काठमाडौँ, वैशाख २३ गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशम चौधरीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गर्नुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै अध्यक्ष श्रेष्ठले यस्तो माग गर्नुभएको हो ।
लोकतन्त्रको मर्म प्रश्न, प्रतिवाद र न्यायको पक्षमा बोल्नु रहेको बताउँदै एक निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिनु आपत्तिजनक भएको उहाँको भनाइ छ । यही वैशाख १७ गते सर्वोच्च अदालतको कर्मचारीले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरी करिब पाँच घण्टा डिल्लीबजार कारागारमा राखेको थियो ।
उक्त पत्र लेख्ने कर्मचारी विष्टलाई प्रहरीले पक्राउ गरी हाल अनुसन्धान गरिरहेको छ । श्रेष्ठले चौधरीको गिरफ्तारी सङ्घीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमाथि चोट भएको टिप्पणी गर्दै सरकारले घटनाको गहिरो अध्ययन गर्न र सार्वजनिक रूपमा जवाफ दिन आग्रह गर्नुभयो ।
‘‘हामी सरकारमै छौं तर लोकतन्त्रको मुल लक्ष्य भनेको सत्यको पक्षमा उभिनु हो । प्रश्न गर्नु, प्रतिवाद गर्नु र न्यायको पक्षमा बोल्नु नै लोकतन्त्रको मर्म । आज म सभामुखमार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु–कसरी एक निर्वाचित जनप्रतिनिधि, जननेता कार्यक्रमस्थलबाटै यस्तो तवरले पक्राउ पर्छन् । कसरी व्यक्तिगत रिसिबीलाई कानूनभन्दा माथि राख्छन् ।,’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘यो घटनाको गहिरो अध्ययन होस् । किनभने यहाँ केबल एक जनाको गिरफ्तारी होइन । सङ्घीयता, समावेशिता र लोकतन्त्रमाथिको विश्वासमा चोट लागेको छ । वैशाख १७ गते भएको प्रशासनिक मनोमानिको निष्पक्ष छानविन होस् । रेशम चौधरीज्युप्रति भएको व्यवहारको सार्वजनिक जवाफ देओस् ।’’ नागरिक उन्मुक्ति पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित सहभागी छ ।