• २२ वैशाख २०८२, सोमबार

कतै तुइनको भर, कतै आकासे पुल

blog

दुल्ली प्राथमिक विद्यालय पुग्नका लागि बनाइएको आकासे पुल । तस्बिर : नन्द सिंह

रलिङ समाचारदाता 

हुम्ला, वैशाख २२ गते । हुम्लाका कुनै ठाउँका विद्यार्थीले एउटा सामान्य झोलुङ्गे पुलसमेत नभएर विद्यालय जान प्रभावित भएका बेला सर्केगाड गाउँपालिका–४ स्थित दुल्ली गाउँनजिक आकासे पुल बनाएर नेपाल सरकारको बजेट दुरुपयोग भएको छ ।

सर्केगाड गाउँपालिकाले वडा नं. ४ लाई छुट्याएको बजेटमार्फत उक्त आकासे पुल बनाएको पाइएको हो । आकासे पुल लगाएको स्थानमा खासै पुलको आवश्यकता नपर्ने तस्बिरले प्रस्ट पारेको छ । स्थानीय सरकारले सरकारी बजेटको दुरुपयोग गरेको आरोप स्थानीय लगाउँछन् । 

हुम्ला हालसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन तर पनि खार्पुनाथ गाउँपालिकासम्म अस्थायी रुट परमिटबिनै सवारीसाधन सञ्चालन भएका छन् । ती सवारीसाधनमा जोखिम मोलेर स्थानीय यात्रा गर्न बाध्य छन् । सलिसल्लादेखि खार्पुखोलासम्म अधिकांश खोलामा पक्की पुल लगाउनुपर्ने आवश्यकता छ । कर्णाली नदी वारिपारि भने धेरै पक्की पुल बनाउनुपर्ने छ । 

पक्की पुल त के सामान्य झोलुङ्गे र काठे पुलसमेत नहुँदा यहाँका नागरिक सजिलै नदी वारपार गर्नबाट वञ्चित छन् । एक ठाउँबाट अर्को ठाउँ जानसमेत पाँच/छ घण्टा लगाएर सम्बन्धित स्थानमा पुग्नुपर्ने बाध्यता छ । पुल नहुँदा विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुँदै गएको छ । 

कुनै गाउँका विद्यार्थी जोखिमपूर्ण काठे पुल र तुइनका भरमा आफ्नो ज्यान जोखिममा राख्दै विद्यालय जानुपर्ने बाध्यता छ । त्यसैले हुम्ला हालसम्म दुर्गम जिल्लाका रूपमा परिचित छ । भर्खरै सर्केगाडमा निर्माण गरिएको आकासे पुलका कारण अन्य सुविधासम्पन्न जिल्ला जस्तै हुम्ला पनि सुगम भनेर चिनिएको छ । करिब २५ मिटरको उक्त आकासे पुल दुई लाख रुपियाँमा निर्माण भएको छ । सर्केगाड गाउँपालिका–४ का वडाध्यक्ष धनबहादुर छत्यालले गत आर्थिक वर्ष २०८०/८१ को बजेटले पुल निर्माण गरिएको बताउनुभयो ।

उहाँले मुख्य सडकदेखि दुल्ली प्राथमिक विद्यालयसम्म पुग्नका लागि विद्यार्थीलाई असहज भएको भन्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पटक पटक आकासे पुलको माग गरेपछि सो पुलको निर्माण गरिएको बताउनुभयो । स्थानीयले मुख्य सडक र विद्यालय बिच भागमा पर्ने जग्गामा बाटो दिन नमानेका कारण सो पुलको अवधारणा ल्याएको अध्यक्ष छत्यालको भनाइ छ ।