• २३ वैशाख २०८२, मङ्गलबार

महिलालाई स्वरोजगार बनाउन सिप विकास तालिम प्रदान

blog

तालिमका सहभागीलाई राजापुरमा प्रमाणपत्र वितरण गर्दै । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, वैशाख २३ गते । बर्दिया जिल्लाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ५० जना महिलालाई आर्थिक रूपमा सक्षम बनाउन ३९० घण्टाको विभिन्न सिप विकास तालिम प्रदान गरिएको छ।

ठाकुरबाबाका २५ र राजापुरका २५ गरेर ५० जना महिलाहरूको आयआर्जनका लागि उहाँहरूलाई लोकल कुखुरा पालन, बिषादीरहित तरकारी खेती र बाँसको हस्तकलाको सामग्री बनाउने ६५ दिनको तालिम प्रदान गरिएको दुवै पालिकाले जनाएका छन् । 

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले पालिकाका २५ जना महिलालाई लोकल कुखुरा पालन र बिषादीरहित तरकारी खेती गर्ने तालिम प्रदान गरिएको जनाउँदै सो तालिमबाट उहाँहरूको जीवनमा ठुलो परिवर्तन आउने आशा गरिएको बताउनुभयो । सोही प्रकारले राजापुर नगरपालिकाकी उपप्रमुख मनकलाकुमारी चौधरीले पनि आफ्नो पालिकाका २५ जना वेरोजगार महिलालाई स्वरोजगार बनाउन बाँसको हस्तकलाको सामाग्री बनाउने र बिषादीरहित तरकारी खेती गर्ने तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले सो तालिमबाट महिलाहरू निकै उत्साहित देखिएकोले यसबाट उनिहरूको आर्थिक अवस्थामा सुधार हुने देखिएको बताउनुभयो । 

तालिममा सहभागी हुनुभएका ठाकुरबाबाका अनिता थारूले बिषादीरहित तरकारी खेती उत्पादन गर्ने तालिम लिएपछि निकै उत्साह उत्पन्न भएको जनाउँदै आफूले तरकारी खेती गर्ने बताउनुभयो । 

यस्तै, अर्का सहभागी राजापुरका रामकुमारी चौधरीले यो तालिमले व्यवसाय गर्न हौसला र सिप दुवै दिएको जनाउँदै अब केही गरेर देखाउने आँट बढेको बताउनुभयो । दुवै पालिकाको तालिमको समापनका अवसरमा सहभागी जनप्रतिनिधि, स्थानीय र तालिमका सहभागीले सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए । 

बाँके युनेस्को क्बलले प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत दुवै पालिकामा सिप विकास तालिम सञ्चालन गरिएको थियो । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेको सिप र ज्ञानलाई सदुपयोग गर्न युवाहरूलाई प्रोत्साहित गरिएको थियो । तालिमका प्रशिक्षकहरूमा ओमप्रकाश थारू, विकास थारू, सीता चौधरी र सरिता चौधरी रहनुभएको थियो ।

तालिमको मुख्य उदेश्य जोखिममा परेका युवतीहरूको सशक्तीकरण गर्ने र हरित व्यापार र लघु उद्यमहरूमार्फत रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग र बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट वातावरण संरक्षण गर्ने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।