• २३ वैशाख २०८२, मङ्गलबार

जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्धको खोप अभाव

blog

सदरमुकाम खलङ्गामा रहेको जिल्ला अस्पताल दार्चुला । तस्बिर : कृष्णबहादुर धामी

कृष्णबहादुर धामी 

दार्चुला, वैशाख २३ गते । जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्धको (एआरभी) खोप अभाव हुँदा बिरामी मर्कामा परेका छन् । कुकुर, बिरालो, मुसा लगायतका जनावरले टोकेलगत्तै लगाइने रेबिज रोगविरुद्धको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो । 

सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी रित्तो हात घर फर्कन बाध्य भएका छन् । खोपको अभाव भएपछि सोमबार (हिजो) दुई जना र आज एक जना बिरामी फर्किएको उहाँले बताउनुभयो । 

जिल्ला अस्पताल दार्चुलाले सोमबार एक सूचना जारी गरी रेबिज रोगविरुद्ध लगाइने खोपको अभाव भएको जनाएको छ । अस्पतालले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलालीबाट प्राप्त नभएको तथा अर्को व्यवस्था नभएसम्मका लागि सेवाग्राहीलाई (एआरभी) खोप उपलब्ध गराउन नसकिने जनाएको छ । बिरामीले अन्यत्रबाट खरिद गरेर ल्याएमा खोप लगाइदिने जनाएको छ । 

जिल्ला अस्पताल दार्चुलाबाट यो महिनामा ३६ जना सेवाग्राहीले रेबिज रोगविरुद्धको खोप लिइरहेकोमा अहिले अभाव हुँदा उहाँहरू समस्या परेका छन् । किनेरै लगाउन समेत उक्त खोप दार्चुलामा उपलब्ध छैन । भारतको धारचुलाबाट किनेर ल्याउँदा महङ्गो ५०० देखि ७०० रुपियाँ मूल्य पर्ने गरेको सूचना अधिकारी भट्टले बताउनुभयो । यता खोप अभाव भएको बारे सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढी, कैलालीका कोल्डचेन असिस्टेन्ट ट्विङ्कल कुँवरका अनुसार खोप आपुर्ति हुन अझै दुई हप्ता लाग्न सक्छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट आपुर्ति कम भएका कारण प्रदेश आपुर्ति केन्द्रमा समेत खोप अभाव रहेको उहाँले बताउनुभयो । “माग गरे अनुसारको खोप विभागबाट आपुर्ति नहुँदा बेला–बेला खोपको अभाव हुन्छ, कोल्डचेन असिस्टेन्ट कुँवरले भन्नुभयो ।” 

जिल्ला अस्पताल दार्चुलाबाट गत चैत महिनामा १५ जना महिला र ३३ जना पुरुष गरी ४८ जनाले रेबिज रोगविरुद्धको खोप लगाएका छन् । यो खोप एक जनाले तिन डोज लगाउनु पर्ने जिल्ला अस्पतालका प्रमुख डाक्टर संजीव श्रेष्ठले बताउनुभयो ।