बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख २३ गते । झापाको एक सामुदायिक विद्यालयले दमक नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेको छ । दमक ८ स्थित सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गगन पुरीको नेतृत्वमा गएको विद्यालयका शिक्षक तथा अभिभावकहरूको समुहले दमक नगरपालिकामा मङ्गलबार विहान तालबन्दी गरेको हो ।
विद्यालयको नाममा रहेको जग्गा मिचेर विभिन्न संरचना बनेको र एउटा नीजि विद्यालयले समेत वर्षौंदेखि संरचना बनाएर विद्यालय चलाउँदै आएकाले हटाउन माग गरिएको अध्यक्ष पुरीले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले बारम्बार रूपमा हटाउने भन्दै नहटाउँदा बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो ।
नगरपालिकामा बारम्बार रूपमा ध्यानकर्षण गराउँदा पनि गडमदर नामको नीजि विद्यालय हटाउन अटेर भएकाले तालबन्दी गरिएको उहाँको भनाइ छ । दुई साताअघि पनि हामीले नगरपालिकाको ध्यानकर्षण गराएका हौं तर विद्यालय हट्न छाटकाट नदेखाएपछि दबाबका लागि नगरपालिकामा तालबन्दी गर्नुपरेको पुरीले जनाउनुभयो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार उक्त नीजि विद्यालय हटाउनका लागि बारम्बार प्रयास गरिँदै आएको छ । आफूहरूले विद्यालयलाई पत्र पठाएर हटाउन निर्देशन दिइसकेको थापाले बताउनुभयो । "हामी चुप लागेर बसेका छैनौं र हटाउछौं भनिरहेका छौं", थापाले भन्नुभयो ।
नगरपालिकाले उक्त विद्यालयमा आफ्ना विद्यार्थी भर्ना नगर्न भनेर सूचना पनि जारी गरेको थियो । आफुलाई केही समय दिन गडमदरले माग गरेको र अन्यत्र संरचना बनाइरहेकाले हटन अटेर गरेको जनाइएको छ ।