मकवानपुर समाचारदाता
मकवानपुर, वैशाख २० गते । बागमती प्रदेश सरकारमातहतको हेटौँडा अस्पतालमा औषधी खरिदलगायत बजेट खर्चमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले अनुसन्धान थालेको छ । अख्तियारको हेटौँडा कार्यालयमा अस्पतालले शीर्षक अनुसार खर्च गर्नुपर्नेमा नगरी मनोमानी रूपले खाता सञ्चालन गरेको भन्दै अस्पताललाई कागजात उपलब्ध गराउन भनेको छ ।
यसअघि अख्तियारले अस्पतालको राय प्रतिक्रियासहित खर्चको सम्पूर्ण कागजात प्राप्त भएको १५ दिनभित्र उपलब्ध गराउन गत चैत ७ गते पत्र पठाइएकोमा अस्पतालले अझै खर्च विवरणसहितको कागजात पठाएको छैन । हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंले अख्तियारले १५ दिनभित्र खर्च विवरणसहितको कागजात पठाउन भने पनि दुई आर्थिक वर्षको भएकाले तयार गर्न समय लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अस्पतालका कागजात तयार गरिने काम भइरहेको थियो । अख्तियारको पत्र सार्वजनिक भयो, अब छिट्टै पठाउने तयारीमा छौँ ।
अख्तियारले हेटौँडा अस्पतालले शीर्षक अनुसार खर्च गर्न‘पर्नेमा सो नगरी मनोमानी रूपले खाता सञ्चालन गरी रक्सी र मासु सेवन गरी केबल पुस महिनामा मात्र आठ लाख रुपियाँ होटेल स्मारकलाई तिरेको, फर्निचर र औषधी खरिदमा अनियमितता भएको भन्दै कार्यालयको राय प्रतिव्रिmयासहित सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि पत्र उपलब्ध गराउन भनेको छ ।
आव २०७९/८० र २०८०/८१ मा विनियोजित बजेटको शीर्षक खुल्ने कागजात, होटेल स्मारकलाई भुक्तानी भएको नगद वा अनलाइनबाट भएको बिल र भरपाई, स्वास्थ्य सेवा विभागले तयार पारेको सफ्टवेयरमा बजेट प्रविष्ट गरिएको प्रमाण खुल्ने कागजातको प्रमाणित प्रतिलिपि अख्तियारले माग गरेको छ । यस्तै आव २०८०/८१ मा औषधी तथा औषधीजन्य सामग्री खरिदसम्बन्धी स्वीकृत बजेट, लागत अनुमान, स्पेसिफिकेसन, भेरिफिकेसन दाखिला प्रतिवेदन, बिल भरपाई र भुक्तानीसँग सम्बन्धित कागजात पेस गर्न भनेको छ ।