जाजरकोट समाचारदाता
जाजरकोट, वैशाख २२ गते । जाजरकोटको भेरी नगरपालिकाले चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागेको छ । भेरी नगरपालिका तथा स्वयंसेवक र विश्वव्यापीकरणका लागि अन्तर्राष्ट्रिय समाजबिच चिनियाँ भाषा कक्षा सञ्चालनका लागि सम्झौता गरिएको छ ।
सो कार्यक्रम सञ्चालनको समझदारीपत्रमा हस्ताक्षर भएको छ । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले चिनियाँ भाषा सिक्ने अवसर भेरी नगरपालिका र जिल्लावासी सम्पूर्णका लागि एक ऐतिहासिक उपलब्धि हुने बताउनुभयो । विशेष गरी युवा तथा रोजगारी खोजीमा रहेका व्यक्तिले यसको उपयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा स्वयंसेवक र विश्वव्यापीकरणका लागि अन्तर्राष्ट्रिय समाज प्रतिनिधिले भाषा सिकाइमार्फत अन्तर्राष्ट्रिय अवसरमा पहुँच बनाउने मार्ग खुल्ने विश्वास व्यक्त गरेका छन् ।
चाँडै नै कक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिने र इच्छुक नगरवासीलाई आवेदन प्रक्रियासम्बन्धी जानकारी प्रदान गरिने नगरपालिकाले जनाएको छ ।