• २३ वैशाख २०८२, मङ्गलबार

जानकीको जन्मदिनमा बिदा दिनुपर्छः आजपाका अध्यक्ष साह

blog

आम जनता पार्टीका अध्यक्ष प्रभु शाह मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २३ गते । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै अध्यक्ष शाहले जानकी जयन्तीको अवसरमा बिदा नदिइएको भन्दै आपत्ति जनाउनुभएको हो ।

राम नवमीमा बिदा दिइने भए पनि जानकी जयन्तीको उपेक्षा हुनु सरकारको लैङ्गिक विभेदपूर्ण दृष्टिकोण भएको उहाँको आरोप छ । उहाँले प्रधानमन्त्रीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘माता जानकीको बारेमा सरकारलाई थाहा छ कि छैन ? राम नवमीमा सरकारले बिदा पनि दिन्छ । जानकी जयन्तीलाई किन बेवास्ता गरेको भन्ने प्रश्न पनि गर्न चाहन्छु । के अहिलेको एक्काइसौं शताब्दीमा लैङ्गिक विभेद गर्न मिल्छ ? एउटा राष्ट्रिय विभूति सीता जुन नेपालको गौरव हुन् । उहाँको सम्मानलाई बेवास्ता गर्न मिल्छ । प्रधानमन्त्रीज्युले आफ्नो जन्मदिन त पुरै धुमधामका साथ मनाउनुहुन्छ सीताको जन्मदिन कसरी बिर्सिनुभयो ?’’

उहाँले जानकी जयन्तीलाई राष्ट्रिय महत्त्वको दिनको रूपमा स्थापित गरी सार्वजनिक बिदाको घोषणा गर्न माग गर्नुभयो ।