सन्तोष दहित
दाङ, वैशाख २२ गते । थारू समुदायको हस्तकला अहिले सङ्कटमा परेको छ । कुनै बेला हस्तकलाको धनि समुदायको रूपमा चिनिएका थारू समुदाय अहिले भने हस्तकला सङ्कटमा परेको हो ।
युवा पुस्तामा परम्परागत हस्तकलामा चासो नदिनु र कच्चा पदार्थको अभावले पनि थारू समुदायको हस्तकला सङ्कटमा परेको थारू अगुवाहरू बताउँछन् । पहिला पहिला समय सापेक्ष अनुसार हस्तकलाहरू बनाउने गर्ने गरिन्थ्यो, तर अचेल भने त्यो छैन ।
‘ढकिया, भौका, खटौली, खटिया, पटकी गोन्द्री, ढच्या गोन्द्री, खोङ्ग्या, डेल्या, हेल्का, हरझौंकी, सिकहर, ब्याना, बेर्रा, बेर्री लगायत थारू जातिको मुख्य हस्तकला हुन्, तर, अचेल यी सबै हराउन थालेका छन् । थारू अगुवा रामप्रसाद चौधरीले भन्नुभयो, "हाम्रो समुदायको आफ्नै मौलिक र पहिचान झल्किने हस्तकाल छन्, तर अहिले सङ्कटमा परेको छ ।"
युवा पुस्तामा चासो नहुने र कच्चमा पदार्थको अभावले पनि थारू हस्तकला सङ्कटमा परेको उहाँले बताउनुभयो । ‘थारू समुदायमा महिला र पुरुषले बनाउने फरक फरक हस्तकला छन्", उहाँले भन्नुभयो, "महिलाले ढकिया भोका, पटकी खोन्द्री, बेर्रा, ब्याना लगायत बनाउनुहुन्छ भने, पुरुषले ढच्या गोन्द्री, खटौली, खटिया, खोङ्या, डेल्या, हेल्का, हरझौंकी, सिकहर, बेर्री बनाउने गर्दछन् ।"
उहाँले यी हस्तकलालाई व्यावसायिक बनाउन सकेमा सयौं थारू युवा युवतिहरू रोजगारी पाउने बताउनुभयो । थारू हस्तकलाले थारू जातिको पहिचान झलकाउनेसँगै थारू समुदायका सयौं युवाहरू स्वरोजगार बन्न सक्छन्, उहाँले भन्नुभयो, यसको लागि राज्यले ठोस योजना ल्याउन जरुरी छ ।
थारू हस्तकलालाई व्यापकरूपमा प्रचार प्रसार र यसको बजारीकरण गर्न सक्ने हो भने बजारमा यसको मार्केट राम्रो लिन्छ, उहाँले भन्नुभयो, कुन हस्तकला केमा प्रयोग गरिन्छ, यसको महत्त्व र विशेषतालाई बुझाउन जरुरी छ । अहिले ढकियाको राम्रो बजार लिइरहेको उहाँले बताउनुभयो । जिल्लामा आउने आन्तरिक होस या बाह्य पर्यटक या विभिन्न कार्यक्रममा अहिले थारू समुदायका पहिचान भन्दै मायाको चिनोको रूपमा ढकिया दिने चलनमा आएको छ, जुन आफैमा राम्रो र सह्रानिय काम छ, उहाँले भन्नुभयो, ढकिया जस्तै अन्य हस्तकलालाई पनि प्रवर्धन गर्न जरुरी छ ।
उहाँका अनुसार अहिले एउटा ढकिया न्यूनतम तीन हजार पाँच सयदेखि दस हजारसम्म बिक्री भइरहेको छ । ढकिया थारू समुदायको हस्तकला मध्य ब्रान्डको रूपमा पनि चिनिन्छ । ‘विभिन्न कार्यक्रम, पूजापाठका लागि ढकिया चोखो मानिन्छ, उहाँले भन्नुभयो, हेर्दा सुन्दर र आकर्षक अनि बहुउपयोगी हुने भएकोले पनि ढकिया सबैको रोजाइमा परेको हो ।’ ढकिया जस्तै अन्य थारू हस्तकला पनि अति महत्त्वपूर्ण र बहुउपयोगी भएको उहाँकाे भनाइ छ ।