तिलाचन पाण्डे
तम्घास, वैशाख २२ गते । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक पन्ध्र शय्याको अस्पताल औपचारीक रूपमा सञ्चालनमा ल्याएको छ। सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले एक कार्यक्रमका बिच अस्पतालको उद्घाटन गर्नुभएको हो ।
अस्पतालको उद्घाटन गर्दै मन्त्री कार्कीले सहज र सरल रूपमा नागरिकले सेवा पाउनुपर्नेमा जोड दिनुभयो । केही महिना पहिले गाउँपालिकाले एमबिबी एस डाक्टरको व्यवस्था गरी अस्पताल सञ्चालनका गर्न लुम्बिनी प्रदेश सरकार समक्ष आवश्यक उपकरणसमेत माग गरेको थियो ।
लुम्बिनी प्रदेश सरकारबाट बेड, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, अक्सिजन सिलिन्डर, कन्सन्टेटरलगायतका स्वास्थ्य उपकरण प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि सम्पूर्ण कार्य सम्पन्न भएकाले फागुन १ गतेबाट नियमित सेवा प्रवाह गरेको थियो ।
अस्पतालबाट दैनिक रूपमा एमविवि एस डाक्टरद्वारा चेकजाँच तथा उपचार, सहुलियत दरमा प्रयोगशाला सेवा ,२४ सै घण्टा निःशुल्क प्रसुती सेवालगायतका सेवाहरू प्रवाह हुँदै आएको अर्यालले बताउनुभयो । गाउँपालिकाको आन्तरिक व्यवस्थापनबाट आधारभुत अस्पताल सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरूमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा पहिलो पटक गुल्मीदरबारको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो । कुल १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपियाँको लागतमा अस्पताल अर्जुन बिल्डर्स तम्घास गुल्मीले निर्माण गरेको हो । यसका साथै चन्द्रकोट गाउँपालिकाको पनि अस्पताल निर्माणको कार्य सम्पन्न गरेकोे छ भने सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीले ७४ लाख भुक्तानी लिन बाँकी
समयमै अस्पताल निर्माण गरेर हस्तान्तरण गर्दा पनि ७४ लाख ४६ हजार ९५ रुपियाँ भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीले बताएका छन् । निर्माण व्यवसायी लक्ष्मी खनालले लामो समयसम्म भुक्तानी नपाउनु दुःखद भएको बताउनुभएको छ । उहाँका अनुसार समयमै काम सम्पन्न गरी हस्तान्तरणगर्नेलाई हौसला दिनुपर्नेमा थप पीडा दिएको गुनासो गर्नुभयो ।
यस्तै, छत्रकोट गाउँपालिकाको १५ शय्याको अस्पताल तत्कालिन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास गर्नुभयो । वडा नं ४ श्रृङ्गामा अस्पतालको शिलान्यास गरेको झण्डै चार वर्ष पुग्न लाग्दा समेत अस्पताल बन्नेमा अन्योल स्थिती छ ।
शिलान्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले शिलान्यास गरिएको जग्गाको करिब तीन सय मिटर पर लामो कसरत पश्चात जग्गाको व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्व मन्त्री तथा सङ्घीय सांसद गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गर्नुभयो । उक्त शिलान्यास गरिएको अस्पताल शिलान्यासमै मात्र सीमित भएको छ ।
शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुेको र अस्पताल निर्माण कार्य हुन नसक्ने भएकाले नजिकै जग्गाको व्यवस्थापन गरी बोलपत्र भएको उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिनुभयो । विद्युतीय बोलपत्रमा नौ जनाको बोलपत्र परेकाले मुल्याङ्कनको प्रक्रियामा रहेको उहाँको भनाइ छ ।
धुर्कोटमा निर्माण सुरु
धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको वेस (घडेरी मा)पहिरो आएका कारण निर्माणको कार्य अगाडि बढ्न सकेको थिएन ।
गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलका अनुसार लामो समयको कसरत पश्चात मन्त्रालयबाट डिपिआर र नक्सा परिवतर्न गरी आएकाले अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । पूर्वमन्त्री समेत रहनुभएका गोकर्णराज विष्टले शिलान्यास गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ । यसका साथै अन्य स्थानीय तहमा पनि अस्पताल निर्माणको कार्य कछुवाको गतिमा रहेको छ ।