• २३ वैशाख २०८२, मङ्गलबार

कोहलपुरमा ७५ जना सिकलसेल थालसेमियाका बिरामी फेला

blog

साबित्री गिरी
कोहलपुर, वैशाख २३ गते ।
बाँकेको कोहलपुर नगरपालिकामा सेवा प्रवाहदेखि हालसम्म ७५ जना सिकलसेल थालसेमियाका बिरामी फेला परेका छन् । विक्रम संवत् २०७७ साल चैत २९ गतेबाट कोहलपुर नगरपालिकाले छुट्टै युनिट स्थापना गरी सेवा प्रारम्भ गरेको थियो । जसमा ७० जना सिकलसेल र पाँच जना थालसेमियाका बिरामी फेला परेका हुन । आर्थिक वर्ष २०८१/८२ को हालससम्म एक सय ३६ जनाको परीक्षण गरीएको छ ।

जसमा सिकलसेल बाहक १० जना, सिकलसेल रोगी चार जना र थालेसिमिया एक जनामा रोग पहिचान भएको थियो । सिकलसेल बाहकले बाहकसँग मात्रै विवाह गर्दा उपयुक्त हुने कोहलपुर नगरपालिकाका सिकलसेल फोकल पर्सन शिव गौतमले बताउनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ३, ४, ५, ६, ७ र १५ वडामा थारू समुदायको धेरै बाहुल्यता रहेको छ ।

थारू समुदायका व्यक्तिहरूमा यो रोग लाग्ने भएकाले समुदाय स्तरमै पुगेर अभिमुखीकरण कार्यक्रमहरू नियमित गर्दे आएको पनि फोकल पर्सन गौतमले बताउनुभयो । यो रोग लाग्न नदिन बिहे गर्नु पूर्व रोग परीक्षण गर्नुपर्ने उहाँको सुझाव रहेको छ । यो रोग नियन्त्रण गर्नका लागि सिकलसेल नगर कमिटी पनि गठन गरिएको छ । 

कोहलपुर नगरपालिकाले परीक्षण गरेर रोग पत्ता लागिसकेपछि थप उचार गर्नुपर्ने अवस्थामा भेरी अस्पताल नेपालगन्जमा रिफर गर्ने गरिएको नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँले कोहलपुरमा सिकलसेल थालेसिमियाको परीक्षण युनिट राख्दा रोगको पहिचानमा सहयोग पुगेको र आगामी दिनमा पनि यो कार्यक्रमले निरन्तरता पाउने बताउनुभएको छ ।