गुरुआमाः (सबै विद्यार्थीको ध्यान आकृष्ट गराउनुहुन्छ) सबै विद्यार्थी अब मलाई ध्यान दिनुहोस्, (हातको कागजतिर हेर्नुहुन्छ) मेरो हातमा एउटा सूचना आइपुगेको छ । यसमा लेखिएबमोजिम यही महिनाको अन्तिमतिर हाम्रो विद्यालयको १० औँ वार्षिकोत्सव हुँदै छ । त्यसैका लागि पर्सिबाट एक हप्ता अतिरिक्त कार्यकलाप सप्ताह हुने भएको छ । यसमा विभिन्न शीर्षकमा प्रतियोगिता हुने छ । म यसको सूची सेतो पाटीमा लेखिदिने छु । (गुरूआमा सेतो पाटीमा केही लेख्नुहुन्छ । विद्यार्थीले आआफ्नो कापीमा सार्दछन्) सबैले सार्यौ त ?
विद्यार्थी : (एकै स्वरमा) सार्यौँ, म्याम ।
गुरुआमा : ल, म अब यस कक्षाबाट प्रतियोगितामा भाग लिने विद्यार्थीको नाम लेख्छु, है ?
गुरुआमा एउटा कापीमा विद्यार्थीको नाम टिप्नुहुन्छ ।
गुरुआमा : श्याम, तिमी हस्तलेखनमा राम्रो छौ, त्यसमा तिमी भाग लिन्छौँ नि ?
श्याम : (टाउको हल्लाउँछन्) हुन्छ, म्याम ।
गुरुआमा : (गुरुआमा उर्मिला भएतिर जानुहुन्छ) उर्मिला, तिमी नाचमा कुशल छ्यौ, त्यसमा तिम्रो नाम लेख्छु, है ?
उर्मिला : (खुसी हुँदै) हुन्छ, म्याम । गुरुआमा अरू विद्यार्थीका सामु पुग्दै नाम लेख्नुहुन्छ । दर्शकले उनीहरूको संवाद सुन्दैनन् । प्राविधिकले कक्षाको कुनातिर बसेका गोपालमाथि उज्यालो पारिदिन्छन् । गुरुआमाले राम्रा ठानिएका विद्यार्थीलाई मात्र महत्व दिएर नाम टिपेको देख्दा गोपालले अँध्यारो अनुहार लगाएको प्रस्ट देखिन्छ । नेपथ्यबाट एक्कासि मुटुको धड्कन बढेको आवाज स्पष्ट सुनिन्छ । अन्य पात्र मूर्ति जस्तै बसेका हुन्छन् ।
गोपाल : (मुख रातो हुन्छ । चिटचिट पसिना आएर अनुहार पुछ्दछन्) म पनि दौडमा भाग लिन्छु...म्यामलाई भनौँ,....मेरो नाम पनि लेखिदिनू...(उनी उठ्न खोजे झैँ गर्दछन् र पुनः बस्छन्) ह्या ! म पनि सक्दछु नि । म छिटो दौड्न सक्छु भनेर अस्ति श्यामले पनि भनेको थियो...(मन दह्रो बनाउँछन्) होइन, म साँच्चिकै दौड्न सक्छु । म्यामले मलाई किन ध्यान नदिनु भएको होला ?
नेपथ्यबाट घन्टी बजेको आवाज सुनिन्छ । विद्यार्थी सबै उठेर कक्षाकोठा बाहिर जान्छन् । गोपाल एक्लै कक्षाकोठामा बसिरहन्छन् । उनी कक्षामा एक्लै बसिरहेको रमा म्यामले देख्नुहुन्छ ।
रमा म्याम : (गोपालको नजिक जानुहुन्छ) गोपाल, तिमी एक्लै के गरिरहेको ? खाजा खान जानु पर्दैन ? सबै साथी गइसके । तिमी चाहिँ...
रमा गुरुआमाको आवाजले गोपाल झसङ्ङ हुन्छन् । उनी अक्क न बक्क हुन्छन् । केही बोल्न खोज्छन् तर बोल्न सक्दैनन् । तिमीलाई भोक लागेको छैन ? किन मुख निन्याउरो देख्छु ? गोपाल चुपचाप बसिरहन्छन् । गुरुआमा गोपालको निधार छाम्नुहुन्छ । टाउको दुखेको छ ? कि ज्वरो आएको छ ?
गोपाल : होइन, म्याम ।
रमा म्याम : (मायालु भावका साथ) भन त...(रमा गुरुआमाले गोपालको टाउको मुसारिदिनुहुन्छ) भन त, निर्धक्कसाथ भन । (मुस्कुराउँदै) म तिम्री आमा जस्तै त हुँ नि, होइन त ?
गोपाल : (अलि भक्भकाउँछन्) म्याम, हाम्रो विद्यालयमा अतिरिक्त कार्यक्रम हुने रे ।
रमा म्याम : हो नि । अनि के भो त ?
गोपाल : म ....म ...पनि
रमा म्याम : (गुरुआमा गोपाललाई प्रोत्साहन दिनुहुन्छ) भन न, त्यसमा तिम्ले पनि भाग लियौ ?
गोपाल : (अलि सानो स्वरमा) छैन ।
रमा म्याम : अनि, लिन चाहन्छौ ?
गोपाल टाउको हल्लाउँछन् ।
रमा म्याम : अघि नाम लेखाउनु पर्दैन त ?
गोपाल : तर म्याम, मैले सकिन भने लाज हुन्छ ।
रमा म्याम : (गुरुआमा गोपाललाई सम्झाउनुहुन्छ) गोपाल, तिमीले पहिले साथीहरूसँग होइन, आफूभित्रको हीनताबोधलाई जित्नुपर्ने छ । आफ्नो मनलाई दह्रो बनाउनुपर्ने छ । अनि मात्र । हेर, प्रतियोगितामा त एकको जित र अर्कोको हार निश्चित हुन्छ तर वास्तविक योद्धा उनै हुन्, जसले आफूभित्रको हीनताबोधलाई जित्छन् । पहिले तिमीले आफैँलाई विश्वास गर्नु पर्दछ । प्रतियोगितामा भाग लिन्छु भनेर मानसिक रूपमा तयार हुनु पहिलो र महìवपूर्ण जित हो ।
गोपाल : (अन्कनाउँदै) म्याम, यो हीनताबोध भनेको ?
रमा म्याम : तिमीभित्र मैले गर्न सक्छु कि सक्दिनँ ? मैले हारे भने लाज हुन्छ आदि इत्यादि भावना हीनताबोधकै प्रतिफल हुन् । यसलाई जित्न तिम्ले आत्मविश्वास जागृत गराउनुपर्ने छ ।
गोपाल : (अलि फुर्तिलो हुँदै) म्याम, आत्मविश्वास जागृत गराउन के गर्नु पर्दछ ?
रमा म्याम : (सम्झाउँदै) आँट, धीरता, लगनशीलता र निरन्तर अभ्यास । गोपालको अनुहार क्रमशः उज्यालो हुन्छ ।
गोपाल : म्याम, म दौड प्रतियोगितामा भाग लिने छु । अनि अभ्यास गर्ने छु । निरन्तर अभ्यास गर्ने छु । हजुरले भन्नुभए झैँ सबैभन्दा पहिले म आफैँले आफूलाई नै विश्वास गर्ने छु ।
रमा म्याम : (खुसी हुँदै) ल, हिँड, पहिला नाम लेखाउनु पर्यो नि । गोपाल रमा म्यामका साथमा जान्छन् । मञ्चमा विस्तारै अन्धकार छाउँछ ।