लिलाधर वली
घोराही, वैशाख २३ गते । दाङमा सवारी दुर्घटना वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म भएका दुई सय ५७ सवारी दुर्घटनामा ६७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५१ जना पुरुष, ११ जना महिला र पाँच जना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ प्रमुख एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गत आर्थिक वर्ष २०८०-०८१ को चैतसम्म जिल्लामा एक सय ५८ वटा सवारी दुर्घटनामा ७६ जनाको मृत्यु भएको थियो ।
उहाँका अनुसार गतबर्षको तुलनामा यो वर्षको चैतसम्म ९९ वटा सवारी दुर्घटनाका सङ्ख्या वृद्धि भएका छन् । कमजोर सडक, चालकको लापरवाहीसँगै दुर्घटना भएपछि प्रहरीलाई जानकारी गराउने क्रम बढ्दा जिल्लामा पछिल्लो समय सवारी दुर्घटनाको संख्यामा वृद्धि भएको प्रहरी निरीक्षक शाही बताउनुुहुन्छ ।
विगतमा ठुला दुर्घटनाहरु भएमा मात्र प्रहरीलाई जानकारी गराउने अवस्था रहेको भन्दै प्रहरी निरीक्षक शाहीले भन्नुभयो, ‘अहिले दुर्घटना भएपछि तत्काल प्रहरीलाई सम्पर्क गर्ने क्रम बढेको छ, जसले गर्दा विगतका वर्षहरुको तुलनामा सवारी दुर्घटनाको संख्या बढेको देखिएको छ ।’ त्यससँगै निर्माणाधिन अवस्थामा रहेका कमजोर सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, तीब्र गतिमा कुदाउँदा पनि जिल्लामा सवारी दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले बढी दुर्घटना हुने क्षेत्रहरुमा टाइमकार्ड लागु भएसँगै केही घटेको समेत बताउनुभएको छ ।
दुर्घटना दुईपाङ्ग्रे सवारीसाधन बढी
जिल्लामा सवारी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन बढी देखिएका छन् । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा भएका सवारी दुर्घटनाको तथ्याङ्कलाई हेर्दा दुई पाङ्ग्रे सवारीसाधन बढी दुर्घटना हुने गरेका छन् ।
जिल्लामा साउनदेखि चैतसम्म भएका दुई सय ५७ वटा दुर्घटनामा मोटरसाइकल तथा स्कुटरको संख्या दुई सय २४ रहेको छ । त्यसैगरी जिप-कार ३८ वटा, अटो २२ वटा, बस तथा माइक्रो २१ टा, ट्याक्टर १८ वटा, ट्रक तथा ट्यांकर १२ वटा र टिप्पर १० वटा दुर्घटनामा पर्दा ६३ करोड ८३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले जिल्लामा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने आठ सय ४७ जना चालकलाई कारवाही गरेको जनाएको छ ।