नवीनराज कुइँकेल
लमजुङ, वैशाख २३ गते । लमजुङ र गोरखा जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज भएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने सो मोटरेवल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाका नागरिकलाई यातायात आवतजावतमा सहज भएको हो ।
पुल निर्माणका लागि २०७८ साल असार ९ गते काष्ठमण्डव कन्ट्रक्सन प्रालिले पुर्वाधार विकास कार्यालय लमजुङसँग सम्झौता गरेको थियो । कुल चार करोड ३७ लाखको लागतमा ४० मिटर लम्बाइको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख विवेक सिग्देलले जानकारी दिनुभयो ।
२०८१ साल जेठमा पुल निर्माण भएसँगै स्थानीयहरूलाई आवतजावतसँगै दैनिक उपभोग्य सामान ढुवानीमा समेत सहज भएको छ । कृषि उत्पादनलाई बजारसम्म ढुवानी गर्नपनि सहज हुने भन्दै स्थानीयहरू खुसी भएका छन् । दैनिक उपभोग्य सामान ढुवानीका लागि पनि स्थानीयहरूलाई पुलले सहज बनाइदिएको छ ।
स्थानीय गोविन्द न्यौपानेले पुल निर्माणले दुवै जिल्लालाई विकासले जोडेको बताउनुभयो । “लमजुङको दुधपोखरी र गोरखाको अजिरकोट दुर्गम र विकट क्षेत्र नै हो, यी दुई पालिकालाई पल निर्माणले विकाससँग जोडेको छ”, न्यौपानेले भन्नुभयो, “सडकसँगै विद्युत् लगाएतका पुर्वाधार पनि सँगै लैजान प्रदेश सरकारले सहयोग गर्नुपर्छ ।”
मोटरेबल पुलसँगै अब यस क्षेत्रको सडकको उचित स्तरोन्नती गर्न प्रदेश सरकारले आगामी बजेटमा योजना समेट्ने समेट्नुपर्ने स्थानीयले माग राखेका छन्।