिसरमा ढुङ्गा बिछ्याउने र सौन्दर्यीकरण गर्ने काम गरेको हो । नेपाल–अङ्ग्रेज युद्ध तथा नेपाल एकीकरणका बेलामा प्रयोग भएका ऐतिहासिक स्थलको प्रचार एवम् संरक्षण गर्ने उद्देश्यका साथ माथागढी परिसरमा ढुङ्गा बिछ्याउने र सौन्दर्यीकरणको काम गरिएको नेपाली सेनाका उपरथी पुनले जानकारी दिनुभयो ।

ऐतिहासिक र पर्यटकीय स्थलको रूपमा विकास गर्न सेनाले यस्ता संरचना तयार गरेको उहाँले बताउनुभयो । तानसेनस्थित दि फेमस महिन्द्र दल गणको संयोजनमा पार्क तयार भएको गणका प्रमुख सेनानी भुपेन्द्र गुरुङले बताउनुभयो । 

कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष चिदीले स्थानीय तह, सेना, प्रदेश र सङ्घीय सरकारले यस्ता संरचनाको विकास र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ऐतिहासिक स्थलको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी दिन सकिने उहाँले बताउनुभयो । यस्तै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले सेनाले विपद्का बेलामा मात्र होइन, ऐतिहासिक स्थलको जगेर्ना र विकासमा ध्यान दिएको उल्लेख गर्नुभयो ।