बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), वैशाख २२ गते । नेपाल विद्युत् प्राधिकरण, महेन्द्रनगर वितरण केन्द्रले थप एक सय किलोमिटर क्षेत्रमा ‘कभर कन्डक्टर’ लाइन विस्तार गर्ने भएको छ । जिल्लाका पाँच पालिका हेर्दै आएको सो वितरण केन्द्रले तीन पालिकामा झन्डै एक सय किलोमिटर क्षेत्रफलमा कभरसहितको तार विस्तार गरिने जनाएको हो ।
नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कार्यालय प्रमुख चुट्नकुमार श्रीवास्तवले विगतमा नाङ्गो तारबाट विद्युत् प्रभाव भइरहेकोमा अब भने कभरसहितको तार विस्तारको कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । वैशाख अन्तिम सातादेखि तीन पालिकामा ९८ किलोमिटर क्षेत्रफलमा कभरसहितको तार विस्तारको कार्य अगाडि बढाइने कार्यालय प्रमुख श्रीवास्तवले बताउनुभयो ।
दोधाराचाँदनी नगरपालिकामा कभर कन्डक्टर विस्तार गर्नका लागि एसआर निर्माण सेवालाई सात लाख ८९ हजार रुपियाँमा छ महिनामा काम गर्ने गरी ठेक्का सम्झौता गरिएको छ । जहाँ २० किलोमिटर क्षेत्रमा कभरसहितको तार विस्तार गरिने कार्यालय प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।
दोधाराचाँदनी नगरपालिकामा यसअघि ६५ पोलमा कभरसहितको तार विस्तार गरिएको थियो । महेन्द्रनगर बजार क्षेत्रमा भने एडिबीमार्फत यसअघि कभरसहितको तार विस्तार गरिसकिएको छ । यसै गरी बेदकोट नगरपालिका–८ मा नयाँ ट्रान्सफर्मरसहित ८.५ किलोमिटरमा कभरसहितको तार विस्तार गरिने जनाइएको छ । यस्तै कृष्णपुर नगरपालिकाको वडा नम्बर ५, ८ र गुलरिया बजार क्षेत्रमा कभर कन्डक्टर जडान गरिने भएको हो ।