• २३ वैशाख २०८२, मङ्गलबार

तीन हजार छ सय रोपनीमा फैलियो चैते धान

blog

स्वर्गद्वारी नगरपालिका–४ स्थित फाँटमा लगाएको चैते धान । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, वैशाख २३ गते ।
आर्थिक वर्ष ०७७/०७८ सम्म जिल्लामा दुई सय रोपनी क्षेत्रफलमा चैत धान खेती हुने गर्दथ्यो । किसानहरूले विभिन्न फाँटहरूमा छिटफुट रूपमा चैते धान लगाउने गर्दथे । सिँचाइको राम्रो व्यवस्था भएका ठाउँका किसानले पनि दुई बाली धान खेती गर्न रुचाउँदैन थे । जसले गर्दा चैते धान खेतीको राम्रो सम्भावना भए  पनि उत्पादन र क्षेत्र विस्तार हुन सकेको थिएन ।

तर जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्थापना भएपछि चैते धान खेतीको प्रवर्धन भएको छ । ०७७/०७८ मा दुई सय रोपनीमा हुने चैते धान अहिलेसम्म आइपुग्दा तीन हजार छ सय रोपनी क्षेत्रफलमा खेती विस्तार भएको छ । ऐरावती गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र प्युठान नगरपालिकामा चैते धान खेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानका प्रमुख चुमान सिंह गिरीले बताउनुभयो ।

०७७/०७८ मा दुई सय रोपनी, ०७८/०७९ मा एक हजार ४५, ०७९/०८० मा एक हजार ६५०, ०८०/०८१ मा दुई हजार ५९५ र ०८१/०८२ मा तीन हजार छ सय रोपनी क्षेत्रफलमा खेती विस्तार भएको कार्यालय प्रमुख गिरीले बताउनुभयो । चैते धानको क्षेत्रफल विस्तारले गर्दा चैते धानको उत्पादकत्व र उत्पादन समेत बढेको छ ।

चैते धानमा काम गरिरहेको परियोजनाले जिल्लामा चैते धान खेती गर्न किसानहरू प्रेरित हुँदै गएको र दुई खेती धान उत्पादन गर्नसक्ने अवस्था सृजना भएको जनाएको छ । वर्षे धानको तुलनामा चैते धानको उत्पादन समेत बढी हुने भएपछि किसानहरू चैते धान खेती गर्न उत्साहित भएका हुन् ।

जिल्लामा छ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । 

“वर्षेनी चैते धान खेती गर्ने क्षेत्रफल विस्तार भइरहेको छ,” प्रमुख गिरीले भन्नुभयो, “किसानहरूलाई उत्प्रेरित गर्दै चैते धानको प्रवर्धन गरिरहेका छौं ।” चैते धानका लागि चैते ५, हर्दिनाथ १ र  हर्दिनाथ ३  जातको बिउ प्रयोग गरिएको छ  । चैते धान खेती प्रवर्धनका लागि सिँचाइ कुलो, मेसिन औजार, बिउ, औषधी उपलब्ध गराउने गरिएको छ ।