अनिता साउद
कक्षाः ९, रानीदेवी मावि
रानीबारी, काठमाडौँ
हामी शिक्षा आर्जनका लागि विद्यालय जाने गर्छौं । विद्यालयमा प्राप्त गर्ने शिक्षाले हामीलाई समाजमा कस्तो व्यवहार गर्नु पर्छ भनेर सिकाइरहेको हुन्छ । शिक्षाले नै हामीहरूको बोलीचाली र आनिबानीमा सुधार ल्याउन सक्छ । विद्यालयमा शिक्षकले हामीलाई जिउने कला सिकाउनुहुन्छ । शिक्षा दिनुहुन्छ । उहाँले सभ्य र संस्कारयुक्त नागरिक बनाउन हामीलाई सहयोग गरिरहनुभएको छ । उहाँले समस्यासँग कसरी जुध्ने भन्ने बारेमा पनि सिकाउने गर्नुभएको छ । तसर्थ विद्यालयमा हामीले अक्षर सिक्ने मात्र काम गरिरहेका छैनौँ, साथमा जीवनयात्राका क्रममा आइपर्ने समस्यालाई सुल्झाउने तरिकाका बारेमा पनि सिक्ने गरेका छौँ ।
मेरो जीवनयात्रा जारी छ । मेरा लक्ष्य अधुरा छन् । उच्च शिक्षासँगै ती लक्ष्य पूरा हुँदै जाने छन् । लक्ष्यलाई पूरा गर्ने दायित्व मेरो नै हो । म कक्षा ९ की विद्यार्थी हुँ । अझै मैले थुप्रै सङ्घर्ष र भोगाइ देख्नै बाँकी छ । हो, जीवनमा मानिसले कठिनाइ भोग्नु पर्छ । कठिन यात्रा पार गर्नु पर्छ । जीवन कठिन भएन भनेर जिउन पनि मजा आउँदैन । सङ्घर्ष गर्दा निकै मजा आउँछ । सङ्घर्षले मानिसलाई जिम्मेवार र क्षमतावान् बनाउँछ । त्यसैले कहिल्यै पनि सङ्घर्ष, दुःख र समस्याबाट भाग्नु हुँदैन । यस्ता कुरा आइरहन्छन् । तिनीहरूबाट कसरी पार पाउन सकिन्छ भन्ने कला शिक्षकबाट सिक्नु पर्छ । उहाँहरू सधैँ हामीलाई सिकाउन तम्तयार हुनुहुन्छ ।
आरनमा फलाम कुटेपछि मात्र असली खुकुरी बन्छ । हामी फलाम हौँ । खुकुरी बन्न बाँकी छ । जति जति उच्च शिक्षातर्फ उक्लिँदै गर्छौं त्यति त्यति खुकुरीको आकार बन्दै जान्छ । त्यसैले शिक्षाबेगर हामी कुनै पनि हालतमा चम्किलो खुकुरी बन्न सक्दैनौँ । शिक्षकले हामीलाई त्यो दिशातर्फ डो¥याइरहनुभएको छ । काठ बलेर खरानी बन्छ तर त्यसको आगोले उज्यालो र न्यायो प्रदान गर्छ । त्यस्तै विद्यार्थीको उन्नतिको स्वार्थ मात्र राख्नु हुने हाम्रा शिक्षकले हामीलाई उज्यालो र न्यायो प्रदान गर्दै आउनुभएको छ । उहाँहरूको मेहनतलाई पूरा गर्न हामीले पनि मेहनत गर्नु पर्छ । अर्थात् हामीले निकै मेहनत र लगनका साथ पढ्नु पर्छ । हामी खानीका ढुङ्गा हौँ, हिरा बनेर देखाउन सक्यौँ भने बल्ल शिक्षक खुसी हुनुहुन्छ । उहाँहरूको खुसी नै हाम्रो सफलता हो ।